असार २२, २०८२ आइतबार July 6, 2025

हौसिए राजावादी, मुख्य दलहरू संवादमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौंमा राजसंस्थाको पक्षमा आइतबार शक्ति प्रदर्शन भएको छ । संवैधानिक राजतन्त्र पक्षधर राजावादी शक्ति प्रदर्शनबाट उत्साही देखिएका छन् । उनीहरूले राजसंस्था र राजाको पक्षमा नाराबाजी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गरेका छन् ।

एक महिना लामो पोखरा भ्रमण सकेर शाह आइतबार दिउँसो काठमाडौं फर्किएका हुन् । काठमाडौं फर्किंदा पञ्चेबाजासहित राजावादीले शाहको स्वागत गरे । उनीहरूले ‘राजा आऊ, देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, नारायणहिटी खाली गर, हाम्रो राजा आउँदै छ’ जस्ता नारा लगाएका थिए ।

शाहको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजावादी भनेर चिनिने नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी, कमल थापालगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । शाह काठमाडौं फर्किंदा उनको स्वागतमा हजारौं मानिस विमानस्थलमा पुगेका थिए । उनीहरूले राजाको पक्षमा र गणतन्त्रको विरोधमा नाराबाजी गर्दै शाहलाई निर्मल निवाससम्म लगेका थिए ।

यता, पूर्वराजा शाहको काठमाडौंमा भव्य स्वागत हुँदैगर्दा सुदूरपश्चिम प्रदेशमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा शाहको क्रियाकलापले देश अप्ठ्यारोमा पर्न थालेको टिप्पणी गरेका छन् । साथै, उनले शाह मनैदेखि जनतालाई टुक्र्याउने कोसिसमा लागेको बताए ।

‘६ फागुनमै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो, संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ त ’ प्रधानमन्त्री ओलीले भने, ‘कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली, प्रक्रियाको कुरा गर्नुहुन्न ।’

ओलीले राजनीतिमा आउने भए आफूहरू स्वागत गर्न तयार रहेको बताए । ‘मलाई साथ देऊ, आउँछ, † कहाँ आउने उहाँ, पोलिटिक्समा आउनुस् न हामी स्वागत गर्छौैं, अराजनीतिमा आउने कि राजनीतिमा ?’ प्रधानमन्त्री ओलीले भने, ‘केमा साथ माग्नुभएको ? बुझिएन, अहिले बुझिएन मात्रै भनौं ।’

पूर्वराजा आउँदा राजधानीमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । काठमाडौंका विभिन्न चोकमा प्रहरी परिचालन गरिएको थियो । शाहको क्रियाकलाप नजिकबाट हेरिरहेका गृहमन्त्री रमेश लेखकले पूर्वराजालाई अनावश्यक नहौसिन चेतावनी दिएका छन् । उनले जनआन्दोलन र क्रान्तिबाट फालिसकेको राजालाई जनताले पुनः फर्काएर ल्याउँछन् भन्ने कुरामा विश्वास नगर्न आग्रह गर्दै भने, ‘केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्, त्यो भ्रममा राजाले हौसिन आवश्यक छैन ।’

उनले उदार लोकतन्त्रका कारण जनताले फालेको राजतन्त्रका राजाले पनि सबै स्वतन्त्रता उपभोग गरिरहेको बताए । यो नै लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै गृहमन्त्री लेखकले यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन पूर्वराजा शाहलाई चेतावनी दिए ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अन्यत्र भएको भए अहिलेसम्म पूर्वराजा र राजपरिवारका सदस्यहरू जेलमा हुने तर नेपाल निकै उदार लोकतान्त्रिक देश भएर पूर्वराजालाई सम्मानपूर्वक राखिएको बताए ।

‘२ सय ५० वर्षसम्म मुलुकलाई शोषण गर्ने, जनतालाई दुःख दिने राजसंस्था, त्यस्तो परिवार, त्यस्ता व्यक्तिको सम्पत्ति हरण हुनुपर्ने हो, तर हामीले उनलाई ससम्मान राखेका छौं,’ मन्त्री गुरुङले भने ।

पूर्वराजा शाहको सक्रियता बढ्दै गएपछि प्रमुख दलका शीर्ष नेताले सडकबाटै जवाफ दिने भएका छन् । धनगढीमा विभिन्न कार्यक्रममा सहभागी प्रधानमन्त्री ओली र छुट्टै कार्यक्रमका लागि धनगढी पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार नै काठमाडौं फर्किएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमै छन् । तराई–मधेशको पूर्वपश्चिम हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी कार्यक्रम बीचमै स्थगित गरी प्रचण्ड शनिबार काठमाडौं फर्किएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली, देउवा र प्रचण्डका बीचमा छिट्टै नै भेटघाट हुने र अगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ । यसबीचमा तीन नेताका बीचमा छुट्टाछुट्टै फोन संवादमा राजाको सक्रियताबारेमा छलफलसमेत भएको बताइन्छ ।

यसैबीच, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले तेस्रो जनआन्दोलन सुरु भएको टिप्पणी गरेका छन् । पूर्वराजा शाहको स्वागतमा काठमाडौंमा जम्मा भएका मानिसतर्फ लक्षित गर्दै उनले राजसंस्था पुनस्र्थापनाको पक्षमा तेस्रो जनआन्दोलन सुरु भएको र यो सकभर छोटो होस् भन्ने आफूहरूको कामना रहेको जनाएका छन् ।

सत्तामा बसेकाहरूले ‘यो आजको मात्रै भीड हो, भोलिदेखि केही हुँदैन’ भन्ने ठानेको खण्डमा अर्कोचोटी जम्मा भएको भीड उनीहरूको नियन्त्रणभन्दा बाहिर जाने नेता मिश्रको चेतावनी छ । आफूहरूले बंगलादेश, श्रीलंका र सिरियाको जस्तो नेताहरू भाग्नुपर्ने र देशमा जनधनको क्षति हुने स्थिति नआओस् भन्ने चाहेको उनले जनाएका छन् ।

‘अहिले पनि ठूला दलका ठूला नेताले यो केही पनि होइन, भूत जाग्न खोजेको, अग्रगमनको चक्का पछिल्तिर फर्किंदैन भनेर तुच्छ भाषा प्रयोग गरिराखेका छन्, उनीहरूले यसैगरी तुच्छ भाषा प्रयोग गरिराख्ने हो भने बंगलादेशलाई सम्झिए पुग्छ, जहाँ पहिला शासकहरूले तुच्छ भाषा प्रयोग गरेर केही पनि होइन भने,’ मिश्रले भनेका छन्, ‘हाम्रो भनाइचाहिँ के हो भने अब बंगलादेश, श्रीलंका र सिरियाको जस्तो नेताहरू भाग्नुपर्ने र देशमा जनधनको क्षति हुने स्थिति नआओस् ।’

नवीन समझदारीमा शान्तिपूर्ण रूपमा राजनीतिक दललाई पनि ठाउँ हुने र राजसंस्था पनि स्थापना होस् भन्ने आफूहरूको कामना रहेको उनले जनाएका छन् । यसरी ठूला दलका शीर्ष नेताले बेलैमा सोचेर नवीन समझदारीमा नआए देश नै छाडेर भाग्नुपर्ने स्थिति आउने उनको चेतावनी छ ।

यसैबीच, अधिवक्ता स्वागत नेपालले राजा र राजतन्त्रको पक्षमा लाखौं जनता सडकमा उत्रिएको दाबी गरेका छन् । यससँगै नेपालको गणतन्त्र विधिवत रूपमा अन्त्य भएको उनले बताए । राजावादीहरू अहिले नै नारायणहिटी छिर्न सक्ने अवस्था रहेको उनको दाबी छ । राजावादीहरूले नेपालमा बंगलादेशको जस्तो अवस्था आओस् भन्ने हेतुले अहिले हतार नगरेको उनले बताए । आजको राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार