कार्तिक २२, २०८३ आइतबार November 8, 2026

विद्यालय खाजामा लगानी बढाउन माग

शिक्षालाई गुणस्तरीय बनाउन र बालबालिकाको दिवा खाजा प्रवर्द्धन गर्न सबै सरोकारवालाको भूमिका रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १० फागुनः बालबालिकाको सिकाइका निम्ति विद्यालयमा पोषणयुक्त खाजामा लगानी बढाउन सरोकार भएकाहरूले माग गरेका छन् ।

आज यहाँ आयोजित ‘स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय परामर्श’ कार्यक्रममा सरोकार भएकाहरूले यस्तो माग गरेका हुन् ।

विद्यालय उमेरका बालबालिकाका लागि पोषण अति आवश्यक भएको र यसले बालबालिकाको विद्यालयमा पहुँच विस्तार र सिकाइस्तर वृद्धिको आधार निर्माण गर्ने भन्दै यसमा जोड दिनुपर्ने उहाँहरूको भनाइ थियो । “पोषणयुक्त खाजाले स्वस्थ शरीर र भोकरहित वातावरण निर्माण गर्छ, जसले शिक्षण सिकाइ र विद्यालयमा पहुँच विस्तारसमेत निकै टेवा पुग्छ । साथै स्वास्थ्य मानव पुँजी तयार गरी राष्ट्रको अर्थतन्त्रमा सहयोग पुग्ने हुँदा विद्यालयमा पोषणयुक्त खाजाका लागि लगानी बढाउन आवश्यक छ”, वक्ताहरूले भन्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेले प्राप्त सुझावलाई सम्पत्तिका रूपमा ग्रहण गर्दै गुणस्तरीय शिक्षा, प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षालाई गुणस्तरीय बनाउन र बालबालिकाको दिवा खाजा प्रवर्द्धन गर्न सबै सरोकारवालाको भूमिका रहेको बताउनुभयो । उहाँले बालबालिकामा लगानी बढाउन अन्तर मन्त्रालय, सरोकार भएका निकाय र अभिभावकलगायत सङ्घसंस्था सबैको दायित्व रहेको बताउनुुभयो ।

मन्त्रालयका सचिव हरिप्रसाद अर्यालले तोकिएको मापदण्डअनुसार पोषणयुक्त खाजाको व्यवस्थापनका लागि सहज गर्ने उद्देश्यले गत असोज ८ गतेको मन्त्रिस्तरीय निर्णयबमोजिम मन्त्रालयले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ स्वीकृति भएको बताउनुभयो ।

गाउँपालिका महासङ्घका सदस्य भुपाल पोखरेल र जिल्ला समन्वय समिति महासङ्घका उपमहासचिव दीपक गौतम, नगरपालिका सङ्घकी प्रतिनिधि सुनिता सुबेदी, राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकाललगायतले दिवा खाजा प्रवद्र्धन गर्ने कार्यमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अधिकारकर्मी तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले दिवा खाजा कार्यक्रमलाई बाल संवेदनशील सामाजिक सुरक्षा, बालमैत्री, विभेदमुक्त वातावरणका साथै पोषण सुधार र दिवा खाजा कार्यक्रमका विषयलाई राजनीतिक पार्टी र सबै सरोकारवालाको साझा छलफलको विषय बन्नुपर्ने बताउनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका हरिप्रसाद अर्यालले कार्यक्रममा दिवा खाजाको पृष्ठभूमिका बारेमा प्रस्तुतीकरण गर्दै अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, विद्यालय शिक्षा क्षेत्र योजना, स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूपलगायत नीतिगत व्यवस्थाअनुरूप सञ्चालन भइरहेको बताउनुभयो । विद्यालय खाजाका लागि रु आठ अर्ब ४६ करोड विनियोजन भएको र उक्त रकम बराबर ३२ लाख विद्यार्थीले खाजा खाइरहेको जानकारी दिदै उहाँले यसलाई थप व्यवस्थित बनाउन लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वल्र्ड भिजन इन्टरनेसनलकी उमा मगरले वल्र्ड भिजन इन्टरनेसनलले बालमैत्री, पोषणमैत्री, बाल संरक्षण प्रवर्द्धनलगायत अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बाल क्लबका प्रतिनिधिहरूले दिवा खाजा कार्यक्रमको अनुगमन गर्नुपर्ने, बालबालिका केन्द्रित विषयमा उनीहरूसँग नै सोधेर अध्ययन गर्नुपर्ने बताएका थिए । यस्तै, विद्यालयका प्रधानाध्यापकहरूले दिवा खाजाको रकम निकासा मासिक रूपमा गरिनुपर्ने, असल अभ्यास अनुभवको आदानप्रदान गर्नुपर्ने, विद्यार्थीलाई प्रदान गरिने खाजाको रकम बढाइनुपर्ने, यसमा स्थानीय सरकारले आफ्नो स्रोत परिचालन गर्न सक्नुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्य तथा वल्र्ड भिजन इन्टरनेसनल नेपाल, क्यानालको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार