श्रावण १९, २०८३ मंगलबार August 4, 2026

स्वास्थ्य सेवामा लापरबाही गर्ने चार जना स्वास्थ्यकर्मीसँग स्पष्टीकरण

३ दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले थप कारबाही अघि बढाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालको सेवा प्रवाहमा देखिएको लापरबाहीका विषयमा दुई मेडिकल अधिकृत सहित चार जना स्वास्थ्यकर्मीहरूसंग स्पष्टीकरण माग गरेको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशन पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिका कुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।

सेवाग्राहीको उपचारमा समस्या भएको, सेवा प्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकरण माग गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिनु भयो ।

मुख्यमन्त्री सतिश कुमार सिंहलाई महोत्तरी स्थित विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र सरोकारवालाहरूले प्रादेशिक अस्पताल जलेश्वरमा उपचार सेवा पाउन नसकी जनता अकालमा ज्यान गुमाउन बाध्य भएको ब्यहोरा दर्शाउँदै मङ्गलवार ज्ञापन पत्र बुझाएका थिए । लगतै मुख्यमन्त्री सिंहले तत्काल आवश्यक छानबिन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।

स्पष्टीकरण सोधिएकाहरू माथि सेवाग्राहीलाई उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा नदिएको, स्वास्थ्यकर्मीको आचार पालना नगरेको तथा कार्य सम्पादनमा लापरबाही गरेको आरोप लागेको छ । स्पष्टीकरण पत्रमा भनिएको ३ दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले थप कारबाही अघि बढाउने उल्लेख गरेको छ ।

प्रदेश निजामती सेवा ऐनको दफा ८६ को उपदफा १ को खण्ड घ अनुसार कर्मचारीले आचरण सम्बन्धी कुरा पालना नगरेमा वा उल्लङ्घन गरेमा र खण्ड च अनुसार सेवा प्रवाहमा जानाजान लापरबाही वा ढिलासुस्ती गरी  सेवाग्राही लाई हानी नोक्सानी पुग्न गएको ब्यहोरा प्रारम्भिक सोधपुछ र स्थलगत अनुगमनबाट देखिएकोले स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले सेवा प्रवाहमा लापरबाही गर्ने उपर मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने बताउनु भयो । पद अनुसार कार्यक्षमता नदेखाउने, सेवा प्रवाहमा लापरबाही गर्ने प्रदेश सरकार मातहतका कुनैपनि निकायमा कार्यरत कर्मचारीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया