असार २३, २०८२ सोमबार July 7, 2025

शैक्षिक क्षेत्रको विकासमा उत्कृष्ट ३६ जना सम्मानित

उत्कृष्ट कार्य सम्पादनका आधारमा पालिकाले गरेको सिफारिसका आधारमा सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले गुल्मी जिल्लाको शैक्षिक क्षेत्रको विकासमा उत्कृष्ट काम गर्ने ३६ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।

जिल्लाका १२ स्थानीय तहका १९ शिक्षक, आठ विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र नौ विद्यालय कर्मचारीलाई नगद ५ हजार रुपियाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

उत्कृष्ट कार्य सम्पादनका आधारमा पालिकाले गरेको सिफारिसका आधारमा सम्मान गरिएको कार्यालय प्रमुख मित्रमणी गौतमले बताउनुभयो । शिक्षक, कर्मचारी र समितिलाई प्रोत्साहन र उर्जा प्रदान गर्न सम्मानले टेवा पुग्ने विश्वास आफुहरुको रहेको गौतमको भनाइ छ ।

शैक्षिक विकासका लागि कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । सम्मानित हुने लक्ष्मीपुर मावि सत्यवति गाउँपालिका –२ का शेरबहादुर कुँवरले कार्यालयको सम्मानप्रति खुसी व्यक्त गर्दै ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

मालिका गाउँपालिका –८ स्थित थानपति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खड्कालाई पनि सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले सम्मान गरेको छ । उहाँले सामुदायिक संस्था राम्रो बनाउन आफूले सञ्चालन गरेको अभियानलाई अझै मूर्तरुप दिन सम्मानले उर्जा प्रदान गरेको बताउनुभयो ।

विभिन्न व्यक्तिलाई सम्मान गर्दै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले अवको प्रमुख आवश्यकता शिक्षा र स्वास्थ्य भएकाले तीनै तहका सरकारको ध्यान पुग्ने आवश्यक रहेको बताउनुभयो । उहाँले सामुदायिक बिद्यालय राम्रो बनाउन लागेका व्यक्तिलाई कार्यालयले गरेको सम्मानले अरुलाई पनि उर्जा प्राप्त भएकाले अझै राम्रो परिणामको आशा व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया