असार २१, २०८२ शनिबार July 5, 2025

निर्मला हत्या प्रकरणः आठै प्रहरीले पाए सफाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर प्रमाण नष्ट गरेको र यातना मुद्दा खेपेका आठ जना प्रहरीले सफाइ पाएका छन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले जिल्ला प्रहरी कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित डीएसपी अंगुर जीसी, ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकिन्द्रबहादुर खड्का ९अनुसन्धान अधिकृत०, जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी र रामसिंह धामी, प्रहरी जवान चाँदनी साउदविरुद्ध मुद्दा हालेकी थिइन् । उनीहरू सबैलाई प्रमाण नष्ट गरेको आरोप लगाइएको थियो ।

यस्तै दिलीपसिंह विष्टलाई हिरासतमा यातना दिएर ‘बलात्कार गरेर मैले हत्या गरेको हुँ’ भन्न लगाएको भन्दै दिलीपका दाइ खडकसिंह विष्टले एसपी विष्ट, जीसी, सेठी र अनुसन्धान अधिकृत खड्काविरुद्ध मुद्दा दिएका थिए । प्रहरीले दिलीपसिंहलाई निर्मला हत्यामा संलग्न भएको भनेर सार्वजनिक गरेको थियो ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले बिहीबार दुर्गादेवी पन्त वादी रहेको मुद्दामा आरोपित आठै जना प्रहरीलाई सफाइ दिएको हो । न्यायाधीश बाँस्तोलाकै इजलासले खडक विष्ट वादी रहेको यातना कसुरमा पनि विष्ट, जीसी, सेठी र इन्स्पेक्टर खड्कालाई निर्दोष ठहर्याएको हो ।

जिल्ला अदालत कञ्चनपुरका स्रेस्तेदार यदुराज शर्माले निर्मला हत्या प्रकरणमा सम्बन्धित प्रमाणहरू नष्ट नगरेको देखिएकाले उनीहरूले सफाइ पाएको जानकारी दिए । ‘घटना भएका बेला प्रहरीको लापरवाही देखिए पनि प्रमाण नष्ट गरेको भन्न मिल्ने कुनै प्रमाण भेटिएन’, स्रेस्तेदार शर्माले भने, ‘प्रतिवादीहरूलाई लागेको आरोप प्रमाणित हुने हुने आधार र प्रमाण नभएकाले प्रतिवादी सबैलाई सफाइ दिइएको छ ।’

दिलीपसिंहलाई स्वास्थ्य परीक्षणपछि मात्रै हिरासतमा लिएको, अदालत तथा सरकारी वकिल कार्यालयमा पटक–पटक सोध्दा आफूलाई यातना नदिएको भनी स्वीकार गरेको र जमानतमा छोड्दासमेत स्वास्थ्य परीक्षण गराइएकाले त्यसमा कुनै चोटपटक लागेको नदेखिएको तथा उनमा देखिएको मानसिक रोग पुरानो भएकाले प्रहरीले यातना दिएको भन्ने प्रमाणित नभएको अदालतका स्रेस्तेदार शर्माले बताए ।

सार्वजनिक न्यायविरुद्धको ९प्रमाण नष्ट० कसुरमा मृतकको शव पानीमा घोप्टो परेको देखिएको, पानीमा डुबेको देखिएको शवको घुडामुनि पानी रहेकोले फिता अथवा डोरीले घटनास्थल घेर्न परिस्थितिले सम्भव नभएको, घोप्टो परेको शवलाई ओल्टाइपल्टाइ हेर्नुपर्ने र तिघ्रामा हिलो लागेको अवस्था हुँदा हिलो पखाल्नुपर्ने नै देखिएको, शरीरमा नीलडाम छ छैन हेर्नको लागि हिलो पखाल्नुपर्ने कार्य अनुसन्धानकै भाग भएकाले प्रतिवादीहरूले सफाइ पाएको स्रेस्तेदार शर्माले बताएको यो खबर आजको समाचार पत्र दैनिकले प्रकाशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया