काठमाडौँ, चैत १७ गते । सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको विधेयक राष्ट्रिय सभाबाट समयसीमाभित्र पारित गर्न एक दिन मात्रै बाँकी रहँदा अध्यादेश निष्क्रिय हुने जोखिम बढेको छ । प्रतिपक्षी दलले लगातार तीन वटा बैठकमा अवरोध जनाएपछि माथिल्लो सदनको कामकारबाही नियमित नहुँदा विधेयक निर्णयार्थ प्रस्तुत भएको छैन ।
सरकारले माघ १८ गते राष्ट्रिय सभामा पाँच वटा अध्यादेश पेस गरेको थियो । संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयक चैत १८ गतेभित्र प्रमाणीकरण भइसक्नुपर्ने छ । तर राष्ट्रिय सभामा पाँच वटै विधेयक निर्णयार्थ पेस हुन सकेको छैन ।
सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको अर्को बैठक चैत १७ गते आइतबार बिहान ११ बजेर १५ मिनेटका लागि निर्धारण गरिएको छ । बैठकले पाँच वटै विधेयक पारित गरे मात्रै प्रमाणीकरणका लागि सचिवालयले राष्ट्रपतिसमक्ष पठाउने छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक गोपीबहादुर सार्की अछामीले सदनको अवरोध हटाउनेसम्बन्धमा छलफल चलिरहेको तर सहमति नभएको बताउनुभयो । सत्तापक्षले विधेयक निष्क्रिय हुने भएकाले सहमति कायम गरेर अगाडि बढ्न आग्रह गर्दै आएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले भन्नुभयो, “प्रतिस्थापन विधेयक समयभित्र पारित नभए पक्ष र प्रतिपक्षलाई नभई सिङ्गो राष्ट्रिय सभा दायित्वबाट पन्छिएको सन्देश जाने छ । यसलाई सबैले बुझ्न जरुरी छ ।”
प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्रीपरिषद्को निर्णयबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र प्रतिस्थापन विधेयकमा संशोधन नभएसम्म बैठक अवरोधबिना सञ्चालन हुन नसक्ने अडान राख्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो विषयमा प्रतिनिधि सभाको सोमबारका लागि निर्धारित बैठकमा सम्बोधन गर्ने सहमति दलहरूबिच भएको छ । तर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले राष्ट्रिय सभामा समेत प्रधानमन्त्रीको जवाफ मागेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक अछामीले राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन हुनुपर्ने अडान कायमै रहेको बताउनुभयो ।
विधेयकमा संशोधन दर्ता
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त पाँच वटै विधेयकमाथि राष्ट्रिय सभामा करिब दस वटा संशोधन परेका छन् । सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा दुई वटा, निजीकरण (पहिलो संशोधन) विधेयक–२०८१ मा दुई वटा र सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१ माथि तीन वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिनुभयो ।गोखापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया