श्रावण २०, २०८३ बुधबार August 5, 2026

कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर

शङ्कास्पदमध्ये एक सय ८६ बिरामीको पुनः परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मान्म (कालीकोट), २५ पुसः जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई सय ८६ शङ्कास्पद बिरामी फेला परेका थिए ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा तीन दिने निःशुल्क क्षयरोग परीक्षण शिविरमा सञ्चालन भएको थियो ।

शङ्कास्पदमध्ये एक सय ८६ बिरामीको पुनः परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग तथा कुष्टरोग सम्पर्क व्यक्ति पदम केसीले जानकारी दिनुभयो । “शङ्कास्पदको खकार पुनः परीक्षण जिल्ला अस्पतालको ‘जेनस्र्पोट’ उपकरणबाट भएको हो”, उहाँले भन्नुभयो ।

थप एक सय शङ्कास्पद बिरामीको पुनःपरीक्षण बाँकी रहेको बताउँदै उहाँहरूको जिल्ला अस्पतालको ‘जेनस्र्पोट’ उपकरणबाट परीक्षण गरिने नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ आधारभूत शाखाका क्षयरोग निवारणका संयोजक पुष्पराज पाण्डेले उल्लेख गर्नुभयो । क्षयरोग सङ्क्रमण फेला परेका बिरामीलाई औषधि सेवन सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा वार्षिक रूपमा तीन सय बिरामीको परीक्षण हुनुपर्नेमा हाल एक सयको हाराहारीमा मात्र परीक्षण हुने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया