असार २१, २०८२ शनिबार July 5, 2025

पूर्वराजावादी अराजनीतिक प्रदर्शन: दुई जनाको मृत्यु, ठुलो क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  पूर्वराजावादी समूहले काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन अराजक हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीको अराजक भिड आगजनी, तोडफोड र लुटपाटमा उत्रिँदा पनि सौम्य रहेर स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कफ्र्यु आदेश गरेसँगै सेना परिचालन गरिएको छ ।

प्रदर्शनकारीले लगाएको आगोमा परी एभिन्युज टेलिभिजनका क्यामेरामेन सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ । निजी घर, सवारीसाधनमा आगजनी साथै पसलमा लुटपाटमा भएको क्षतिको आकलन हुन सकेकोे छैन । ५६ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको सो घटनाका केही उत्प्रेरक राज्य नियन्त्रणमा परिसकेका छन् ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उक्साहटमा रहेको समूहले गरेको प्रदर्शनमा प्रसाईं स्वयम्ले सुरक्षार्थ तैनाथ प्रहरीकै हत्या गर्ने उद्देश्यले प्रहरीमाथि नै गाडी चलाउन थालेपछि अवस्था तनावपूर्ण बनेको थियो । राजावादी समूहले शुव्रmबार काठमाडौँको तीनकुनेमा शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि उत्तेजित भिड अशान्त र अराजक बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले समान्य बल प्रयोग गर्नुपरेको थियो । गृह मन्त्रालयका अनुसार प्रदर्शनकारी अराजक बनी निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनीसँगै लुटपाटमा उत्रिएपछि अवस्था सामान्य बनाउन स्थानीय प्रशासनले आसपासका क्षेत्रमा दिउँसो ४ बजेर २५ मिनेटदेखि शनिबार विहान ७ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँबानेश्वर चोकदेखि शङ्खमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कफ्र्यु आदेश जारी भएको हो । कफ्र्यु आदेशपछि ती क्षेत्रमा आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ । कफ्र्यु आदेशसँगै स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेना पनि परिचालन गरिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश आचार्यले भन्नुभयो “तीनकुनेमा प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंले नै प्रहरीमाथि लक्षित गरी गाडी हुइँक्याउने र निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड भएको छ । आयोजकले नै प्रदर्शन भड्काउन खोजेको देखिन्छ ।” प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्दै तीनकुने सिनामङ्गल, कोटेश्वर क्षेत्रका निजी घरमा तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट, समाजवादी पार्टी आलोकनगरको कार्यालयमा पनि ढुङ्गामुढा गरे । तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी र तोडफोड गरे ।

प्रदर्शनकारीले तीनकुने निजी घरमा लागेको आगो निभाउन पुगेको जुद्ध वारुणयन्त्रको दमकल, कोटेश्वरमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका लागि प्रयोग गरिने गाडीमा आगजनी गरे । अराजक भिडले कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केट तोडफोड गरी लुटपाट पनि गरे । राजावादी समूहको प्रदर्शनले हिंसात्मक रूप लिएपछि सुरक्षा अवस्थाबारे सरकारले चार वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग ब्रिफिङ लिएको थियो । गृहमन्त्री रमेश लेखकसँगै प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले शुव्रmबार साँझ प्रधानमन्त्री निवास बालुवाटर पुगेर घटनाबारे जानकारी गराउनुभयो ।

राजावादीको प्रदर्शन लज्जास्पद 

गृह मन्त्रालयले राजावादीले तीनकुनेमा गरेको प्रदर्शनलाई हिंसात्मक अराजकताको पराकाष्ठा भनेको छ ।  मन्त्रालयले शुव्रmबार पत्रकार सम्मेलन गरी शान्तिपूर्ण प्रदर्शनको नाममा गरिएको आगजनी तोडफोड र लुटपाटका घटना सभ्य मुलुकका लागि लज्जाको विषय भएको जनाएको छ । मन्त्रालयका सहसचिव छवि रिजालले राजनीतिक र वैचारिक आन्दोलन नभई हिंसात्मक प्रदर्शन भएको र यसमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो ।

उहाँले लोकतान्त्रिक समाजमा आफ्ना विचार राख्न पाउने हरेक व्यक्ति र समूहलाई स्वतन्त्रता भए पनि राजावादी समूहले यसको दुरुपयोग गरेकाले उसका आगामी गतिविधिमाथि सरकारले कडा निगरानी राख्ने र घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताउनुभयो । आजको यो स्थिति आउनुमा राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं मुख्य जिम्मेवार रहेका उहाँको भनाइ छ । व्यक्तिको मृत्युदेखि सञ्चारगृहहरू तोडफोड, राजनीतिक दलका पार्टी कार्यालय तोडफोड र आगजनी तथा व्यापारिक भवनमा दिनदहाडै लुटपाट, आगजनीका घटना क्षमायोग्य घटना नभएकाले कानुनबमोजिम कारबाही प्रव्रिmया अघि बढाइने उहाँले बताउनुभयो ।

राप्रपा वरिष्ठ नेता मिश्र र महामन्त्री राणा पक्राउ 

प्रहरीले प्रदर्शन भड्काएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको छ । प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं फरार रहेकाले प्रहरीले खोजीकार्य जारी राखेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभियानका संयोजक बनाइएका वृद्ध नवराज सुवेदीलाई घरमै नियन्त्रणमा राखेको छ । त्यसै गरी प्रदर्शन भड्काउने मुख्य व्यक्ति स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बूलगायत पाँच जनासमेत प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ

हिंसात्मक घटनाको छानबिन गरिने 

राजावादी समूहले गरेको प्रदर्शनका व्रmममा गरेको तोडफोड आगजनी तथा लुटपाटका घटनाबारे सरकारले छानबिन गर्ने निर्णय भएको छ । शुव्रmबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा आकस्मिक रूपमा बसेको मन्त्रीपरिषद् बैठकले प्रदर्शनका व्रmममा भएको तोडफोड, आगजनी र मृत्युको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हिंसात्मक तथा अराजक गतिविधिप्रति भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस्तो घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “शान्तिपूर्ण रूपमा भनी आयोजना गरिएको प्रदर्शन हिंसात्मक बन्दा दुई जना युवाको दुःखद निधन भएको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रदर्शनमा घाइते हुनुभएका सबै जनाको शीघ्र स्वास्थ्यलाभसहित निःशुल्क स्वास्थ्य व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।’’ मन्त्रीपरिषद् बैठकले अराजक र हिंसात्मक घटनामा सहभागी नहुन पनि सर्वसाधारणलाई अपिल गरेको छ । यस्तै सरकारले म्यानमार केन्द्रविन्दु भएर गएको भूकम्पका कारण थाइल्यान्डलगायतका देशमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार