कर्णाली, ७ माघ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयन सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको आज बसेको पहिलो बैठकलाई मुख्यमन्त्री कँडेलले सम्बोधन गर्दै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढेको बताउनुभएको हो । प्रदेश सरकारले गत साउन ९ गतेदेखि बजेट कार्यान्वयनमा जोड दिएको बताउँदै उहाँले डोल्पाबाहेक सबै जिल्लाका कार्यालय प्रमुख, जनप्रतिनिधि तथा राजनीतिक दलहरुसँग बसेर यसको कार्यान्वयनका विषयमा छलफल गरेर अगाडि बढेको जनाउनुभयो ।
“सबै प्रदेशसभा सदस्यहरुले सदनबाट पारित भएको प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेट र योजनाका बारेमा जनतासामू पुगेर यहाँ उपस्थित हुनुभएको छ”, उहाँले भन्नुभयो, “सबैको सामूहिक प्रयासबाट बजेट तर्जुमा, कार्यान्वयन र प्रभाकारिता ल्याउन सकिन्छ ।” सरकार र जनताबीचको सम्बन्धलाई प्रगाढ र आफ्नो भूमिकालाई जनउत्तरदायी बनाउनतर्फ सरकार केन्द्रित भएको उहाँको भनाइ छ ।
प्रदेश सरकारले चालु आवको पुस महिनासम्म चालुतर्फ २४ दशमलव ८६ र पुँजीगत ८ दशमलव ९ प्रतिशत गरी कूल जम्मा १५ दशमलव १४ प्रतिशत खर्च गरेको जानकारी दिँदै मुख्यमन्त्री कँडेलले विगतभन्दा खर्च प्रगति बढी भएपनि बजेटको खर्च अवस्था सोचनीय रहेकाले सरकारले गम्भीरताका साथ लिएको जनाउनुभयो ।
उहाँका अनुसार प्रदेश सरकारले यही अवधिमा गत आवमा अनुमान गरेको आन्तरिक आम्दानी रु १४ करोड (३३ दशमलव ९१ प्रतिशत) हुँदा यसपट रु २० करोड (३८ दशमलव ७९ प्रतिशत) आम्दानी भएको छ । आर्थिक मामिला मन्त्रालयमा राजस्व शाखा खोलेर स्थानीय तह, जिल्ला मालपोत कार्यालय तथा सरोकारवालाहरुसँग सिधासिधा पहलकदमी अगाडि बढाएपछि लक्ष्य भन्दा बढि भएको उहाँको भनाइ थियो ।
विकास परिषद्को बैठकमार्फत दोस्रो पञ्चवर्षीय योजना स्वीकृत भएको छ । बैंक खाता छोरीको योजनालाई नीति तथा कार्यक्रममा ल्याइएको र कार्यान्वयनको पाटोमा अलमल भएकोले छलफलमै रहेको, भूकम्प प्रभावित जाजरकोट, सल्यान र रुकुमपश्चिको पुनःनिर्माणका लागि रु.५० करोड छुट्याइएको र रु ३० लाखभन्दा माथिको बजेट टेण्डर प्रक्रियामार्फत कार्यान्वयनमा गएको र दशौँ राष्टिय खेलकुद चैतको २३ देखि ३० गतेसम्म सञ्चालन गर्ने आवश्यक तयारी भइरहेको उहाँले जनाउनुभयो ।
बैठकमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाही, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्मा, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका प्रदेशसभा सदस्यद्वय कल्याणी खड्का र सन्तोषी शाहीले बजेट तथा कार्यक्रम कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेको टिप्पणी गर्नुभएको थियो । सभाको अर्को बैठक माघ ८ गते दिउसो ३ः०० बजे बस्ने उपसभामुख यशोदा न्यौपानेले जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया