बैसाख २१, २०८३ सोमबार May 4, 2026

वर्तमान अध्यक्ष ओली नै कुनै बेला पार्टीभित्र निकै कमजोर अवस्थामा हुनुहुन्थ्यो : एमाले उपाध्यक्ष, सुरेन्द्र पाण्डे (अन्तवार्ता)

'विद्या भण्डारी अध्यक्षमै प्रतिस्पर्धा गर्न आउन लागेको भन्ने हाम्रा अध्यक्षलाई लागेको छ भने त्यसकै आधारमा त झन् सदस्यता नै रोक्न मिल्छ त ?'

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

साउनको पहिलो सातामै नेकपा एमालेको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बस्यो । बैठकका एजेन्डा के थिए, निष्कर्ष के आए ?

भदौ २०–२२ मा हुने विधान महाधिवेशनमा प्रस्तुत गर्नुपर्ने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधानमाथि छलफल गर्ने गरी साउन १ मा सचिवालय बैठक बसेको थियो । त्यही एजेन्डा पोलिटब्युरो र केन्द्रीय कमिटीमा पनि आयो । तीनवटै बैठकको मूल उद्देश्य यही हो । विधानमा अहिले भएको व्यवस्था र अब गर्ने व्यवस्थाबारे सचिवालयमा खुलस्त छलफल भयो । पार्टीको नेतृत्व हस्तान्तरणका विषयमा सातौं महाधिवेशनमा लामो छलफल भएको थियो । त्यतिबेला अहिलेका अध्यक्ष केपी शर्मा ओलीले नै नेतृत्वको लोकतन्त्रीकरणको विषय उठाउनुभएको थियो । विचारको लोकतन्त्रीकरण जबजले गरिसकेको थियो । त्यसले प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गरेको थियो । प्रतिस्पर्धाबाट आफूलाई सर्वश्रेष्ठ साबित गरेर मात्रै अगाडि जान सकिन्छ भनेर मदन भण्डारीले जबजमार्फत विचार अगाडि सार्नुभएको थियो ।

नेतृत्व हस्तान्तरण पनि लोकतन्त्रीकरणको अभ्यास हो । कतिपय देशले ७० वर्षलाई उमेर हद र दुई कार्यकाललाई आधार मानेर नेतृत्व हस्तान्तरणको अभ्यास गरेको हुनाले हामीले पनि विधानको अंग बनायौं । बैठकहरूमा यसमा प्रशस्त बहस भयो ।

तर पोलिटब्युरो र केन्द्रीय कमिटीमा पुगेपछि भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किनु हुने वा नहुने विषयले प्रवेश पायो । यो बैठकको एजेन्डा थिएन तर छलफल यसमै केन्द्रित भयो । ६ गते केन्द्रीय कमिटीको बैठकमार्फत पूर्वराष्ट्रपति पार्टीमा आउनु हुँदैन भनेर टुंगियो ।

एजेन्डामै नभएको विषय कसरी बैठकमा प्रवेश गर्‍यो र निर्णयसम्म पुग्यो ?

बैठकमा विधान महाधिवेशनको विषयवस्तु र पार्टीको कामकारबाहीमा छलफल भनेर दुवै एजेन्डा सँगसँगै चढेको भए दुवै विषयमा छलफल हुन सक्थ्यो । तर एजेन्डा नभए पनि विभिन्न व्यक्तिले बोल्न थाले । अध्यक्ष पनि प्रभावित हुनुभयो । अन्ततः पूर्वराष्ट्रपतिलाई रोक्नुपर्छ भन्ने निर्णयमा पुग्नुभयो ।

अन्तिममा हामी केही मान्छेले विमति पनि जनायौं । पार्टीको सचिवालयमा राखेर टुंगो लगाऔं भन्यौं । किनकि यो गम्भीर विषय हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले दुई वर्षअघि नै सदस्यता नवीकरण गरेको भन्नुभएको छ । त्यतिबेला सबै मौन हुनुहुन्थ्यो । तपाईं (अध्यक्ष) सँग नसोधी त्यो काम पक्कै पनि भएको छैन । कार्यालयका मान्छेले पैसा लिएर खुसुक्क नवीकरण गरे भन्ने लाग्दैन । एक वर्षअघितिरको बैठकमा महासचिवले नै सदस्यता नवीकरण भएको भन्नुभएको छ । अध्यक्षले पनि टाउको हल्लाउनुभएको छ । त्यसैले यो विषय थाहा थिएन भन्ने प्रश्नै होइन । रोक्ने भए त्यही बेला एजेन्डा बन्नुपर्थ्यो, रोक्नुपर्थ्यो । त्यतिबेला पूर्वराष्ट्रपति यति अगाडि बढिसकेको स्थिति पनि थिएन ।

सदस्यता संवेदनशील विषय हो । नेकपा विवादका बेला पुष्पकमल दाहाल–माधव नेपालले अध्यक्ष ओलीको सदस्यता खारेज गर्नुभएको थियो । त्यसलाई उहाँले सयौंचोटि दोहोर्‍याउँदै ‘मलाई सदस्यबाटै निकाले’ भनिराख्नुहुन्छ । उहाँलाई सदस्यबाटै निकाल्दा परेको पीडा, अर्कोलाई निकाल्दा पर्छ कि पर्दैन ? पीडा त बराबरै हो नि । त्यसैले पनि यो विषय संवेदनशील थियो ।

अर्कोतर्फ, उहाँ मदन भण्डारीकी श्रीमती पनि हो । मदन जबजको प्रणेता हुनुहुन्छ । मदनको रहस्यमय घटनामा निधन भएपछि विद्यालाई पार्टीले अगाडि सार्‍यो । त्यतिबेला मदनको योगदानलाई पनि जनताको बीचमा लगेर ‘शोकलाई शक्तिमा बदल्ने’ भनेर एमाले पार्टी निर्माण भएको छ । यस्तो पृष्ठभूमिमा बैठकमा सदस्यहरूको टिप्पणी आयो भनेका भरमा निर्णय नगरौं, सचिवालयमा सौहार्दपूर्ण छलफल गरौं, अहिल्यै यसरी नटुंग्याऔं भनेर केन्द्रीय कमिटीमा केही नेताले विमति राख्यौं । त्यसमध्ये म पनि एक हुँ ।

हिजो पार्टीगत रूपमा निरपेक्ष रही मुलुककै सर्वोच्च पदको जिम्मेवारी पूरा गरिसकेको व्यक्ति पुनः पार्टीमा फर्किएर अध्यक्ष बन्ने प्रयत्न गर्दा त्यस्तो पदको गरिमा रहन्छ ?

विभिन्न देशमा फरक–फरक अभ्यास छन् । राष्ट्रपति भइसकेका व्यक्ति मेयर लडेका उदाहरण पनि छन् । वर्तमान राष्ट्रपतिलाई हाम्रा अध्यक्षले बेलाबेलामा ‘कांग्रेसको नेता नबन्नूस्’ भनेर टिप्पणी गर्नुभएको छ । व्यावहारिक रूपमा पनि, राष्ट्रपति सबै निकटताबाट अलग भएको र सबै जनता तथा राजनीतिक पार्टीले स्वीकार गरेको स्थिति छ त ? सबैलाई स्वीकार्य व्यक्ति खोज्ने हो भने राजनीतिक पार्टीका व्यक्तिलाई लैजानै हुँदैन । दशकौंसम्म एउटा पार्टीमा काम गरेको मान्छे, सो पार्टीको प्रमुख बन्नलाई प्रयासरत मान्छेलाई लैजाने हो भने प्रश्न उठिरहन्छ ।

कतिपय देशमा राजनीतिक रूपमा सक्रिय हुन नसक्ने व्यक्तिलाई सर्वोच्च पदमा लैजाने चलन छ । त्यो बेग्लै विषय हो । हामीकहाँ त्यस्तो अभ्यास हुन सकेको छैन । राष्ट्रिय सभालाई नै हेर्न सकिन्छ । बौद्धिक, पार्टीको नेता नभएको, चुनाव जित्न नसक्ने तर मुलुकलाई योगदान दिन सक्ने व्यक्तिलाई लैजान सहज होस् भनेर राष्ट्रिय सभा बनाएको हो । तर व्यवहारमा त्यस्तो छैन । विभिन्न कारणले त्यस्तो हुन सकेन ।

भारतमा राष्ट्रपतिहरू फर्केर राजनीतिमा नआएको हामीलाई थाहै थियो । यहाँ संविधान बनाउँदा राष्ट्रपति पार्टीमा फर्किन हुने वा नहुने भनेर हामीले लेखेनौं । राष्ट्रपति पार्टी राजनीतिमा फर्किने विषय अन्यत्र नदेखेर, नसुनेर, नजानेर नराखिएको होइन । हाम्रो अभ्यास नै फरक हो । यदि संविधान वा कानुनमै राजनीतिमा फर्कन नपाइने प्रावधान राखिएको भए राष्ट्रपति बन्न जानेले पनि पाँच पटक सोचेर जान्थ्यो । तर संविधानमा त्यस्तो प्रावधान छैन । एक पटक गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र राष्ट्राध्यक्ष हुनुभयो । तर त्यसपछि पनि उहाँ कांग्रेसको सभापति रहिरहनुभयो । नेपालमै बहालवाला प्रधानन्यायाधीशलाई ल्याएर मन्त्रिपरिषद् अध्यक्ष बनाइएको थियो । हाम्रो देशको विशिष्ट परिस्थितिले यी अवस्था सिर्जना गरेका हुन् । अहिले एमालेभित्र सिर्जना भएको अवस्था पनि यस्तै परिस्थितिले ल्याएको हो ।

कोइराला वा रेग्मीका सन्दर्भमा जे भयो, त्यो एउटा कमजोरी वा अपवादका रूपमा लिइन्छ । त्यसैलाई अनेक आवरणमा दोहोर्‍याउनु त ॅठेस लाग्यो भनेर खाल्डोमा हाम फाल्नु’ जस्तो हुँदैन ?

एउटा कोणबाट त्यसो भन्न पनि सकिन्छ । मलाई पनि एकान्तमा त्यस्तो लाग्न सक्छ । तर हामीले यथार्थलाई हेर्नुपर्छ । घटनाक्रमलाई यथार्थको मैदानबाट हेर्नुपर्छ ।

पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरेर गर्न खोजिएको चाहिँ के हो त ?

उहाँ पार्टीमा आउने भनेरै सदस्यता नवीकरण गर्नुभयो । त्यसक्रममा को–कोसँग सल्लाह गर्नुभयो, थाहा छैन । मैले पछि मात्रै थाहा पाएको हो । त्यतिबेला उहाँको चाहनाले मात्रै सदस्यता नवीकरण गर्नुभएको त होइन होला । कसै कसैले भनेरै गर्नुभयो होला । पार्टीका शीर्षस्थ नेताहरूसँगै कुरा भयो होला । दुई पटक राष्ट्रपति भइसकेको विद्या भण्डारी जत्तिको मान्छेले कुरै नबुझी लहडमै सदस्यता नवीकरण गर्नुभयो भन्ने लाग्दैन ।

जे जसरी र जुन उद्देश्यका लागि सदस्यता नवीकरण गरिएको भए पनि अब खुलस्त कुराकानी गरेर टुंग्याउनुपर्छ । मानौं न, विद्या भण्डारी अध्यक्षमै प्रतिस्पर्धा गर्न आउन लागेको भन्ने हाम्रा अध्यक्षलाई लागेको छ भने त्यसकै आधारमा त झन् सदस्यता नै रोक्न मिल्छ त ? अध्यक्ष नखोजेर अर्को पदमा आउँदा सदस्यता नवीकरण हुन्थ्यो कि भनेर मान्छेले भन्छन् । यसरी त झनै मिल्दैन ।

विद्या भण्डारीले असार १४ मा सार्वजनिक रूपमै आफ्नो सदस्यता नवीकरण भइसकेको छ भन्नुभयो । त्यस्तै एउटा अन्तर्वार्तामा आफू अध्यक्ष नै बन्ने गरी आउन लागेको भन्नुभएपछि अध्यक्ष ओलीलाई तनाव दिएको हुनुपर्छ । उहाँहरूबीच व्यक्तिगत भेटमा हुने कुरा त अरूलाई थाहा हुने कुरा भएन । तर अध्यक्षबाहेक अरू पदमा समायोजन हुने कुरा भएको भए सायद यो विषय नयाँ ढंगले अघि बढ्न सक्थ्यो कि !

अध्यक्ष ओलीकै जानकारीमा पूर्वराष्ट्रपतिले सदस्यता नवीकरण गरेको हुन सक्ने तर अध्यक्षमै प्रतिस्पर्धा हुने भएपछि अनपेक्षित निर्णय लिइएको आशय तपाईंले व्यक्त गर्नुभयो । सुरुमा भने यो विषय सुविचारित थियो होला ?

उहाँहरू लामो समय एउटै टिममा निकट रहेर काम गर्नुभयो । त्यसैले उहाँहरूबीच सल्लाह भएरै विद्या भण्डारी अगाडि बढ्नुभएको होला भन्ने पनि मानिसलाई लागेको थियो । कतिपय उच्च नेताहरूले उहाँसँग कुराकानी पनि गर्नुभयो होला । हालै महासचिव शंकर पोखरेलले अध्यक्षको चाहना विद्यालाई ल्याउने पनि थियो भन्नुभएको भिडियो हेरेको थिएँ । तर उहाँहरू (ओली–विद्या) बीच भित्र के कुरा भएको थियो, उहाँहरूले नै बाहिर नल्याई थाहा हुने कुरा भएन ।

ओलीले एघारौं महाधिवेशनमा अध्यक्ष म नै हो, बाह्रौंमा तपाईं हो भनेर विद्यालाई भन्नुभएको थियो कि वा एघारौं नै विद्यालाई हो भन्नुभएको थियो कि ! उहाँहरूबीच केही कुरा भएका थिए होलान् र त सदस्यता नवीकरण गर्नुभयो । त्यसैले अहिले जुन दुर्घटनातिर हामी पुग्यौं, त्यो पार्टी र आन्दोलनका लागि राम्रो भएन ।

विद्या भण्डारीको सदस्यता नवीकरण नहुँदैमा पार्टीलाई के फरक पार्छ ?

यस्तो स्थितिले कार्यकर्ताको मन भाँच्छ । त्यो संख्या अहिलेलाई पाँच, बीस वा सय हुन सक्छ । तर यस्ता घटनाले पार्टीलाई नोक्सानी पुर्‍याउँछ । जस्तो कि, २०३९ सालमा हाम्रो पार्टी तत्कालीन मालेले एकदमै विकास गरिरहेको बेलामा सीपी मैनाली अल्पमतमा पर्नुभयो । उहाँ महासचिवबाट हट्नुपर्‍यो । त्यसपछि उहाँको विचारलाई पनि पार्टीले बोकेन । त्यतिबेला धेरै कार्यकर्तालाई कसको विचार ठीक हो भन्ने नै थाहै थिएन । तर आन्दोलनको निर्माणकर्ता र जेल ब्रेक गरेको नेतालाई छोड्दा पार्टी नै खत्तम हुन्छ भन्ने धेरैलाई लाग्यो । अन्ततः ठूलो पंक्तिलाई नै पार्टीभित्र निष्क्रिय बनाइयो । कतिपय आन्दोलनबाटै बाहिरिए ।

२०५४ मा पार्टी विभाजन हुँदा पनि ठूलो संख्या बाहिरियो । त्यसको एउटा हिस्सा त माओवादीमा पुग्यो । एमाले पृष्ठभूमिका कैयौं नेता पछि माओवादीबाट सांसदसमेत भए । २०७८ को विभाजनले पनि नोक्सान नै पुर्‍यायो । विभाजनले पार्टीलाई कमजोर बनाउँछ । यी हामीलाई थाहै नभएका सन्दर्भ होइनन् । लामो अभ्यासबाट अघि बढेका हामीले धेरै अनुभव गरिसकेका छौं ।

वैचारिक अन्तरपार्टी संघर्षका अनुभव नभएका पार्टी कहिलेकाहीँ दुर्घटनामा पर्न सक्छन् । तत्कालीन मालेले आफूलाई जोगाउँदै अघि बढिरहेको समयमा पनि अन्य कैयौं पार्टी मतभेद हुनेबित्तिकै फुटेका उदाहरण थिए । तत्कालीन नेकपा मसाल नै कति टुक्रा भयो । माओवादी नै जनयुद्धपछि संसद्मा आइसक्दा कैयौं टुक्रा भइसकेको छ । विभाजनसँगै आन्दोलन छरपस्ट भयो । त्यसले उसलाई कमजोर बनाउँदै लगेको छ ।

अहिले २०३९, २०५४ र २०७८ को सन्दर्भ उल्लेख गर्नुभयो । केन्द्रीय कमिटी बैठकमा पनि तपाईंले छैटौं महाधिवेशनको चर्चा गर्नुभएको थियो । यी सबै विग्रह वा विभाजनका सन्दर्भ हुन् । पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण नगर्दा एमाले पुनः त्यस दिशातिर जान्छ भन्ने तपाईंको आशय हो ?

मैले छैटौं महाधिवेशनको सन्दर्भ ल्याउनुको कारण हो, महाधिवेशनको हलबाट कसैलाई कारबाही गरियो भने अर्को महाधिवेशन आयोजना नगरी कारबाही फिर्ता हुन सक्दैन । महाधिवेशनको निर्णय केन्द्रीय कमिटीले खारेज गर्न सक्दैन । महाधिवेशनको हलबाट कारबाही गर्न मिल्दैन, जे गर्नु छ केन्द्रीय कमिटीबाट गरौं । तर उत्तेजनावश महाधिवेशनले नै कारबाही (योगेश भट्टराई, रूपनारायण श्रेष्ठ) गरिदियो । त्यसको असरले पार्टी नै विभाजनतर्फ गयो । किनकि त्यतिबेला सानै कुरा थियो । तर त्यसलाई उछालेर सदस्यताबाटै निष्कासन गर्दा ठूलो प्रभाव पर्‍यो ।

स्वयं अध्यक्ष ओलीले नै आफू २०२५ सालतिरै सदस्य भएको तर तत्कालीन नेकपा विवादमा आफ्नो सदस्यता खाइदिए भनेर पटक–पटक चिन्ता व्यक्त गर्नुहुन्छ । अर्थात् मान्छेलाई यो विषयले छुँदोरहेछ । कठिन पृष्ठभूमि र परिस्थितिमा सदस्य भएको व्यक्तिलाई आफ्नो सदस्यताप्रति प्रेम हुँदोरहेछ । पहिले सदस्यता पाउन कठिन थियो । २०४६ सालमा माले धेरै बलियो भइसकेको थियो । जनपक्षीय भनेर ५/७ जनालाई राष्ट्रिय पञ्चायतमा जिताइसकेका थियौं । १२/१३ हजारलाई स्थानीय तहमा जिताएका थियौं । देशभरका स्ववियु मालेकै कब्जामा थियो । आन्दोलन जहाँ हुन्छ, त्यहाँ माले हुन्थ्यो । तर २०४६ भदौमा राष्ट्रिय महाधिवेशन गर्दा सदस्य संख्या ७ सय ५० मात्रै थियो । त्यतिबेला भूमिगत भएका मान्छेले समेत पाउँदैनथे । वर्षौं जेल परिसकेका मान्छेले पनि पाउँदैनथे । सदस्यतासँग कठोर विश्वास जोडिएको हुन्थ्यो ।

अहिले त सदस्यता लिन धेरै सजिलो छ । एकैसाथ पाँचवटा पार्टीको सदस्यता लिने जमात पनि भेटिन्छ । तर हामीहरूले आन्दोलनमा लागेर त्यसको एउटा उपजको रूपमा सदस्यता लिएका हौं । सदस्यता लिएर आन्दोलनमा लागेको नभई आन्दोलनमा लागेपछि त्यसबाटै निर्माण भएका हौं । हामी जस्ता मान्छेमा सदस्यताप्रतिको अपनत्व फरक हुन्छ । त्यसलाई नखोसौं भन्न खोजेको हो ।

अब एमालेमा विद्या भण्डारीको ‘च्याप्टर क्लोज’ भयो कि बाँकी छ ?

यसबारे सचिवालयमा पनि छलफल होला । महाधिवेशनमा पनि छलफल होला । किनकि छैटौं महाधिवेशनमा सदस्यता खोसिँदैमा योगेश भट्टराईको सदस्यता सकियो र ? अहिले एमालेकै सचिव हुनुहुन्छ । रूपनारायण श्रेष्ठ केन्द्रीय सदस्य हुनुहुन्छ । राजनीतिमा कुनै एउटा ठाउँमा र एउटा घटनामा आधारित रहेका घटनाले सदस्यता हटाउँदैमा नहट्दो रहेछ । राजनीतिक मुद्दा राजनीतिक तरिकाले नै समाधान हुनुपर्छ ।

राजनीतिमा संख्या पनि महत्त्वपूर्ण हुन्छ । तर विद्या भण्डारीको सदस्यता नवीकरणको पक्षमा जोजो लाग्नुभयो, संख्यात्मक हिसाबले त साह्रै कमजोर देखिनुभयो नि !

कति जनाले विमति राखे भन्ने कुराको अर्थ हुँदैन । विचारमा सहमति हो वा विमति भन्नेचाहिँ महत्त्वपूर्ण कुरा हो ।

त्यसो भए विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किने मुद्दा सकिएको छैन ?

छैन । उहाँले शुक्रबारको पत्रकार सम्मेलनमा पनि आफ्नो सदस्यता कायम रहेको बताउनुभएको छ । उहाँले त्यसो भन्नुको कारण होलान् । तर राजनीतिक मुद्दा प्राविधिक ढंगले हल हुँदैन । अहिलेलाई केन्द्रीय कमिटीले एउटा निर्णय गरेको छ । तर उसको निर्णय अकाट्य त हुँदैन । केन्द्रीय कमिटीले निर्णय गर्दैमा राजनीतिक यात्रा रोकिने होइन । वर्तमान अध्यक्ष ओली नै कुनै बेला पार्टीभित्र निकै कमजोर अवस्थामा हुनुहुन्थ्यो । कहाँ, कतिखेर, को मान्छे, कस्तो अवस्थामा हुन्छ र पछि कस्तो बन्छ भन्न सकिँदैन ।

एमालेको इतिहास हेर्नुभयो भने कैयौं कालखण्डमा विवाद र विमति भएका छन् । २०३९, २०४६, २०४९, २०५४ र त्यसपछिका अवधिमा पनि विमति थिए । एउटै मान्छे कहिले एकातर्फ र कहिले अर्कातर्फ नजिक भएको पाइन्छ । एक समयमा हामी भन्थ्यौं– नेतात्रयले निर्णय गरुन् । त्यतिबेला नेतात्रयमा माधव नेपाल, केपी ओली र वामदेव गौतम पर्नुहुन्थ्यो । तीन नेताको गुट नै भन्न थालिएको थियो । तर २०५४ मै वामदेव त्यहाँ रहनुभएन । २०५९ मा पुगेपछि माधव र केपीका बीचमा पनि मतभेद भयो । तत्कालीन अध्यक्ष अल्पमतमा पर्नुभयो । माधवले नेतृत्व छाड्न चाहनुभएन भनेर केपीले लोकतन्त्रीकरणको आवाज उठाउनुभयो ।

२०६५ मा झलनाथ खनाल आउनुभयो । माधव र केपी फेरि एकैतर्फ हुनुभयो । २०७१ मा फेरि माधव र केपीकै बीचमा प्रतिस्पर्धा भयो । तथ्य र इतिहास त यही हो नि ! यस्तो हुनु गतिशील पार्टीमा स्वाभाविक पनि छ ।

विद्या भण्डारी अध्यक्ष बन्नैका लागि पार्टीमा फर्किने प्रयत्न गरेको त प्रस्टै छ । तपाईंहरूले केपी ओलीको विकल्पमा विद्या भण्डारीबाहेक अरू कोही नदेखेर उहाँलाई साथ दिएको हो ?

कहिलेकाहीँ मान्छेको आवश्यकता हुन्छ । पार्टीभित्र त्यसका विशिष्ट कारण हुन्छन् । मदन भण्डारीको एउटा प्रसंग छ । उहाँलाई २०३९ सालमै सीपीको ठाउँमा महासचिव बनाउन खोजिएको थियो । मदनले त्यतिबेला भन्नुभयो– ‘माले झापालीको पार्टी हो । म पुष्पलालको मुक्तिमोर्चाबाट आएको हुँ । म महासचिव बने भनेँ मलाई टिक्न खान दिँदैनन् । झापालीलाई पुष्पलालकाले कब्जा गरे भनेर पार्टीभित्र मतभेद सुरु हुन्छ । अहिले झापाली नै पार्टी प्रमुख हुनुपर्छ, झलनाथ खनाल हुनु कल्याण हुन्छ ।’ त्यसरी त्यतिबेला झलनाथ खनाल महासचिव हुनुभयो ।

कहिलेकाहीँ संयोग हुन सक्छ । विशिष्ट परिस्थिति बन्न सक्छ । नेतृत्व भनेको राजनीतिक विषय हो । जो आए पनि हुने भन्ने हुँदैन । कांग्रेसलाई हेर्नुस् न । पञ्चायतकालमा बीपी कोइराला सभापति हुनुहुन्थ्यो । उहाँपछि कृष्णप्रसाद भट्टराईले नेतृत्व गर्नुभयो । पछि गिरिजाप्रसाद कोइराला आउनुभयो । सुशील कोइराला हुनुभयो । अहिले शेरबहादुर देउवा हुनुहुन्छ । २०४४ सालदेखि पुष्पकमल दाहाल एउटै पदमा हुनुहुन्छ । एउटै व्यक्ति लामो समयसम्म पार्टी प्रमुख भएका अन्य उदाहरण पनि छन् । मैले भन्न खोजेको, नेतृत्व राजनीतिक विषय हो । व्यक्तिगत मामला मात्रै होइन । स्वीकार्यता पनि चाहिन्छ । विभिन्न परिस्थितिले आवश्यकता सिर्जना हुन्छ ।

पुष्पलालकै निधनपछि पार्टीको नेतृत्वमा साहना प्रधान आउनुभयो । जबकि सो पार्टीमा उहाँभन्दा वरिष्ठ धेरै नेता थिए । तर साहनालाई नै नेतृत्व दिएर जान सबै सहमत भए । पञ्चायतको खास अवधिमा उहाँ नेतृत्वमा रहनुभयो । त्यसैले यस्तो हुन सक्छ । अभ्यासले देखाएको र बुझाएको विषय यही हो ।

अर्थात् यतिबेला एमालेमा विद्या भण्डारी नेतृत्वको आवश्यकता देखियो ?

एकाध मान्छेले ‘तपाईं आइदिनुपर्‍यो’ भनेर मात्रै विद्या आउन खोज्नुभएको हो भन्ने देखिँदैन । बरु अध्यक्ष ओलीले पनि मपछि तपाईं नै हो भनेको जस्तो, अरू नेताले पनि तपाईं आइदिनुपर्‍यो भनेको जस्तो देखिन्छ । अस्ति बैठकमै पनि महासचिव शंकर पोखरेलले भन्नुहुन्थ्यो– ‘अध्यक्षपछि हामी कसैले कसैलाई समर्थन गर्न सक्ने ठाउँमा छैनौं । त्यसैले अध्यक्षलाई नै निरन्तरता दिऔं ।’ जबज र लोकतन्त्रीकरणको बाटोबाट आएको भन्दाभन्दै पनि कसैले कसैलाई मान्दैन भने के गर्ने त ? अर्थात्, नेतृत्व त यसरी पनि तय हुँदोरहेछ नि !

केपी ओलीसँगै केही कुरै नभईकन विद्या भण्डारी पार्टीमा आउन खोज्नुभएको होइन भन्ने लाग्छ । उहाँहरूको सहकार्य लामो छ । राष्ट्रपति हुँदैदेखि निरन्तर संवादमा हुनुहुन्छ । अनि कुरै नभईकन आउनुभयो होला र ? उहाँहरूबीच कुराकानी नै हुँदैनथ्यो भनेर कसले पत्याउँछ र ? उहाँहरूको भेटमा पनि केही कुरा त भयो होला ।

तत्कालीन नेकपा र एमालेभित्रको विवादमा तपाईं लगायतका केही नेता सुरुमा माधव नेपालको पक्षमा उभिनुभएको थियो । तर पछि पार्टी विभाजन हुँदा नेपाललाई साथ दिनुभएन । दस भाइका रूपमा आलोचित हुनुभयो । विद्या भण्डारीको सन्दर्भमा पनि त्यस्तै त हुँदैन ? किनकि, केन्द्रीय कमिटीमा ‘नोट अफ डिसेन्ट’ लेख्ने पनि थोरै हुनुभयो । ईश्वर पोखरेल त मौन नै रहनुभयो । बरु बालुवाटार पुगेर अध्यक्ष ओलीसँग सुलह गरिसक्नुभएको चर्चा पनि छ !

मलाई त्यस्तो लाग्दैन । किनकि मैले उहाँको अन्तर्वार्ता सुनेको छु । बोल्न नै तयार हुँदै थिएँ, मेरो पनि नोट अफ डिसेन्ट छ, अध्यक्षले हतारमा बैठक रोक्नुभयो, मैले लेख्न पाइनँ भन्नुभएको छ ।

उहाँको तर्कसँग तपाईं सहमत हुनुहुन्छ ?

उहाँले त्यसो भनेपछि मैले पत्याउनै पर्छ । किनकि बैठकमा हतारकै परिस्थिति थियो । मैले बोलिसकेपछि कर्ण थापाले बोल्छु भन्दै हुनुहुन्थ्यो । अलिअलि वातावरण त्यस्तै थियो । अध्यक्षले बैठक सकियो भनेर हिँडेपछि ईश्वरजीले बोल्न पाउनुभएन भन्ने लाग्छ । मेरो पनि उहाँसँग कुरा भएको थियो । उहाँले प्रस्टैसँग आफ्नो नोट अफ डिसेन्ट पठाउँछु भन्नुभएको छ । शंकर पोखरेललाई जानकारी गराइसकेको पनि भन्नुभएको छ ।

बैठकमा तपाईंले जोसेफ स्टालिन र निकिता ख्रुश्चेभको प्रसंग पनि उठाउनुभयो । अहिले एमालेभित्रको स्थिति सोभियत संघको तत्कालीन स्थितिसँग मेल खान्छ ?

मैले उहाँले नै बोल्नुभएको विषयलाई सम्झाएको मात्रै हो । सातौं केन्द्रीय कमिटीको बैठकमा उहाँले नै स्टालिन–ख्रुश्चेभको प्रसंग सुनाउनुभएको थियो । स्टालिन हुँदासम्म ख्रुश्चेभले खुबै प्रशंसा गर्थे रे ! पछि बैठकमा उनैलाई खुब गाली गर्न थाले । कुनै नेताले बैठकमा आवाज उठायो– ‘पहिले तपाईं खुब प्रशंसा गर्नुहुन्थ्यो, अहिले किन विरोध गरेको ?’ ख्रुश्चेभले भने– ‘बोल्ने को हो ?’ तर कोही बोलेन । अनि ख्रुश्चेभले नै भने, ‘थाहा पायौ, पहिला म किन बोलिनँ ?’

ओली त्यतिबेला अल्पमतमा परिरहेको हुनाले त्यो प्रसंग ल्याउनुभएको थियो होला । मैलेचाहिँ तपाईं पनि कुनै बेला कुनै घटनामा अल्पमतमा पर्नुभएको थियो तर त्यतिबेला बहुमतबाट निर्णय नगरौं भन्नुहुन्थ्यो भनेर सम्झाइदिएको हो । उहाँसँग अल्पमत र बहुमतमा बस्दाको दुवैथरी अनुभव छ । सदस्यताबाट हटाइँदाको अनुभव पनि छ । पहिले लोकतन्त्रीकरणको कुरा उठाउनु हुन्थ्यो । यी सबै कुरा त त्यहाँ मैले भन्न पाइनँ । तर मैले निर्णय लिइँदा यस्ता सबै पक्षलाई गम्भीरतापूर्वक लिनुपर्छ भन्न खोजेको हो ।

अध्यक्षले त हरेक विषयलाई औसत सदस्यभन्दा उचाइबाट हेर्नु र सोच्नुपर्छ । आन्दोलनको भविष्यका बारेमा सोच्नुपर्छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमेत भएकाले यस्ता निर्णयबाट हुने नोक्सानीलाई हेर्नुपर्छ, तर पनि सबैभन्दा ठूलो नोक्सानी भने अध्यक्षलाई नै हुन्छ । त्यसैले उत्तेजना र आवेशले केही पनि हुँदैन, सौहार्दपूर्ण ढंगले सचिवालयमा बसेर निर्णयमा पुगौं भनेको हुँ ।

विद्या भण्डारीसँगै कुरा गरेर कुनै बीचको बाटो खोज्न सकिन्थ्यो होला । मलाई यस्तो होला भन्ने विश्वास थियो । यद्यपि, उहाँहरूको बीचमा कति कुरा भएका थिए भन्ने मलाई थाहा थिएन । मलाईचाहिँ अहिले पनि संवादबाट कुरा मिलाउन सकिन्छ भन्ने लागेको छ । किनकि यस्तो विषयलाई छ्यालब्याल पारेर तलतल लगेर हल हुँदैन ।

अब कसरी मिलाउन सकिएला त ?

ठ्याक्कै यही हुन सक्छ भनेर मैले भनिनँ तर केही बाटो हुन सक्छ । दर्जनौं घटनाले हामीलाई अनुभव दिएको छ । हामीले सिक्दै आएका छौं । अभ्यास गर्दै आएका छौं । कहिलेकाहीँ असफल पनि भएका छौं । दुई पटक असफल भयौं । २०५४ र २०७८ मा हामीले विभाजन रोक्न सकेनौं । पार्टीलाई ठूलो क्षति भयो । सार के हो भने, बसेर कुरा गर्न सकिन्थ्यो । विद्या भण्डारीलाई पनि सम्झाउन सकिन्थ्यो । समाधान निस्किन्थ्यो । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार