असार २४, २०८२ मंगलबार July 8, 2025

लामिछानेका तर्फबाट वकिलले सकाए बहस, अदालतमै नाराबाजी

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएका लामिछानेका तर्फका वकिलहरूको बहस सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले कास्की जिल्ला अदालतअघि नाराबाजी गरेका छन् । मंगलबार थुनछेक बहस सकेर लामिछानेसमेतलाई प्रहरी भ्यानमार्फत जिल्ला प्रहरी कार्यालय गैह्रापाटन लैजाने क्रममा तिनका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस महामन्त्री गगनकुमार थापासमेत सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

अदालतबाट बाहिरिनेक्रममा सधैंझैं आफ्ना समर्थकलाई हात हल्लाउँदै जाने गरेका लामिछानेलाई मंगलबार भने प्रहरीले छेकेर लगेको थियो । सो विषयमा आक्रोशित समर्थकले प्रहरीको ज्यादतीसँगै लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै एक्कासि नाराबाजीमा उत्रिएका थिए । सिमसिम पानीसमेत परेको अवस्थामा प्रहरीले उनीहरूलाई लाठी प्रयोग गरी तितरबितर पारेर लखेटेको थियो ।

यसैबीच, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएका लामिछानेका तर्फबाट उनका वकिलहरूको बहस सकिएको छ । दुई दिन लगाएर तिनका वकिलहरूले बहस सकेका हुन् । उनीहरूको बहस जिकिरमा अभियोग हदम्याद नाघेर आएकाले खारेजभागी हुनुपर्ने, सहकारीबाट गोर्खा मिडियामा लगिएको भनिएको रकममा मुख्य दोषी जीबी राईलाई उपस्थित गराउनुपर्ने, लामिछाने कुनै पनि सहकारीको सेयर सदस्य नभएका र उनले रकम हिनामिना नगरेको, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसमेतका मुद्दा राजनीतिक प्रतिशोधका कारण लगाइएको समेतका तर्क पेस गरेका छन् ।

पहिलो दिन सोमबार उनका तर्फबाट तीन जना वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमनकुमार श्रेष्ठ र सुरेन्द्र थापाले बहस गरेका थिए । मंगलबार वरिष्ठ अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, रोहितराज बास्तोला, अधिवक्ता ईश्वरी पौडेलसमेतले बहस गरेको स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म लामिछानेको पक्षका वकिलले बहस गरेका हुन् । इजलासबाटै ३ बजेसम्म उनीहरूलाई बहसको समय छुट्ट्याइएको थियो ।

त्यसपछि बाँकी १ घण्टा अर्का प्रतिवादी रामबहादुर खनालका पक्षका वकिलले बहस गरे । खनालका तर्फबाट नेपाल बार एसोसिएसनका गण्डकी प्रदेश उपाध्यक्षसमेत रहेका वीरेन्द्र केसी, उज्ज्वल सापकोटाले बहस गरे । रामबहादुरका तर्पmबाट बुधबार (आज) एक जना मात्र अधिवक्तालाई समय दिइएको छ ।

त्यसपछि बाँकी तीन जना प्रतिवादी गण्डकी प्रदेशकी पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका तर्फबाट कानुन व्यवसायीले थुनछेक बहस गर्ने स्रेस्तेदार खनालले बताए ।

हालसम्म गोर्खा मिडियाका पूर्वसञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रवि लामिछानेका वकिलहरूले बहस सकेका हुन् । सबै प्रतिवादीतर्फका वकिलहरूको बहस सकिएपछि अन्तिम दिन उच्च सरकारी वकिल कार्यालय पोखराका महान्यायाधिवक्ता गोविन्दराज गौलीको जवाफी बहससँगै अदालतबाट आदेश आउनेछ ।

न्यायाधीश नीतिज राईको इजलासले हाल उपस्थित गराइएका सात जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामै पठाउने कि धरौटी वा साधारण तारेखमै छाड्नेमध्ये एक आदेश दिनेछ ।

बहुचर्चित पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम ठगीसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएकामा यस वर्ष ५ र ७ पुसमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी जोशीसमेतलाई प्रतिवादी बनाएर पूरक अभियोग लगिएको थियो । ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो मागदाबी गरिएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार