जनकपुरबाट बिहीबार काठमाडौंका लागि उडेको बुद्ध एयरको एउटा जहाजको काठमाडौंमा अवतरण गर्ने क्रममा एउटा चक्का (ल्यान्डिङ गियर) नभएको विषयले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रवेश पायो। प्रतिनिधिसभाका सदस्यले यसलाई लापरबाहीको चरम नमुना भन्दै हवाई क्षेत्र असुरक्षित भएको बताए।
माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले कहिले उड्दाउड्दै जहाजमा धुवाँ निस्कन्छ, कहिले पांग्रा फुस्किन्छ, कहिले उड्दाउड्दै झ्याल खुल्छ भन्दै हवाई सेवा बेवारिसे बनेको बताएकी हुन्। उनले यसमा सरकार पनि दोषी रहेको धारणा राखिन्।
जनकपुरबाट बिहीबार काठमाडौंका लागि उडेको बुद्ध एयरको ९एन–एएनएच कलसाइन जहाज काठमाडौंमा अवतरण गरिसकेपछि त्यसको एउटा चक्का नभएको पाइएको थियो। यसै विषयमा उनले पांग्र्रा छुटने अवस्था कसरी आयो भन्दै प्रश्न गरिन्। ‘हाम्रो हवाई क्षेत्र यति बेवारिसे किन बन्यो ? यो गम्भीर चिन्ताको विषय हो,’ उनले भनिन्, ‘प्राविधिक पक्ष यति कमजोर छ, प्राविधिक कारणले विमानस्थलमै दुर्घटना हुन्छ, मानवीय र भौतिक क्षति हुन्छ तर पनि सुधार आउँदैन।’
उनले अगाडि भनिन्, ‘विमान दुर्घटनापिच्छे छानबिन समिति बन्छ, प्रतिवेदन आउँछ, कर्मकाण्ड पूरा हुन्छ तर अवस्था भने जहाँको त्यहीं हुन्छ।’
नेपालको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई सेवा भरपर्दो नरहेको भन्दै तामाङले यसमा व्यापक सुधारको खाँचो औंल्याइन्। उनले हवाई सेवामा सुधार ल्याउन उच्चस्तरीय समिति बनाएर छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताइन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज एउटा पांग्राबिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विषयमा भने, ‘बुद्ध एयरको जहाज एउटा पांग्राबिनै अवतरण भयो। यस विषयमा छानबिन गर्न जाँचबुझ आयोग गठन गरियोस्।’
बुद्ध एयरको उक्त जहाज एउटा पांग्रा नभए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको थियो।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले ‘पोस्ट फ्लाइट जाँच गर्दा उक्त जहाजको नोज ल्यान्डिङ गियरको एउटा टायर नभएको पाइएको र त्यसपछि जनकपुर विमानस्थलमा खोज्न लगाउँदा रनवेमा भेटिएको बताएका थिए। उनका अनुसार अहिले उक्त जहाजलाई ग्राउन्डेड गरेर आन्तरिक छानबिन भइरहेको छ। जहाजमा ६२ यात्रु सवार थिए। उनीहरू सबै सुरक्षित रहेको बताइएको छ।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पाथीभरामा केबलकार निर्माण प्रक्रियामा सहजीकरण गर्न सरकारसँग माग गरे। सांसद पौडेलले वार्ता, सहमति र सम्झौताको विधि अपनाएर मुक्कुमलुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणलाई सहजीकरण गर्न अनुरोध गरे। नागरिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया