असार २४, २०८२ मंगलबार July 8, 2025

‘महिनावारी हुँदा किशोरीका लागि विद्यालयमा आराम कक्ष छैनन्’

महिनावारीको समयमा हरेक विद्यालयमा आराम कक्ष भएमा उनीहरू विद्यालयमै आराम गरेर पुनः कक्षामा सहभागी हुन पाउँछन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई महिनावारी भएका समयमा आवश्यक पर्ने आराम कक्ष नहुँदा उनीहरू समस्यामा पर्ने गरेका छन् । आराम कक्षको अभावमा उनीहरू घर जानुपर्ने बाध्यता छ ।

संघीय सरकारले हरेक विद्यालयमा आराम कक्षको परिकल्पना गरेको छ तर कार्यान्वयन भएको छैन । यहाँको टीकापुरका कतिपय विद्यालयले प्रधानाध्यापक र अध्यक्षको कोठालाई आराम कक्षका रूपमा प्रयोग गरिरहेका छन् । कतिपय विद्यालयले खाली रहेको कोठामा किशोरीलाई समस्या भए केही समय आराम गराउने गरेका छन् ।

टीकापुरस्थित खड्ग स्मृति मावि टीकापुर आफैँले किशोरीलाई समस्या भएमा आराम गर्नका सामान्य खालको आराम कक्ष बनाएको छ । यसले किशोरीहरूलाई सहज भएको कक्षा ८ मा अध्ययनरत चन्द्रीका मल्ल बताउँछिन् । ‘कक्षामा साथीहरूको पेट दुख्ने, रिगंटा लाग्ने जस्ता समस्या भइरहन्छन्, समस्या भएका साथीहरू १/२ घण्टा आराम गरेर फेरि कक्षामा बस्नुहुन्छ’, चन्द्रीकाले भनिन्, ‘आराम कक्ष व्यवस्थित नभए पनि केही समयमा लागि शान्त बस्न मिलेको छ । जसले हामीले कक्षा छोडेर घर जानु परेको छैन ।’

सरकारले किशोरीलाई महिनावारीका समयमा स्यानिटर प्याड उपलब्ध गराउने गरेको छ यसका साथै महिनावारीका समयमा आराम कक्ष भएमा विद्यालय छोड्नुपर्ने समस्याबाट किशोरीले मुक्ति पाएका छन् । कक्षा ८ कै अर्की बालिका माया सुनार आराम कक्ष नभएको भए हरेक दिन ४/५ जना किशोरीको विद्यालय छुट्ने बताउँछिन् । ‘हाम्रो विद्यालयमा महिनावारी हुने उमेरका किशोरी ४ सय बढी छौँ’, उनले भनिन् ‘कोही न कोहीलाई समस्या हुन्छ । यस्तो बेलामा सुविधा सम्पन्न, राम्रो बिस्तरा, तातो पानी र सामान्य उपचार समेत हुने खालको आराम कक्ष चाहिन्छ ।’

अर्की किशोरी प्रगति रेग्मीलाई महिनावारीमा विद्यालयमै प्याड पाउँदा सजिलो भएको, सामान्य खालको भए पनि आराम कक्ष हुँदा आराम गर्न सहज भएको, शौचालय प्याड डिस्पोट गर्ने सुविधा सहितको भएकाले पढाईका लागि सहज वातावरण मिलेको छ ।

खड्ग स्मृति मावि लगायतका केही विद्यालयले आफ्नै पहलमा आराम कक्ष बनाएका छन् तर यी आराम कक्ष सुविधा सम्पन्न छैनन् । अधिकांश विद्यालयले प्रअको कोठा, बैठक कक्षमा समस्या परेका किशोरीलाई राख्ने गरिएको छ ।

टीकापुरकै सामुदायिक विद्यालयमा अध्ययनरत अर्की किशोरी लक्ष्मी थापा विद्यालयमा सबै खाले सुविधा हुनुपर्ने बताउँछिन् । ‘आराम कक्ष भनेर सोफामा बसाउने मात्र होइन, अन्य सुविधा पनि चाहिन्छ’, उनी भन्छिन् ‘विद्यालयमा किशोरीका लागि चाहिने सबै पूर्वाधार तथा सुविधा हुनुपर्छ । यसमा विद्यालय प्रशासन र स्थानीय सरकारले लगानी गर्नुपर्छ ।’

महिनावारीको समयमा हरेक विद्यालयमा आराम कक्ष भएमा उनीहरू विद्यालयमै आराम गरेर पुनः कक्षामा सहभागी हुन पाउँछन् । महिनावारी भएका समयमा स्यानिटरी प्याड निःशुल्क दिइन्छ, महिनावारी स्वच्छताका लागि शौचालय, पानी र प्याड डिस्पोज गर्ने ठाउँको राम्रै व्यवस्था हुनुपर्ने बालिका जेनिसा तिवारीको माग छ ।

बालिका जेनिसा टाढा घर भएका बालिकाहरू साइकल चलाएर विद्यालय आउँदा समस्या हुने गरेको बताउँछिन् । ‘धेरै साथीहरू लामो दुरीमा साइकल चढेर विद्यालय आउनुहुन्छ, महिनावारीका समयमा साइकल चलाउन कठिन हुन्छ’ उनी भन्छिन्, ‘यस्तो बेला विद्यालय नियमित नहुने, कहिलेकाहीँ विद्यालय ढिलो पुग्ने, कहिले विद्यालय पोसाक अर्कै लगाएर आउने गरेका छन् । यस्तो बेला विद्यालयले बुझिदिनुपर्छ ।’

महिनावारीका समयमा विद्यालयहरूमा किशोरीहरू महिनावारी भएका बेला आराम गर्नका लागि आराम कक्ष आवश्यक हुन्छ तर प्रायजसो विद्यालयमा आराम कक्ष छैन । सबैजसो विद्यालयमा सुविधा सम्पन्न आराम कक्ष चाहिन्छ । यो बालिकाहरूको अधिकारभित्र पर्छ तर आराम कक्ष निर्माणमा ध्यान गएको देखिँदैन । टीकापुर नगरपालिका शिक्षा अधिकृत नरेश अवस्थी २०७६/७७ बाट स्यानिटरी प्याड उपलब्ध गराउने गरिएको भए सुविधासहितको आराम कक्ष भने अभाव रहेका बताउँछन् ।

‘विद्यालयले आकस्मिक समस्या समाधान गरिरहेका भए पालिकाले समाधान गर्न सकेको छैन, अनुगमनमा गएका बेला हरेक विद्यालयमा समस्या देखेका छौँ, नानीहरू कार्यालयमा आराम गरिरहेका देखेका छौँ’, उनी भन्छन् ‘शिक्षा समितिको बैठक बसेर कार्यपालिकालाई सिफारिस गर्नेछौँ । पालिकामा बजेट अभाव भएकाले समस्या भए गर्न सकिएको छैन । यसमा जनप्रतिनिधिले महत्त्व दिनुपर्छ ।’ रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार