विदुर । नुवाकोटको विदुर नगरपालिकाले नगरभित्रका अति विपन्न, दलित, सीमान्तकृत तथा आर्थिक-सामाजिक रूपमा कठिनाइमा परेका परिवारलाई लक्षित गरी “अति विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम २०८२” शुभारम्भ गरेको छ । यस कार्यक्रममार्फत नगरभित्रका परिवारले स्वास्थ्य बीमाको सुविधा पाउने भएका छन् ।
भदौ ८ गते आइतबार वडा नं. १ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लेनिन रञ्जितको अध्यक्षता, नगर प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्य र उपप्रमुख प्रभा बोगटीको विशिष्ट आतिथ्यतामा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न वडा अध्यक्ष, निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद प्याकुरेल, स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारी, बीमा कार्यालय नुवाकोटका प्रमुख रोशन बराल, बीमा सेवाग्राही तथा अभिकर्तासहित करिब दुई सय बढी सहभागीको उपस्थिति रहेको थियो ।
कार्यक्रमअन्तर्गत हालसम्म नगरका ६७२ घरपरिवारका करिब २६०० भन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । नगरपालिकाले स्वास्थ्य बीमामार्फत विपन्न वर्गलाई उपचार सेवामा सहजता दिलाउने, आकस्मिक स्वास्थ्य खर्चमा राहत दिने, सामाजिक न्याय प्रवद्र्धन गर्ने तथा दीर्घकालीन रूपमा नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ ।
नगर प्रमुख राजन श्रेष्ठले कार्यक्रममा बोल्दै नगरवासीलाई स्वास्थ्य उपचारमा समान पहुँच दिलाउनु नै नगरपालिकाको प्रमुख प्राथमिकता भएको बताए । उनले यस कार्यक्रमले गरिबी न्यूनीकरण, स्वास्थ्य सचेतना अभिवृद्धि र सक्रिय जनशक्ति विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
हाल सरकारले स्वास्थ्य बीमामार्फत प्रत्येक परिवारलाई २ लाखसम्मको उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । विदुर नगरपालिकाको यो कार्यक्रमले नगरभित्रका विपन्न समुदायलाई अझ ठूलो राहत दिने विश्वास गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया