असार २३, २०८२ सोमबार July 7, 2025

विद्यालय शिक्षा विधेयक तत्काल अघि बढाउन आग्रह

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा हाल दफावार छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ चैतः विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरुले विद्यालय शिक्षा विधेयक दु्रत गतिमा अघि बढाउन सम्बन्धित समितिसमक्ष अनुरोध गर्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापासहितको छलफलका क्रममा प्रमुख दलका प्रमुख सचेतकले उक्त आग्रह गर्नुभएको हो ।

साथै उहाँहरुले त्यसमा आफ्नो दलको पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । त्यस अवसरमा मन्त्री भट्टराईले सो विधेयक शीघ्र टुङ्गोमा पुर्याउन उपसमितिमार्फत काम भइरहेको उल्लेख गर्दै सहयोगका लागि सबै दलसँग आग्रह गर्नुभयो ।

त्यसअवसरमा शिक्षक आन्दोलनका विषयमा समेत छलफल भएको थियो । सहभागी प्रमुख सचेतकहरुले शिक्षकहरूसँग यसअघि सरकारले गरेका सम्झौताहरूलाई विधेयकमा सम्बोधन गर्न सुझाव दिनुभयो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा हाल दफावार छलफल भइरहेको छ । समितिका सभापति थापाले यस विषयमा थप छलफल गरी विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का प्रमुख सचेतक हीतराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी हुनुहुन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया