सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) को केन्द्रीय क्याम्पसमा आज सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुँदैछ ।
यसअघि पटक पटक चुनावी कार्यतालिका सार्वजनिक भए पनि स्थगित हुँदै आएको थियो । यसपटक ९ वटा विद्यार्थी संगठन चुनावी मैदानमा होमिएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, राप्रपा, नेमकिपा, मसाल, धर्मेन्द्र बास्तोलाको नेकपा बहुमत, नेक्रविक्रम चन्द ‘विप्लव’ को नेकपा लगायतका दल निकट विद्यार्थी संगठनसंगै स्वतन्त्र विद्यार्थी पनि प्रतिष्पर्धामा छन् ।
एमयूमा यसपटक सबै विद्यार्थी संगठन एक्लाएक्लै प्रतिष्पर्धा गर्दैछन् । यस हिसाबले दलहरूले समेत प्रतिष्ठाको विषय बनाएका छन् । नेविसंघबाट सभापति पदमा विवेक खड्काको उम्मेदवार छन् । उनको टिमबाट सचिवमा भूपेन्द्र आचार्य र कोषाध्यक्षमा लोकप्रसाद रिजाल छन् । अनेरास्ववियुबाट सभापति पदमा जगतजगं शाही, सचिवमा भूपेन्द्र भण्डारी र कोषाध्यक्षमा विक्रमसिं मन्दिर मगरको उम्मेदवारी छ । अखिल (क्रान्तिकारी) बाट सभापति पदमा प्रकाश विक, सचिवमा मोहन चौलागाई र कोषाध्यक्षमा दीपबहादुर सुनार छन् । यहाँ मुख्य गरी नेविसंघ र अनेरास्ववियुबीच नै प्रतिष्पर्धा हुने बताइएको छ । विश्वविद्यालयका केन्द्रीय क्याम्पसमा ४ हजार ३८३ मतदाता रहेका छन् ।
स्ववियु निर्वाचन कार्यविधिमा ३ पदाधिकारी (अध्यक्ष, सचिव र कोषाध्यक्ष) र १४ जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्यस्तै ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने व्यवस्था छ । कार्यसमिति बैठकले १४ जना निर्वाचित सदस्यहरूमध्ये एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था रहेको छ । २०७३ भदौमा भएको निर्वाचनमा नेविसंघका झक्कबहादुर शाही स्ववियु सभापति पदमा निर्वाचित भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया