काठमाण्डाैंः कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी बिहीवारदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा लागू नहुने भएको छ ।
सरकारले २०० जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को संख्यामा सक्रिय संक्रमित नभएका कारण जोरबिजोर प्रणााली लागू नहुने भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा २०० को हाराहारीमा सक्रिय संक्रमित नरहेको जानकारी दिए ।
निर्देशक शर्माका अनुसार हालसम्म २६ हजार ३८ जनाको स्वाब संकलन गरिएको छ । तीमध्ये २४ हजार ४७२ को नेगेटिभ रिपोर्ट आएको छ । गण्डकी प्रदेशमा बिहीवारसम्म कोरोना संक्रमितको संख्या एक हजार ५६६ पुगेको छ । प्रदेशमा हालसम्म चार जनाको कोरोनाको कारण मृत्यु भएको छ । संक्रमितमध्ये एक हजार ३६२ निको भएका छन् ।
यसैगरी क्वारेन्टाइनमा एक हजार ११ रहेका छन् भने आइसोलेसनमा २११ जना रहेका छन् । प्रदेशमा हालसम्म भारतबाट १२ हजार २९१ र तेस्रो मुलुकबाट पाँच हजार १०४ जना आएको तथ्यांक छ । प्रदेशमा बिहीवार बिहान थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको विभिन्न तीन प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिनेहरुमा कास्कीमा एक, पर्वतमा एक, गोरखाका छ र नवलपुरका तीन जना रहेका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
जनस्वास्थ्यको मापदण्डानुसार २०० जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा बिहीवारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गृह मन्त्रालयलये निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार २०० जनाभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्की जिल्लामा पनि २०० जना सक्रिय कोरोना संक्रमित नभएकाले जोरबिजोर प्रणाली लागू नहुने बताए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया