असार २२, २०८२ आइतबार July 6, 2025

दक्षिण पूर्वी एसियामा नेपालीलाई बन्धक बनाउने क्रम तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालमा र विदेशी मुलुकमा कार्यरत नेपालीलाई राम्रो पारिश्रमिकको लोभमा सूचना प्रविधिसम्बन्धी काममा लगाउने भनी थाइल्यान्ड, म्यान्मा, लाओस, भियतनामलगायतका दक्षिण पूर्वी एसियामा लगेर बन्धक बनाउन थालेपछि बैंककस्थित नेपाली राजदूतावासलाई उद्धार गर्न हम्मेहम्मे पर्न थालेको छ ।

बैंककस्थित नेपाली राजदूतावासलाई उद्धार गर्नै हम्मेहम्मे

खासगरी द्वन्द्वग्रस्त म्यान्मा (बर्मा)मा बन्धकमा राखेको चाल पाएको नेपाली दूतावासलाई अन्य दक्षिणपूर्वी एसियामा पनि मानव तस्करी हुन थालेपछि समस्या पर्न थालेको हो ।

म्यान्माबाट सातैपिच्छेजस्तो उद्धार गर्दै नेपाल फर्काइँदै गरेकामा शुक्रबार भने थाइल्यान्डमै अलपत्र परेका २० नेपालीको उद्धार गरिएको नेपाली राजदूतावास बैंककले जनाएको छ ।

आकर्षक रोजगारीको प्रलोभनमा पारी दक्षिण पूर्वी एसियासँगै रहेको पलाउ भन्ने मुलुकमा रोजगारीका लागि पठाउन गत ११ माघमा अर्थात् २४ जनवरीमा भारतको नयाँ दिल्ली हुँदै थाइल्यान्ड ल्याई अलपत्र पारिएका २० जना नेपाली नागरिकलाई दूतावासले उद्धार गरी शुक्रबार फर्काएको हो ।

नेपाल सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानुनविपरीत छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यान्मा र थाइल्यान्डलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन दूतावासले पटकपटक ट्राभल एड्भाइजरी जारी गर्दै आएको छ ।

पलाउ पु¥याउन लगेकाहरूलाई पनि अनलाइन स्क्याममै लगाउन लागिएको बताइएको छ । यसअघि भने लाओस र म्यान्मामा मात्र नेपालीलाई अनलाइनमा ठगी गर्न र जुवा खेलाउन बन्धकमा राखेको पाइएको थियो ।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले सन् २०२४ भित्र सय जनाभन्दा बढी त्यस्ता व्यक्तिलाई थाइल्यान्ड हुँदै स्वदेश फर्काइएको जानकारी दिए । फागुनमा मात्र म्यान्माका स्क्याम सेन्टरबाट उद्धार गरिएका आठ नेपालीलाई बैंककस्थित नेपाली दूतावासले नेपाल पठाइसकेको छ ।

बैंककस्थित नेपाली दूतावासका अनुसार म्यान्मा, थाइल्यान्ड, कम्बोडिया, लाओस र भियतनामसहित विभिन्न देशमा ‘स्क्याम सेन्टर’हरूमा फसेको भनेर उद्धारका लागि अनुरोध गर्ने नेपालीको संख्या धेरै छ ।

‘स्क्याम सेन्टर’हरूमा ठ्याक्कै कति नेपाली फसेका छन् भन्ने यकिन विवरण अहिलेसम्म पहिल्याउन सकिएको छैन । यद्यपि, म्यान्माको म्याओडी आसपासमा रहेका स्क्याम सेन्टरमा २ हजारभन्दा बढी नेपाली रहेको अनुमान छ ।

दूतावासका अनुसार त्यस क्षेत्रमा सक्रिय दुईवटा सशस्त्र समूहसँग समन्वय गरेर स्क्याम सेन्टरमा पु¥याइएका मानिसको उद्धार भइरहेको छ । स्क्याम सेन्टर म्यान्माको राजधानी नेपिद र याँगौंबाट टाढा अनि बैंककबाट नजिक भएकाले थाइल्यान्डस्थित दूतावासले उद्धारमा सहजीकरण गरिरहेको हो ।

पछिल्लो समय स्क्याम सेन्टर सञ्चालन भएका क्षेत्रमा विद्युत् र इन्टरनेटको आपूर्ति कटौती गर्ने र सीमामा कडाइ गर्ने कार्य थाई सरकार र म्यान्मा सरकारले गरेपछि स्क्याम सेन्टरहरू बन्द भएको र नेपाली भागेर थाइल्यान्ड हुँदै आइरहेको बताइएको छ ।

आकर्षक अनलाइन जागिरको लोभमा अंग्रेजी र चिनियाँ भाषा जान्नेलाई थाइल्यान्डको बाटो हुँदै म्यान्मामा पु¥याएर साइबर ठगीका लागि उपयोग गर्ने गरेको बताइएको छ । उद्धार भएर आउनेहरूले अनलाइन माध्यममा ‘पिग बुचरिङ’ भनिने प्रेम ठगी, क्रिप्टो ठगी, गैरकानुनी जुवा र कालो धनसम्बन्धी काम गर्न बाध्य पार्ने गरेको बताए ।

गत वर्ष असारमा म्यान्माको स्क्याम सेन्टरमा पुगेका एक नेपालीले आफू फिरौती तिरेर नेपाल आउनुपरेको उजुरी नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा गरेका थिए ।

प्रहरीले ‘२६ बबरमहल १८९’ नाम दिएका ती पीडितले नेपालमा विभिन्न व्यापार व्यवसायमा संलग्न एक चिनियाँ नागरिकबाट राम्रो रोजगारीको प्रलोभनमा परेर आफू थाइल्यान्ड पुगेको दाबी गरेका थिए ।

चिनियाँ भाषाको दोभाषे साथीमार्फत चिनजान भएका ती चिनियाँले केही महिना नेपालमा काम लगाएर थाइल्यान्डमा कम्प्युटर टाइपिङसम्बन्धी रोजगारीमा लैजाने प्रस्ताव गरेको उजुरीमा उल्लेख छ । म्यान्मा पुगिसकेपछि सक्कल राहदानी र मोबाइल फोन जफत गर्ने, बन्धक बनाउने र विभिन्न सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङको काममा लगाउने गरेको पाइएको प्रहरीले उल्लेख गरेको छ ।

यस्तो काम गर्न नमान्ने पीडितलाई शारीरिक र मानसिक यातना दिने गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको थियो । त्यहाँ काम गर्न नसकी स्वदेश फर्किन चाहनेलाई फिरौती रकम माग गर्ने गरेको पनि पाइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीका अनुसार नेपाली काठमाडौंबाट सिधै बैंकक, काठमाडौंबाट कोलकाता हुँदै बैंकक र काठमाडौंबाट दुबई तथा अन्य अरब मुलुक हुँदै बैंकक पुग्ने गरेका छन् । यसरी जाने गरेका अधिकांश नेपाली पर्यटक भिसामा त्यहाँ पुग्ने गरेका पाइएको छ ।

उद्धार भएका केही नेपालीसँग राहदानी नभएको पाइएको छ । उनीहरूलाई स्वदेश फिर्ता गर्न सहजीकरण गरिदिन म्यान्माको विदेश मन्त्रालयले नेपाली दूतावाससँग अनुरोध गर्दै आएको छ । ।

म्यान्माको कयिन राज्यमा नेपाली मात्र नभई इथियोपिया, केन्या, बुरुन्डी, नाइजेरिया, तान्जानिया, घाना, कम्बोडिया, फिलिपिन्स, मलेसिया, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, चीन, इन्डोनेसिया, ताइवान, युगान्डा, लाओस र ब्राजिलका नागरिकसमेत रहेका पाइएको छ ।

सुरुमा मानव तस्करको प्रलोभनमा परी २ वर्षअघि अर्थात् २०७९ मंसिर महिनामा नेपाली युवाको एउटा समूह म्यान्मा पुगी अलपत्र परेको सार्वजनिक भएको थियो ।

तत्पश्चात् याँगौंस्थित नेपाली दूतावास र बैंककस्थित दूतावासमा उजुरीको चाङ परेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मानव तस्करहरूले जबर्जस्ती अवैध कार्यहरूमा लगाउने, राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायतका समस्या देखिएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

मानव तस्करहरूले अनलाइन जुवा, कल सेन्टर फ्रड, क्रिप्टोकरेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्महरूले बैंककमा रोजगारीका अवसरहरूको प्रलोभन देखाई युवाहरूलाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यान्मा लगी बन्दी बनाएर काम गर्न लगाएको पाइएको छ ।

थाइल्यान्ड र म्यान्मामा रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत विभिन्न स्थानका एजेन्टहरूद्वारा प्रस्तावित हुने भएकाले त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य स्रोतहरूमा प्रचार गरिएका नक्कली जागिरको प्रलोभनमा नपर्न पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न र रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म, कम्पनी वा रोजगारदाताका ’boutमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म, कम्पनी वा रोजगारदाताको वेबसाइट चेकजाँच गर्न पनि आग्रह गरिएको छ ।

तस्करहरूले थाइल्यान्ड र म्यान्माको सूचना प्रविधि (आईटी) क्षेत्रमा ‘डिजिटल सेल्स एन्ड मार्केटिङ एक्जुकेटिभ्स’का रूपमा रोजगारी दिने प्रलोभन नेपालीहरूलाई देखाउँदै आएका छन् ।

म्यान्माको कयिन प्रान्तको म्यावडी क्षेत्रमा अहिले म्यान्माको सेना र विद्रोही समूहबीच संघर्ष चलिरहेको छ । त्यस क्षेत्रलाई विद्रोहीहरूले कब्जामा लिएर आफ्नो आधिपत्यमा राज्य चलाइरहेका छन् ।

म्यान्माको म्यावडी क्षेत्रमा पुगी बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन, म्यान्मा र थाइल्यान्डमा रहेका नेपाली दूतावासमा सम्पर्क गर्ने गरेका छन् । तर पनि म्यान्मा आउने र ठगिने क्रम रोकिन सकेको छैन । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार