बैसाख २१, २०८३ सोमबार May 4, 2026

‘बाढीपहिरोको समस्या समाधान गर्न पूर्वतयारीलाई तीव्रता दिनुपर्छ’: सांसद, मोहन बहादुर बस्नेत (अन्तवार्ता)

मलाई सिन्धुपाल्चोकका जनताले पार्टीभन्दा पनि मेरो कामको आधारमा मतदान गरेका हुन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३१ वैशाख । प्रतिनिधिसभाका सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाउँमा बर्खाको समयमा हुने बाढीपहिरोबाट क्षति रोक्नका लागि सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद बस्नेतले बाढीपहिरो र भूकम्पबाट सिन्धुपाल्चोक जिल्ला सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै सरकारले प्राकृतिक विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारीलाई तीव्रता दिनुपर्नेमा जोड दिए । प्रतिनिधिसभाका सदस्य बस्नेतसँग राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

तपाईं पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ, पटक पटक मन्त्री पनि बन्नुभयो, अहिले प्रतिनिधिसभाको सदस्य पनि हुनुहुन्छ ? तपाईं तीन पटकसम्म मन्त्री बन्दैगर्दा देश र जनताको निम्ति के गर्नुभयो ?

– म पछिल्लो पटक स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हुँदा जनताको पक्षमा धेरै काम गरेको छु । नेपालमा मेडिकल शिक्षा एकदम राम्रो छ । नेपालको इञ्जिनियरिङ पनि राम्रो छ । साउथ एसियामा उत्कृष्टमा पर्छ । म मन्त्री हुँदा एउटा आठ अर्बको ग्लोबल कोष थियो । त्यो कोषलाई मलेरिया र एचआइभी एड्सको न्यूनीकरणका लागि खर्च गरिएको रहेछ । त्यो पैसामध्ये सेभ दि चिन्डे«नले रु तीन अर्ब जति कार्यान्वयन गरेको छैन । त्यो पैसा मैले राज्यको ढुकुढीमा ल्याएको छु ।

नेपालमा ठूला नेताहरू सामान्य बिरामी हुँदा पनि विदेश जाने चलन छ । तर गरिबलाई ठूलो रोग लाग्दा पनि देशभित्रै पनि उपचार नपाउने अवस्था छ । नेपालमा चिकित्सकहरू दुर्गम क्षेत्र जान नमान्ने समस्या थियो । मैले कसैले भनेको नमानेर करिब आठ सय चिकित्सकलाई दुर्गममा काज फिर्ता गराएको थिएँ । विशिष्ट र अतिविशिष्टको निम्ति भनेर मैले वीर अस्पतालमा उपचारका लागि व्यक्तिगत कक्ष (क्याबिन) हरू बढाइदिएँ । त्यसको निम्ति १७ जना चिकित्सकको समूह बनाइदिएँ । ती १७ जनाले विदेश जानुपर्छ भनेर सिफारिस गरेमात्रै विशिष्ट र अतिविशिष्ट उपचारका लागि विदेश जान पाउने व्यवस्था पनि मैले नै गरेको हो । यदी विशिष्ट र अतिविशिष्ट आफ्नै ढङ्गले विदेश उपचार गर्न गएमा त्यसको खर्च सरकारले ब्यहोर्न नसक्ने निर्णय पनि गरेको थियो ।

त्यसपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा मन्त्रीलगायत विशिष्ट र अतिविशिष्ट व्यक्ति सरकारको खर्चमा विदेश जाने गरेका छैनन् । गए पनि आफ्नै व्यक्तिगत खर्चमा जाने गरेका छन् । सङ्घीय अस्पतालमा तीन हजार ५२३ सामान्य शय्याको व्यवस्था गरेको छु । चार प्रदेशका सबै सामान्य शय्या (जनरल बेड) निःशुल्क बनाइदिएको छु । सबै खाले अस्पतालमा १० प्रतिशत उपचारसहितको शय्या निःशुल्क गरिदिएको छु ।

तपाईं सिन्धुपाल्चोकको जनप्रतिनिधि हुनुहुन्छ, यो जिल्लाले बर्सेनि बाढी, पहिरोको समस्या झेलिरहेको हुन्छ, बाढीपहिरो पहिरोको दीर्घकालीन समाधानको निम्ति तपाईले के–कति काम गर्नुभयो ?

– पहिलापहिला एकीकृत विकास आयोजना भन्ने हुन्थ्यो । बाढी र पहिरोग्रस्त ठाउँबाट बसाइँ सार्नुपर्छ भनेर ती ठाउँलाई ‘रेडजोन’ घोषणा गर्ने काम पनि भयो । स्टिकर टाँस्ने काम पनि भयो । तर, हाम्रो पहाडमा अलिकति जग्गा जमिन भयो भने त्यहाँ खेतीपाती गर्ने, गाईवस्तुपालन गर्ने, कृषि व्यवसाय गर्नुपर्ने भएकाले कुनै एक ठाउँमा बसाइँ सारेर घरमात्रै बनाइदिएर नहुँदो रहेछ । एकीकृत बस्ती बसालेको ठाउँबाट मानिसले घर छोड्दै हिँड्न थालिसके । किनभने बसाइँ सारेसँगै रोजगारीको कुरा पनि सँगसँगै आउँदो रहेछ । यो सिन्धुपाल्चोकमा मात्रै होइन, बाढी र पहिरो प्रभावित अन्य जिल्लामा पनि अवस्था त्यस्तै छ । जोखिम भएका ठाउँबाट अन्यत्र सार्ने तर उनीहरूलाई रोजगारी वा व्यवसायको कुनै व्यवस्था नहुँदा समस्या हुने गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला पानी परिरहने ठाउँ हो । भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्ला हो । दीर्घकालीन समाधानको कुरा गर्दा, सरकारले उचित व्यवस्थापन गर्न नसकेको कारणले अहिले पनि खतराहरू छन् । त्यसका लागि सरकारले नयाँ ढङ्गले सोच्नुपर्छ । सरकारसँग कुनै पनि विपद्को पूर्वतयारी छैन । भूगोल हेरेर बस्ती सार्ने र उनीहरूका लागि रोजगारीको व्यवस्था गर्नु नै दीर्घकालीन समाधान हुन्छ । त्यसको लागि मैले पटकपटक संसद्मा कुरा उठाइरहेको छु । सरकारलाई पनि भनिरहेको छु । बस्ती सारेर मात्रै हुँदैन । त्योसँगै व्यवसाय, शिक्षा, स्वास्थ्यको सुविधा पनि हुनुपर्छ ।

त्यसकारण सिन्धुपाल्चोकको बाढी र पहिरोको समाधानको निम्ति सरकारले ‘प्याकेज’ विशेष योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । हाम्रो समस्या भइसकेपछि मात्रै तात्ने बानी छ । हुनसक्ने जोखिमको पूर्वतयारी हुँदैन । प्राकृतिक विपद्लाई रोक्न सकिँदैन । तर बस्तीलाई अन्यत्र सार्न सकिन्छ । मानवीय र भौतिक क्षतिबाट जोगाउन सकिन्छ ।

देशको व्यवस्था परिवर्तन भएको छ, तर जनताको अवस्थामा खासै परिवर्तन भएको देखिँदैन, युवा पलायन बढ्दो छ, यो युवा पलायन रोक्न सरकारले के गर्नुपर्छ होला ?

– हामीले युवा पलायनको समस्यालाई सजिलै रोक्न सक्छौँ । तर, हाम्रोमा सकारात्मक काम गर्दा पनि विरोध गर्ने संस्कार विकास हुँदै गएको छ । जति सुकै सकारात्मक काम गरे पनि विरोध गर्नैपर्ने हुन्छ । एकले अर्कालाई विरोध गर्नैपर्ने परिपाटी छ । युवा पलायन तीन थरीका छन् । एउटा शैक्षिक योग्यता भए पनि बेरोजगार भएका, अर्को गुणस्तरीय शिक्षा र अर्को रोजगारीको सिलसिला हो । अध्ययनको निम्ति पलायन भएको जनशक्ति धेरै ठूलो छ । नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जाने क्रममा वार्षिक रुपमा खर्बांै रुपैयाँ नेपालको बाहिर गइरहेको छ । यसलाई रोक्न देशमा गुणस्तरीय शिक्षाको विकास गर्नुपर्छ । देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्छ ।

सुशासनको निम्ति सरकारलाई तपाईंको सुझाव के छ ?

– सबैभन्दा पहिला सुशासन भनेको के हो भन्ने कुरामा प्रष्ट हुनुपर्छ । मन्त्रीहरू मिलेर सरकारको काम गर्ने हो । मन्त्रीले आफूसँग आएको फाइल राम्रोसँग पढ्नुप¥यो । मन्त्री कार्यालयमा नियमित उपस्थित हुनुपर्छ । आफ्नो मन्त्रालयको बारेमा जानकारी राख्नुप¥यो । जनताको पक्षमा काम गर्नुप¥यो । भ्रष्टाचार गर्न भएन । पहिला मन्त्री आफू ठीक ठाउँमा बसेपछि सबै नकारात्मक काम गर्नेलाई तह लगाउन सकिन्छ । आफू ठीक ठाउँमा नबसेर अरुलाई मात्रै काम लगाएर सुशासन हुँदैन ।

अहिले सचिवले मन्त्रीलाई टेरेन भन्छन । खै मलाई त सबैले टेरेकै थिए । सुशासनको सवालमा व्यक्तिअनुसार पनि हुन्छ । आफू कार्यालयमा नबसेर अरुलाई काम लगाएर हुँदैन । म मन्त्री हुँदा बिहान ८ बजेदेखि राति ११ बजेसम्म मन्त्रालयमै बसेको छु । त्यसकारण आफू ठालु पल्टिएर अरुलाई मात्रै काम अराएर हुँदैन । मन्त्रीको विभाजन पनि प्रष्ट हुनुपर्छ सुशासनको निम्ति ।

प्रतिनिधिसभाको सदस्य हुँदा अनुभव सुनाइदिनुस् न ?

– संसद्को मेरो पुरानै अनुभव छ । यद्यपि अहिले पछिल्लो समयको साढे दुई वर्षको अनुभव हेर्ने हो भने संसद्मा विभिन्न नयाँ राजनीतिक दलको सहभागिता उल्लेख्य छ । पहिलेको तुलनामा अहिले युवाको सङ्ख्या बढेको छ । युवाहरू संसद्मा आएपछि प्रभावकारिता बढ्छ होला भन्ने लागेको थियो । तर संसद्मा रहेका साना वा ठूलो सबैलाई सत्तामै जान हतार हुँदो रहेछ । संसद्ले जुन जोडतोडका साथ काम गर्नुपर्ने हो, त्यसरी काम गर्न सकेको छैन । राजनीतिक दल, सरकार वा सांसद सबैलाई मार्गनिर्देश गर्ने भनेको संविधान, ऐन÷कानुन र नीति नियमनै हो । त्यो कुरालाई जुन ढङ्गबाट अगाडि सरेर लाग्नुपर्ने हो, त्यसमा अलिअलि कमि भएको हो कि जस्तो लाग्छ ।

तपाईंले आफ्नो निर्वाचन क्षेत्रको निम्ति गर्नुभएको मुख्य मुख्य कामहरू के–के हुन् ?

– सैद्धान्तिक र वैचारिक एउटा पाटो हो । तर मलाई सिन्धुपाल्चोकका जनताले पार्टीभन्दा पनि मेरो कामको आधारमा मतदान गरेका हुन् । सडकको संरचना व्यापक रूपमा निर्माण भनइकन विकासले गति लिन सक्दैन । म मन्त्री भएपछि विशेष गरी सिन्धुपाल्चोक जिल्लाको एक-दुईबाहेक अधिकांश सडकमा कालोपत्रे भएको छ । अरनिको राजमार्ग २०२२ सालमा बन्यो ।

२०५६ सालमा त्यो बाटोमा कालोपत्र गर्ने काम मैले नै गरेको हो । म अहिलेसम्म तीन पटक मन्त्री बन्दा सिन्धुपाल्चोकको खानेपानी आयोजना, शिक्षा, स्वास्थ्य, सडक निर्माण, अस्पताल निर्माण, सिँचाइको काम गरेको छु । जनप्रतिनिधि नहुँदा पनि मैले ३२ वर्षसम्म स्वयंसेवकका रूपमा जिल्लाको निम्ति काम गरेको छु । चीनसँगको व्यापारलाई व्यवस्थित गर्ने विषयमा निगत ४० वर्षदेखि काम गर्दै आएको छु ।

संविधानको कार्यान्वयन र संशोधनको विषयलाई कसरी हेर्नुभएको छ ?

– संविधानको कार्यान्वयन जति हुनुपर्ने हो, त्यति हुन सकेको छैन । अझै पनि सङ्घीयतासँग जोडिएका शिक्षा, निजामीत र प्रहरीसम्बन्धी कानुन बन्न सकेका छैनन् । संविधान संशोधन सामान्य विषय होइन । दुई तिहाइ मात्रैभन्दा पनि संशोधनलाई सर्वसम्मतिबाट लैजानुपर्छ । सुशील कोइराला प्रधानमन्त्री हुँदा जसरी संविधानमा सबै दलको सहमति भएको थियो, त्यसैगरी अहिले संशोधनमा पनि सबैको सहमति हुन जरुरी छ । संशोधनको सवालमा बहुमत छ भन्दैमा चुरीफुरी गर्न पनि हुँदैन । गर्नैपर्ने विषयमा अर्कोले निहुँ खोजेर बस्न पनि हुँदैन । विरोधको निम्ति विरोध मात्रै गरेर पनि हुँदैन । छलफल गरी सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ ।

सङ्घीयतालाई अझै बलियो र सुदृढ बनाउन के गर्नुपर्छ होला ?

– सङ्घीयता बलियो बनाउन स्थानीय तहलाई बलियो बनाउनुप¥यो । अहिले स्थानीय तहमा पनि धेरै बिबाद र उल्झन भइरहेका छन् । त्यसैले बलियो मात्रै बनाएर पुग्दैन, पारदर्शीताको पनि विकास गर्नुपर्छ । स्थानीय र प्रदेशलाई अधिकार दिनुप¥यो । प्रदेश र स्थानीय तहले कार्यान्वयनको पाटोलाई पनि प्रभावकारी बनाउनुप¥यो । सङ्घीय, प्रदेश र स्थानीय सरकार एकअर्काका पूरक हुन भन्ने ढङ्गले काम गर्नुपर्छ । यी सबै कुरालाई मिलाएर काम गर्न सकियो भने सङ्घीयतालाई बलियो बनाउन सकिन्छ ।

तपाईंको निर्वाचन क्षेत्र सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको अवस्था कस्तो छ ?

– म सिन्धुपाल्चोकको सबै क्षेत्रबाट चुनाव लडिसकेको छु । पहिला मैले त्यहाँको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएको हो । अहिले क्षेत्र नं २ बाट पनि निर्वाचित भएँ । कांग्रेस पार्टीको २०१५ सालमा जमानत जफत भएको जिल्ला हो सिन्धुपाल्चोक । तर त्यसपछि मैले सिन्धुपाल्चोकबाट चुनाव जित्दै आएको छु । कांग्रेसको पहिला कमजोर सङ्गठन भएको जिल्ला हो । पछिल्लो पटक भएको तीनै तहको निर्वाचनमा हामीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग पनि गठबन्धन नगरिकन कांग्रेसले जितेको छ । वडादेखि प्रतिनिधिसभासम्म सिन्धुपाल्चोकबाट हामी पहिलो पार्टी छौँ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार