काठमाडौँ, २४ फागुन : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले महिलाको समान सहभागिता र नेतृत्वदायी भूमिकामा स्थापित गर्न समान अवसर, आर्थिक सशक्तीकरण, स्रोत साधनमा पहुँच बढाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार हुन नसक्ने बताउनुभएको छ । अधिकारप्राप्तिका आन्दोलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, प्रतिबद्धता, प्रगतिशील संविधान, महिला सशक्तीकरणका सघन कार्यक्रमको प्रतिफलस्वरूप नेपालले लैङ्गिक समानता कायम गर्न लैङ्गिक हिंसा न्यूनीकरण गर्न र महिलाको सहभागिता वृद्धि गर्नेतर्फ उल्लेखनीय प्रगति हासिल भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभएको छ, “संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।” महिलाको हक मौलिक हकको रूपमा प्रदान गरेको छ । समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण सहभागिता बढाउँदै लगेको उहाँले उल्लेख गर्नुभएको छ । अहिले सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव ५ र स्थानीय तहमा ४१ दशमलव १ प्रतिशत महिला जनप्रतिनिधि हुनुहुन्छ । निजामती सेवामा अहिले करिब २८ प्रतिशत महिला कर्मचारी हुनुहुन्छ ।
मन्त्री सुडीले महिला र पुरूषको सारभूत समानताका लागि नीतिगत, कानुनी र संस्थागत तथा कार्यक्रमगत व्यवस्था हुँदाहुँदै पनि समाजमा अवशेषका रूपमा रहेका पितृसत्तात्मक सोच, व्यवहार कायमै रहनु र महिलालाई विकासका सबै चरणमा सारभूत सहभागी गराउन नसक्नु चुनौतीपूर्ण रहेको बताउनुभएको छ । “आज पनि लैङ्गिक हिंसा तथा गरिबीको प्रभाव महिलामा बढी परेको देखिन्छ । महिलाको सहज जीवनको सुरक्षा र रोजगारीका लागि महिलाको श्रमलाई आर्थिक उपार्जनमूलक क्रियाकलापमा रूपान्तरण गर्न सके उनीहरूमाथि सम्मान हुने देखिन्छ”, उहाँले भन्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया