धनगढी । कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले २५ जनालाई पूर्ण छात्रवृत्ति दिने भएको छ । पाठशालाले ‘चैतन्य टप २५ छात्रवृत्ति योजना २०८२’ सार्वजनिक गर्दै ११ र १२ कक्षामा २५ जनालाई पूर्ण छात्रवृत्ति दिने भएको हो ।
आइतबार पाठशालामा आयोजित एक कार्यक्रममार्फत सुदूरपश्चिम क्षेत्रका आर्थिक रूपमा कमजोर २५ जना जेहेन्दार विद्यार्थीलाई कक्षा ११ र १२ मा निःशुल्क शिक्षा प्रदान गर्ने जनाएको छ । पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीका अनुसार छात्रवृत्तिको कूल रकम ६० लाख रुपैयाँ बराबरको हुनेछ ।
शैक्षिक सत्र २०८२ बाट सुरु हुने विज्ञान संकायमा प्लस टु कक्षा सञ्चालनसँगै यो योजना लागु गरिने छ । ‘छात्रवृत्तिका लागि एसइई परीक्षाफल प्रकाशित भएपछि प्रतिस्पर्धात्मक प्रवेश परीक्षामार्फत विद्यार्थीहरू छनोट गरिने छ,’अध्यक्ष जोशीले भने, ‘छात्रवृत्तिमा छानिएका विद्यार्थीहरूलाई वर्षभरिको मासिक शुल्क तथा ल्याब शुल्क निःशुल्क हुनेछ भने वार्षिक शुल्क मात्रै तिर्नुपर्नेछ ।’
त्यस्तै, कार्यक्रममा चैतन्य पाठशाला र नेपाल महर्षि वैदिक फाउण्डेसनबीच सचेतनामा आधारित शिक्षाको प्रवद्र्धनका लागि द्विपक्षीय साझेदारी पनि गरिएको छ । उक्त साझेदारी अन्तरगत भावातीत ध्यान, वैदिक विज्ञान, योग, वास्तु, आयुर्वेद लगायतका विधालाई शिक्षण प्रक्रियामा समावेश गर्दै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा टेवा पु¥याइने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नेपाल महर्षि वैदिक फाउण्डेसनका अन्तर्राष्ट्रिय डाइरेक्टर राजा किंग्स्ले, निर्देशक मीनराज अधिकारी, चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीसहित अभिभावक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया