काठमाण्डाैंः चारमहिने लकडाउन खुलेपछि व्यस्त बनेका सडक । कोरोना सर्ने डरले सडकमा निस्किएका अधिकांशले मास्क लगाएका छन् । तर, ननकोभिड संक्रमण फैलिन सक्ने उच्च जोखिमयुक्त फोहोर सडक किनारमा जताततै थुप्रिएको छ । नुवाकोट र धादिङको सीमास्थित बन्चरे डाँडामा ल्यान्डफिल साइट निर्माण गर्ने २५ वर्ष पुरानो कथा कथामै सीमित रहँदा जब वर्षायाम लाग्छ, काठमाडौं उपत्यकाका सडकमा फोहोरको डंगुर यसरी नै थुप्रिन्छ ।
थुप्रिएको फोहोर कुहिएर दुर्गन्धित बनेका सडक देख्दा लाग्छ-सहरको पर्याय नै फोहोर हो । सहरका घर, पसल र सडकमै उत्सर्जन भएको फोहोरसमेत एकैठाउँमा थुपारिएका छन् । गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, ज्ञानेश्वर, रातोपुल, बागबजार, पुतलीसडक, रत्नपार्कलगायत काठमाडौंका मुख्य चोकहरूमा फोहोरका थुप्रा देखिन्छन् ।
नुवाकोट सिसडोलस्थित डम्पिङ साइटमा फोहोरको रासमाथि माटो छापेर बनाइएको सडक वर्षामा पानीले गल्छ । राजधानीबाट फोहोर बोकेर गएका ट्रक त्यही सडक हुँदै गुज्रिनुपर्छ । फोहोरमाथि बनाइएको बाटो वेलावेलामा भासिन्छ । सिसडोललाई पाइलट प्रोजेक्टका रूपमा तीन वर्षका लागि भनेर सरकारले डम्पिङ साइट बनाएको थियो । तर, १५ वर्षसम्म त्यहाँबाट बन्चरे डाँडामा सारिएको छैन । २२ जेठ ०६२ देखि सिसडोलमा फोहोर फाल्न थालिएको हो । यहाँ फोहोर व्यवस्थापनमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक सहयोग थियो ।
सिसडोल भरिँदा वर्षायाममा फोहोरकै पहिरो खस्छ । जाइकाले बनाइदिएको भ्याली–वान भरिएपछि भ्याली–टु सुरु गरियो । त्यो पनि भरियो र आलेटारमा सारियो । आलेटार भरिएपछि फेरि सिसडोलमै फोहोर फाल्न थालियो ।
सरकारले सिसडोलको चार सय २० रोपनी अधिग्रहण गरेको छ । तीन वर्षपछि नुवाकोटकै बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बन्ने र फोहोर त्यहीँ बिसर्जन गर्ने सरकारी योजना थियो । तर, बन्चरेडाँडामा ल्यान्डफिल साइट तयार नहुँदा सिसडोलमै फोहोर बिसर्जन गर्नुको विकल्प छैन ।
सिसडोल नजिकको बन्चरेडाँडा ल्यान्डफिल साइटका लागि उपयुक्त रहेको पहिचान ०५२ सालमै भएको हो । र, त्यहाँसम्मको प्रवेशमार्ग निर्माण ०५७ मै सुरु भएको थियो । सिसडोल जानुअघि उपत्यकाको फोहोर गोकर्णस्थित ल्याडफिल साइटमा बिसर्जन गरिन्थ्यो । त्यस साइटको करिब दुई सय रोपनी भरिएपछि फोहोर उठ्न छाड्यो । त्यहीवेला जाइकाले बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाइदिने प्रस्ताव ल्यायो । दुई अर्ब १० करोड रुपैयाँको लागत प्रस्ताव थियो, जाइकाको । उक्त प्रस्ताव स्वीकृतिपछि कार्यान्वयन भइसक्न तीन वर्ष लाग्ने देखियो । र, त्यति अवधिका लागि मात्र सिसडोललाई ल्यान्डफिल साइट बनाइयो ।
बन्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट बनाउने सरकारी योजना हो । बन्चरेडाँडाका लागि मुआब्जा (६२ करोड)सहित ७५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीको दाबी छ, बन्चरेडाँडाको काम ७० प्रतिशत सकिएको छ । तर, ५० प्रतिशतभन्दा बढी काम भएको छैन । जस्तो– गत २२ वैशाखमै काम सकिनुपर्ने आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण नै आधा मात्र सकिएको छ । प्रशोधन केन्द्र निर्माणको जिम्मा लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीलाई दिइएको थियो । सम्झौता अवधि २२ वैशाखमै म्याद सकिएको छ ।
काठमाडौंका विभिन्न संकलन केन्द्रमा जम्मा भएको फोहोर बालाजु बाइपासबाट मुड्खु, तीनपिप्ले हुँदै सिसडोल फोहोर प्रशोधन केन्द्रमा बिसर्जन गर्ने गरिएको छ । तर, बालाजुदेखि तीनपिप्लेसम्मको सडक व्यवस्थित छैन । ल्यान्डफिल साइट पुग्नेवेला फोहोर थुपारिएकै ठाउँबाट बनाइएको करिब पाँच सय मिटर सडक हिलाम्य हुने गर्छ । सोही खण्डमा घन्टौँसम्म गाडी फस्छन् । सिसडोल र बन्चरेडाँडाबीचको करिब दुई किलोमिटर सडक पनि कालोपत्रे हुन बाँकी रहेको खबर नयाँपत्रिका दैनिकमा छापिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया