कार्तिक २२, २०८३ आइतबार November 8, 2026

गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए

नगरभित्र सञ्चालित विद्यालयमध्ये १४ वटा सामुदायिक विद्यालयमा एक सयभन्दा कम विद्यार्थी रहेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नवलपुर (नवलपरासी), ५ वैशाखः नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्रका दुई वटा आधारभूत विद्यालय गाभिएका (मर्ज) छन् । गैँडाकोट-३ मा रहेको मङ्गलादेवी आधारभूत विद्यालय र गैँडाकोट-५ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई नजिकै रहेका विद्यालयसँग गाभिएको हो ।

गैँडाकोट नगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद अधिकारीका अनुसार वडा नं ३ को मङ्गलादेवीमा नौ जना मात्रै विद्यार्थी हुँदा सोही वडाको कृष्णगण्डकी माध्यमिक विद्यालयसँग गाभिएको हो । त्यस्तै गैँडाकोट–५ को सरस्वती आधारभूत विद्यालयबाट अर्को विद्यालय दुई सय मिटरको दूरीमा भएपछि जनक नमूना माध्यमिक विद्यालयसँग गाभिएका उहाँले जानकारी दिनुभयो ।

भौगोलिक हिसाबले नजिकै भएका तथा विद्यार्थी सङ्ख्या थोरै भएका सामुदायिक विद्यालयलाई एकआपसमा गाभेर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य रहेको अधिकारीले बताउनुभयो ।

“नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि एउटा कार्यदल गठन गरिएको थियो”, उहाँले भन्नुभयो, “सोही कार्यदलको प्रतिवेदनका आधारमा थप विद्यालय पनि मर्ज हुने तयारीमा छन् ।”

नगर कार्यपालिकाको निर्णयअनुसार नगर शिक्षा अधिकारी डा बालकृष्ण चापागाईंको संयोजकत्वमा पाँच सदस्यीय ‘विद्यालय शिक्षा संरचना व्यवस्थापन तथा शैक्षिक सुधार सुझाव कार्यदल’ गठन गरिएको थियो । यस कार्यदलले पेस गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्न कार्यविधि र नियम बनाएर काम भइरहेको अधिकारीले जानकारी दिनुभयो ।

कार्यदलले विद्यालय समायोजन, दरबन्दी समायोजन, कक्षा स्तरोन्नति तथा कक्षा घटुवा, आवासीय विद्यालय सञ्चालनलगायत विषयमा सुझाव पेस गरेको कार्यदल संयोजक एवं नगर शिक्षा अधिकारी चापागाईंले जानकारी दिनुभयो ।

“भौगोलिक रूपमा विकट भएका वडा नम्बर ३ र १८ मा विद्यार्थी सङ्ख्या बढाउन तथा शैक्षिक गुणस्तर वृद्धि गर्न आवासीय विद्यालय सञ्चालन र कक्षा घटुवा गर्नेगरी प्रतिवेदन दिएका छौँ”, उहाँले भन्नुभयो, “यी दुई पहाडी वडामा रहेका विद्यालय मर्ज गरेर जाँदा विद्यार्थीलाई पढ्न कठिन हुने भएकाले विद्यार्थीको सुविधाका लागि कक्षा घटुवा तथा आवासीय विद्यालय निर्माण गर्ने प्रतिवेदन दिएका हौँ ।”

वडाका अन्य स्थानमा भने सरकारले जारी गरेको नियमअनुसार विद्यालय समायोजन गर्ने तयारी गरिएको चापागाईंले बताउनुभयो । उहाँका अनुसार १८ वटा वडा रहेको गँैडाकोट नगरपालिकामा ३५ सामुदायिक विद्यालय छन् । नगरभित्र सञ्चालित विद्यालयमध्ये १४ वटा सामुदायिक विद्यालयमा एक सयभन्दा कम विद्यार्थी रहेका उल्लेख गर्दै नगर शिक्षा अधिकारी चापागाईंले त्यसमध्ये ५० भन्दा कम विद्यार्थी हुने विद्यालय आठ वटा रहेका जानकारी दिनुभयो ।

एक सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयमा सात सय ८६ विद्यार्थी अध्ययनरत छन् । ती विद्यालयमा ६२ जना शिक्षक कार्यरत रहेका जनाउँदै विद्यार्थी भर्ना अभियान जारी गएर विद्यार्थी सङ्ख्या बढाउनुपर्ने अवस्था रहेको चापागाईंले बताउनुभयो ।

शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर एक, पहाडमा ४५ विद्यार्थी बराबर एक र तराई एवं उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने व्यवस्था उल्लेख गरेको छ । अहिले सरकारले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न भने पनि सामुदायिक विद्यालयका शिक्षक सङ्घीय राजधानी काठमाडौँ केन्द्रित प्रदर्शनमा हुँदा विद्यार्थी भर्ना अभियान सुरु हुन सकेको छैन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार