मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १९ पुसः स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।

मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ । यो प्रतिवेदनले स्वास्थ्य बिमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको छ । प्रतिवेदन अध्ययन गरेर यसलाई लागू गर्नेछौँ ।”

उहाँले विद्यमान स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थित हुन नसकेको र लक्षित समूहले पूर्ण रुपमा लाभ पुग्ने गरी सेवा लिन नसकेको भन्दै प्रतिवेदनले सुधार गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले प्रतिवेदन मन्त्रिपरिषद्मा पनि बुझाइने र केही समयपछि सार्वजनिक गरिने जनाउनुभयो ।

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्य बिमा सुधारका निम्ति पेस गरिएको प्रतिवेदन राम्रो कामको सुरुआत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न चरणमा विज्ञसँग छलफल गरेर तयार पारिएको प्रतिवेदन हो । स्वास्थ्य बिमासम्बन्धी रणनीति प्रतिवेदनमा आएको छ । अध्ययन गरेर यसको कार्ययोजना बनाउनेछौँ ।”

असोज ९ गते वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यको संयोजकत्वमा मन्त्री पौडेलले स्वास्थ्य बिमा सुधार गर्न नौ सदस्यीय समिति गठन गर्नुभएको थियो । प्रतिवेदनका संयोजक आचार्यले प्रतिवेदनले स्वास्थ्य बिमा देखिएका अवसर र चुनौती केलाइएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य बिमा ठूलो कार्यक्रम हो । यसको प्रभावकारी सञ्चालनका लागि प्रतिवेदनमा तत्काल तथा भविष्यमा गर्नुपर्ने सुधारका प्रयास समेटिएको छ ।” उहाँले स्वास्थ्य बीमा लागू भएका छिमेकी देश र अन्तर्राष्ट्रिय स्वास्थ्य बिमा प्रणालीका अभ्यास अध्ययन गरेर सुझावसहितको प्रतिवेदन तयार पारिएको जानकारी गराउनुभयो ।

समितिमा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा रघुराज काफ्ले, वरिष्ठ मुटु शल्यचिकित्सक प्रा डा भगवान् कोइरालासहित अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहेका छन् । त्यसैगरी स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख तथा निजी क्षेत्रका प्रतिनिधिलाई समिति सदस्य तोकिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका : अध्यक्ष लिङ्देन
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकाबाट निष्कासित दुई महिलासहित २५ आप्रवासी लाइबेरिया पुगे
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार
Prime Minister Shah Heads to India for Talks with Narendra Modi
२०८३ मंग्सिर ६, आइतबार
एसियन राइजिङ स्टार्स प्रतियोगिता : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
२०८३ मंग्सिर ६, आइतबार