असार २२, २०८२ आइतबार July 6, 2025

कालीदास बाबाद्वारा हलेसी र कालिका भगवती मन्दिरको दर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज) ले शनिबार खोटाङको त्रि–धार्मिकस्थल हलेसी र दिक्तेल स्थित कालिका भगवती मन्दिरमा दर्शन तथा पूजापाठ गरेका छन् ।

दिक्तेलस्थित धार्मिक तथा पर्यटकीय स्थल कालिका भगवती मन्दिरको प्रचार–प्रसारका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिको आमन्त्रणमा उनी हेलिकोप्टरमार्फत खोटाङ आइपुगेका थिए ।

हलेसीको दर्शन पश्चात् कालीदास बाबाले दिक्तेलको मझुवा कालिका भगवती मन्दिरको दर्शन नगरेमा पूर्ण पुण्य प्राप्त नहुने बताए । उनका अनुसार, दूधकोशी नदीको शुद्ध जलले स्नान गरेर पहिलो चरणमा हलेसी महादेव मन्दिरको दर्शन गर्नुपर्ने र त्यसपछि दिक्तेलस्थित मझुवा कालिका भगवतीको दर्शन गरेमात्र पूर्ण पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । कालिका भगवती मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कालीदास बाबाले भने, “हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजनले दिक्तेलको कालिका भगवती मन्दिरसमेत पुग्नुपर्छ ।

यसरी गरिएको पूजाअर्चनाले मात्रै भक्तजनको मनोकांक्ष पूरा हुने धार्मिक ग्रन्थमा लेखिएको छ ।” उनले थप उल्लेख गरे, “जसले हलेसी मन्दिरको दर्शन गरेर कालिका भगवतीको दर्शन गर्छ, उसले मात्र पुण्य कमाउँछ ।” धर्मग्रन्थमा समेत हलेसी र कालिका भगवतीको बीचमा घनिष्ठ सम्बन्ध रहेको उल्लेख भएकाले आगामी दिनमा हलेसीको दर्शनपछि दिक्तेलको मझुवा कालिका भगवतीको दर्शन अनिवार्य रूपमा गर्न उनले भक्तजन तथा दर्शनार्थीलाई आग्रह गरे ।

सयौँ भक्तजनको उपस्थितिमा कालीदास बाबाले कालिका भगवतीको दर्शन तथा पूजाआजा गरेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिले कालीदास बाबालाई कार्यक्रममा सम्मान गर्नुका साथै मायाँको चिनो समेत प्रदान गरेको थियो । नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार, विश्वप्रसिद्ध कालीदास बाबाको दर्शन र पूजापाठले कालिका भगवती मन्दिरको प्रचार–प्रसारमा ठूलो टेवा पुगेको छ ।

ऐतिहासिक तथ्य अनुसार, वि.सं. १७५० मा रणवीर राई र विरञ्ची आचार्यले एउटै किसिमको सपना देखेपछि मझुवामा गएर हेर्दा कालिका भगवती पत्ता लागेको इतिहास छ । किरात ऐतिहासिक स्थल मझुवागढी नजिकै रहेको कालिका भगवती मन्दिरमा मनोकांक्ष पूरा होस् भनेर वर्षेनी हजारौँको संख्यामा बाख्राको पाठी बलि दिने धार्मिक परम्परा रहिआएको छ । करिब एक घण्टा कालिका भगवती मन्दिर परिसरमा बिताएपछि कालीदास बाबाले हेलिकोप्टरबाट त्रि–धार्मिकस्थल हलेसी पुगेर त्यहाँको पनि दर्शन गरे । हलेसीमा उनलाई हलेसी तुवाचुङ नगरपालिका र हलेसी विकास समिति तथा मन्दिर व्यवस्थापन समितिले बाजागाजासहित स्वागत गरेको थियो ।

हलेसी मन्दिरको प्रमुखद्वारमा आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै कालीदास बाबाले त्रि–धार्मिकस्थल हलेसी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । दिक्तेल र हलेसीको धार्मिक यात्रा सम्पन्न गरेपछि कालीदास बाबा शनिबार नै काठमाडौँ फर्किएका छन् ।राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार