असार २३, २०८२ सोमबार July 7, 2025

वाईसीएलको अध्यक्षमा पुष्प ओली महासचिवमा गणेश शाही सर्वसम्मत चयन

अन्य पदाधिकारीहरूको नाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २४ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली सर्वसम्मत रुपमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनले ओलीलाई अध्यक्षमा चयन गरेको हो।

निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले पुनः उम्मेदवारी नदिने घोषणा गरेपछि अध्यक्षका लागि नयाँ नेतृत्वको खोजी थालिएको थियो। अध्यक्ष पदमा ओलीसँगै केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायतका नेताहरूको नाम चर्चामा रहेकोमा अन्ततः सर्वसम्मतबाट ओली चयन भएका हुन्।

यसैगरी महासचिवमा गणेश शाही चयन भएका छन्। अन्य पदाधिकारीहरूको नाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी रहेको वाईसीएलका एक नेताले जानकारी दिए।

पुष्प ओलीको राजनीतिक यात्रा

पुष्प ओलीको राजनीतिक यात्रा २०५७ सालबाट सुरु भएको हो। २०४३ साल पुस ७ गते दाङको पवननगरमा जन्मिएका ओलीले अनेरास्ववियु (क्रान्तिकारी) मार्फत राजनीतिक जीवन सुरु गरेका थिए। २०५९ सालमा माओवादी पार्टीको पूर्णकालीन सदस्य बनेका उनी २०६१ मा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नामक रणनीतिक योजना अन्तर्गत गण्डक क्षेत्रमा सरुवा भएका थिए।

२०६१ माघ १९ मा शाही सरकारले गराएको नगर निर्वाचन बिथोल्ने क्रममा आन्तरिक बम विस्फोटमा परी उनी गम्भीर घाइते भएका थिए। त्यसपछि २०६३ मा झक्कु सुवेदीसँगै जिल्ला समिति सदस्य भएर काठमाडौँ सरुवा भएका ओली त्यही वर्ष भक्तपुर वाईसीएल सचिवालय सदस्य बने।

२०७४ सालमा रामप्रसाद सापकोटा वाईसीएल अध्यक्ष हुँदा उनी सचिव पदमा थिए। पछिल्लो पटक २०७९ मा उपमहासचिव तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

वाईसीएलको नेतृत्वमा ओलीको आगमनसँगै संगठनभित्रको भावी कार्यदिशा र रणनीतिक धारमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ। साथै अन्य आकाङ्क्षी नेताहरूको व्यवस्थापनका लागि विधान संशोधनसमेत गरिने तयारी भइरहेको स्रोतले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया