काठमाण्डौं: भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था ह्रासोन्मुख देखिएको भारतीय राजधानी नयाँ दिल्लीमा रहेको आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलले जनाएको छ । भारतीय पूर्वराष्ट्रपति मुखर्जी केही समय अघि सो अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँ अहिले पनि उपचाररत हुनुहुन्छ ।
तर पछिल्ला केही दिनहरुमा उहाँको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको उक्त सैनिक जनाएको छ । उक्त अस्पतालले दिएको जानकारीअनुसार बुधबार उहाँलाई फोक्सोमा सङ्क्रमण देखिएको छ । फोक्सोमा देखिएको सङ्क्रमणका कारण उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको सो अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाएको छ ।
उहाँलाई अहिले पनि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । अवस्था झन् कमजोर हुदै गएपछि उहाँलाई भेन्टिलेटरबाट झिक्ने अवस्था नरहेको पनि सो अस्पतालले जनाएको छ । उहाँलाई गएको अगष्ट १० मा सो अस्पतालमा भर्ना गरिएको थियो । त्यस लगत्तै उहाँको मष्तिष्कको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियाको केही दिनपछि उहाँलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यसपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको बताइएको छ । केही दिनमात्र अघि पनि सो अस्पतालले उहाँको स्वास्थ्य अवस्था कमजोर र स्थिर रहेको बताएको थियो ।
तर बुधबार बिहान मात्र पनि पूर्वराष्ट्रपति मुखर्जीका छोरा अभिजित मुखर्जीले भने आफ्नो बुबाको स्वास्थ्य अवस्थामा सुधार आएको बताउनुभएको थियो । उहाँले ट्वीट गरेर आफ्नो बुबाको स्वास्थ्य अवस्थामा केही सुधार आएको भन्दै सो अस्पतालका चिकित्सकहरुलाई धन्यवाद दिनुभएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया