असार २६, २०८२ बिहिबार July 10, 2025

खोरेत उन्मूलन गर्न पशुलाई खोप लगाइँदै

खोरेत रोग नियन्त्रणका लागि ८३ हजार बढी पशुलाई खोप लगाउने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर, ८ माघः जिल्लामा खोरेत रोग उन्मूलनका लागि खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लालाई खोरेत रोगमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालनको तयारी थालिएको हो । अभियानमार्फत खोरेत रोग नियन्त्रणका लागि यो वर्ष ८३ हजार बढी पशुलाई खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख सुन्दरलाल यादवले बताउनुभयो ।

अभियानलाई जिल्लाभर सफल रूपमा सञ्चालनका लागि पहिलो चरणमा जिल्ला प्राविधिक समिति गठन भइसकेको उहाँले बताउनुभयो । यो कार्यक्रमलाई नौवटै स्थानीय तहमा सञ्चालनका लागि अब जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय समिति, पालिका प्रमुखको संयोजकत्वमा पालिकास्तरीय स्थानीय आयोजना समिति र वडाध्यक्षको संयोजकत्वमा निगरानी समिति गठन गरेर तल्लोस्तरसम्म सञ्चालन गरिने उहाँले बताउनुभयो ।

खोरेत रोगसम्बन्धी ८३ हजार पाँच सय ६३ डोज भ्याक्सिन प्राप्त भएको प्रमुख यादवको भनाइ छ । “भोजपुरमा खोरेत रोगसम्बन्धी अभियान सञ्चालन गर्ने तयारीमा छौँ”, प्रमुख यादवले भन्नुभयो, “अहिले हामीले विभिन्न तहको समिति गठन गरेर काम अघि बढाएका छौँ । खोरेत रोग नियन्त्रणका लागि ८३ हजार बढी पशुलाई खोप लगाउने योजना छ ।”

पशुहरूमा खोरेत रोग नरहेको प्रमाणित नगरिँदा मासु तथा पशुजन्य पदार्थको बाहिरी देशमा निकासीका लागि समस्या रहेको उहाँको भनाइ छ । सरकारको सन् २०३० सम्म खारेत रोग उन्मूलन गर्ने लक्ष्यलाई पूरा गर्न अभियान सञ्चालन गरिएको प्रमुख यादवले बताउनुभयो । स्थानीयका पशु चौपायाको तथ्याङ्क सङ्कलनपश्चात भ्याक्सिनेटरमार्फत आगामी चैतभित्र खोप लगाइसक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

“खोरेत रोग उन्मूलनका लागि यो कार्यक्रम सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो, “हामीले हाम्रा पशु चौपायामा खोरेत रोग छैन भन्ने प्रमाणित गर्न नसक्दा मासुलगायत पशुजन्य वस्तु बाह्य देशमा निकासीमा समस्या छ । खोरेत रोग उन्मूलन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भइरहेको छ ।”

खोरेतसँगै जिल्लामा पिपीआर भ्याक्सिन एक लाख ३१ हजार एक सय ९२, लम्पी स्किनका नौ हजार, ंबगुरको हैजा रोग नियन्त्रणका लागि क्यासिकल स्वयमफिभर ३७ हजार दुई सय १३ र पशुमा देखिने भ्याउते, चरचरे रोगका लागि एक हजार डोज भ्याक्सिन लगाइने कार्यालयका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिनुभयो ।रास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया