असार २२, २०८२ आइतबार July 6, 2025

पिसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं:  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको पिसीआर परीक्षणको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने भएको छ ।

आगामी भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि हाल ३४ खेलाडीलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई साउन १८ गतेदेखि क्वारेन्टिनमा राखेको हो ।

कोरोना भाइरसको महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो । आगामी प्रतियोगितालाई ध्यानमा राख्दै एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई गत साता प्रशिक्षणका लागि काठमाण्डौँ बोलाएको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार साउन २८ गतेसम्म ती सबै खेलाडीको पिसीआर परीक्षण गरिने छ । पिसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई भदौ १ गतेदेखि प्रशिक्षण दिइने उहाँले बताउनुभयो । प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा दिइने प्रवक्ता राईले उल्लेख गर्नुभयो ।

एन्फाले प्रशिक्षणमा सहभागी हुने नेपाली टोलीको प्रशिक्षणका लागि मापदण्ड तयार पारेको छ । कोरोनाबाट सुरक्षित रहनका लागि उक्त मापदण्ड बनाइएको प्रवक्ता राइले बताउनुभयो । खेलाडीले पोशाक फेर्ने कोठामा कम समय बिताउनुपर्ने, सबै खेलाडी प्रशिक्षक र पदाधिकारीलाई कोरोना भाइरसको विषयमा जानकारी गराउने, अभ्यासका क्रममा दर्शकलाई मैदानमा प्रवेश गर्न नदिने, खाना सामूहिक रुपमा खान नपाइने, सामाजिक दूरी बनाएर खानुपर्नेलगायत मापदण्ड एन्फाले बनाएको छ ।

अभ्यासका क्रममा एउटा खेलाडीले एउटै बोतलले मात्र पानी पिउनुपर्ने, अभ्यास स्थललाई नियमित निर्मलीकरण गर्नुपर्ने तथा अभ्यास स्थलमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने मापदण्ड बनाएको छ । सहभागी सबै खेलाडीले एकै पटकमा अभ्यास गर्न पाउने छैनन् । उनीहरुलाई तीन समूह बनाएर मात्र अभ्यासमा सहभागी गराइने प्रवक्ता राईले बताउनुभयो । फिफा र विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य निर्देशिकाअनुसार नै खेलाडीलाई प्रशिक्षण दिइने उहाँको भनाइ छ । एन्फाले फिफा विश्वकप, २०२२ र एएफसी एसियन कप, २०२३ को छनोट प्रतियोगिताका लागि तयारी अगाडि बढाएको हो ।

नेपाली टोलीलाई मुख्य प्रशिक्षक योहान कालिन र सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ । बाइस खेलाडी आफ्नो घरमा तथा १२ खेलाडीलाई एन्फाले होटेलमा क्वारेन्टिनमा राखेको छ । शुरुआतमा एन्फाले सरकारलाई कोरोना महामारीका बेला सहयोग गर्ने भन्दै आफ्नो होस्टेललाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न ललितपुर उप महानगरपालिकाको जिम्मा लगाएको थियो । हाल सातदोबाटोस्थित उक्त होस्टेललाई एन्फा आफैँले लिइ खेलाडीलाई क्वारेन्टिनमा राख्न प्रयोग गरेको छ । होस्टेललाई निर्मलीकरण गरिएको प्रवक्ता राइले जानकारी दिनुभयो । सरसफाइको काम चलिरहेको छ ।

सरकारले २०७६ चैत ११ गतदेखि लकडाउन लागू गरेको थियो । लकडाउन लगत्तै फुटबल प्रशिक्षण पनि रोकिएको थियो । सरकारले लकडाउन खुला गरेसँगै एन्फाले खेलाडी प्रशिक्षणको प्रक्रिया अघि बढाएको हो । नेपालले विश्वकप छनोटअन्तर्गतको खेलका लागि प्रशिक्षण थाल्नेछ । यसअघि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु गर्नका लागि युवा तथा खेलकूद मन्त्रालयमार्फत कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) सित अनुमति मागेको थियो । एन्फाले फिफा विश्वकप, २०२२ र एएफसी एशियन कप, २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि अनुमति मागेको थियो ।

कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउने एशियाली फुटबल महासङ्घ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ । स्थगित भएका खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब ३ खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ ।

समूह बी मा रहेको नेपाल ५ खेलमध्ये एउटामा जित निकाल्दै ३ अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य ४ खेलमा नेपाल पराजित भएको थियो । घरेलु मैदानमा हुने ३ खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने नेपाली खेलाडी सामु चुनौती छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार