असार २४, २०८२ मंगलबार July 8, 2025

कर्जा सहायकबाटै बिचल्लीमा सहकारी सदस्य

कर्जा सहायकका रूपमा कार्यरत शाहले विभिन्न समूहमा आबद्ध एक सयभन्दा बढी सेयर सदस्यबाट ऋण निकाली मनोमानी रूपमा चलाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घोडाघोडी (कैलाली), पुस १८ गते । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको सहकारी संस्थामा कर्जा सहायक पदमा कार्यरत मीना शाहले सदस्यहरूको नामबाट ऋण लिई लामो समयसम्म ऋण नतिरेर फरार हुनुभएको छ ।

२०६८ मा स्थापना भएको साना किसान सहकारी संस्थामा २०६९ सालदेखि बजार सहायक हुँदै कर्जा सहायकका रूपमा कार्यरत शाहले विभिन्न समूहमा आबद्ध एक सयभन्दा बढी सेयर सदस्यबाट ऋण निकाली मनोमानी रूपमा चलाएको पाइएको छ ।

प्रत्येक सदस्यबाट २५ हजारदेखि पाँच लाख रुपियाँसम्म ऋण लिएको सहकारीको रेकर्डमा देखिन्छ । सहकारीले एक लाख ५० हजारसम्म बिनाधितो र धितोबाट १० लाख रुपियाँसम्म सदस्यहरूलाई दुईदेखि तीन वर्षभित्र भुक्तानी गर्ने गरी ऋण प्रदान गर्दै आएको सहकारीका सञ्चालक बताउँछन् ।

स्थानीय विस्नादेवी बमले शाहले साह्रै दुःख देखाएपछि आफूले छिमेकी बहिनीको लालपुर्जा मागेर तीन वर्षअगाडि पाँच लाख ऋण निकालेर दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “छोरो बिरामी छ भन्नुभयो, एकै ठाउँका समूह बनाएर हामीलाई पनि सहयोग गर्नुभएको थियो । मैले काम चलाउनु त हो भनेर अर्काको लालपुर्जा मागेर ऋण निकालेँ । अहिले नखाएको विष लागेको छ ।” सुरुमा सहकारीको सदस्य बनाउन गाउँ गाउँमा समूह बनाउँदा आफन्त, गाउँका सोझासाझा महिलासँग हिमचिम बढाउनुभएकी शाहप्रति विश्वास र सहानुभूतिमा धेरै महिलाले ऋण निकालेर दिएको बताए । अहिले शाह फरार भएपछि उनीहरू चिन्तामा परेका छन् ।

२०७५/७६ सालदेखि शाहले नगरपालिकाका सुखड, कीर्तिपुर, हरिनगर, बेलकोट, गैँडाखेडा, घोडाघोडी, कौवा गाउँका सोझासाझा एक सयभन्दा बढी सदस्यको नामबाट ऋण निकालेर आफूले चलाएको सहकारीको रेकर्डबाट बुझिन आएको छ । सहकारीका निमित्त प्रबन्धक चेतराज बिनाडीले शाहले सदस्यहरूको नामबाट निकालेको रकम २०७९ सालमा ३० लाख रुपियाँ र २०८० सालमा २५ लाख रुपियाँ तिर्ने कागज गरेपछि २०८१ असारमा ८० जना सदस्यको नामबाट रकम निकालेको सूची स्वयम्ले दिएको बताउनुभयो ।

उहाँले घरजग्गा बेचेर भए पनि ऋण तिर्छु भनेर शाहले सहकारीसँग कागज गरे पनि मङ्सिर ५ गतेबाट सम्पर्कविहीन भएको बताउनुभयो । शाहले सुरुदेखि नै सहकारीमा कसैलाई नटेर्ने, मनोमानी तरिकाले कर्जा लगाउने, उठाउने गर्थिन् । निमित्त प्रबन्धक बिनाडी भन्नुहुन्छ, “उहाँले मनोमानी ढङ्गले गोप्य रूपमा कर्जा लगाउने गर्नुहुन्थ्यो, के कसरी कसलाई ऋण लगाउनुभयो भनेर कसैले सोध्न पाइँदैनथ्यो, उहाँको मनोमानीले गर्दा प्रबन्धकले समेत जागिर छोडेर अन्यत्र जानुभयो ।”

छोटो समयमा राम्रै प्रगति गरेको उक्त सहकारीको आफ्नै भवन छ । दुई हजार २६५ सेयर सदस्य छन् भने ३३३ वटा समूह गठन गरेर समूह बचत तथा ऋण लगानी गर्ने गरिएको छ । घोडाघोडी नगरपालिकाका विभिन्न वडामा समूह गठन गरेर समूह बचत तथा ऋण लगानी गर्दै आएको सहकारीको शाहकै कारण नाफाको पैसा जति जोखिम कोषमा गएको सहकारीका अध्यक्ष इन्द्रदेवी विक बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सुरुमा नियमित ब्याज, किस्ता उठ्यो, लामो समय ब्याज उठेन भने सहकारीबाट हामीहरू नै समूहमा ताकिता गर्न जान्छौँ भन्दा मीनाले जानु पर्दैन म उठाउँछु भन्ने र उठाएर पनि ल्याउने गर्थिन् । सदस्यहरूले समेत ऋण आफैँले चलाएको भन्थे ।”

२०८१ असार महिनामा ८० जना सदस्यको नामबाट रकम निकालेर आफूले चलाएको सूची शाहले जानकारी दिएपछि सहकारीले उनलाई छ महिनाका लागि निलम्बन गरेको अध्यक्ष विकले जनाउनुभयो ।

उहाँले भन्नुभयो, “मङ्सिर मसान्तसम्म निलम्बन गरिएको थियो । उहाँले घरजग्गा बेचेर ऋण तिर्छु भनेर कागजसमेत गर्नुभएको थियो, निलम्बन फुकुवा नहुँदै मङ्सिर ५ गतेबाट सम्पर्कविहीन हुनुभयो । हामीले हुलिया कटाउने निर्णय पनि ग¥यौँ तर अहिलेसम्म उहाँको अत्तोपत्तो छैन ।”

धेरै सदस्यबाट ऋण निकालेर कर्जा सहायक शाहले चलाएको सहकारीमा जानकारी भएको एक वर्ष मात्र भएको अध्यक्ष विकले बताउनुभयो । त्यसअघि शाहले सहकारीबाट लगेको ३० लाख रुपियाँ २०८१ साल फागुन मसान्तभित्र बुझाउने गरी २०७९ फागुन १९ गते कागज गरिएको छ । त्यसै गरी २५ लाख रुपियाँ २०८० पुस मसान्तभित्र बुझाउने गरी २०८० मङ्सिर १७ गते अर्को कागज गरिएको छ । उक्त रकमसमेत अहिलेसम्म सहकारीलाई बुझाइएको छैन ।

शाहले आफ्नो १२ कोठे पक्कीघर भएको ऐलानी आठ कट्ठा जमिन ५० लाखमा बर्दियाको भिनाजु पर्ने देवीराम जैशीलाई २०८० साल फागुन महिनामा बेचिसकेको कागज छ । शाहको नाममा भएको एक कट्ठा घडेरीसमेत दुई वर्षअगाडि एक जनालाई २३ लाखमा बेची लालपुर्जा बैङ्कमा छ भन्दै पास नदिएको उक्त घडेरी अरू दुई जनालाई बेची रकम लिएको बताइन्छ । एक जनाबाट पाँच लाख बैना र अर्को एक जनाबाट २० लाख लिएर जग्गा पास गरी शाह फरार भएपछि पाँच लाख बैना बुझाएका मसुरियाका पार्वती कठायतले इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएको बताउनुभयो ।

एउटै व्यक्तिले सात/आठ वर्षसम्म सदस्यको मिलोमतोमा रकम निकालेर चलाउनुमा सदस्य पनि दोषी रहेको अध्यक्ष विक बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले सदस्यहरूलाई पटक पटक सोध्दासमेत ऋण रकम आफैँले चलाएको भने, अहिले मीना सम्पर्कविहीन भएपछि बल्ल सदस्यहरू रुँदै आउन थालेका छन् । हामी कानुन अनुसार ऋण जसको नाममा छ उसैबाट असुल गर्ने गरी अगाडि बढ्ने हो ।”  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार