कार्तिक २९, २०८३ आइतबार November 15, 2026

मधेसमा दसैँः प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला

गढिमाइमा हरेक पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला लाग्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनुषाधाम, १३ असोजः मधेस प्रदेशका आठ वटै जिल्लामा बडादसैँको रौनक छाएको छ । यहाँका शक्तिपीठमा पूजाअर्चना तथा मेला आयोजना गरी दसैँ मनाइँदैछ । खासगरी जनकपुरधाम, वीरगञ्ज र सप्तरीमा नवरात्रीका अवसरमा देवीको शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । दर्शनार्थीको सहजताका लागि व्यक्तिगत, सामूहिक र स्थानीउ युवा क्लबको सहयोगमा दसैँलाई सभ्य एवं भव्य बनाउने काम भइरहेको छ ।

घटस्थापनाकै दिनदेखि शक्तिपीठमा लोक नृत्य, सांस्कृतिक कार्यक्रमलगायत विविध कार्यक्रम गरी दसैँलाई भव्य बनाउने प्रयास भइरहेका छन् । विशेषगरी साँझ र बिहान मन्दिरहरूमा पुरुषभन्दा महिलाहरूको भीडभाड बढी लाग्ने गरेको छ । प्रत्येक बिहान स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने क्रम घटस्थापनादेखि विजयादशमी अर्थात् विसर्जनसम्म नै हुने गरेको छ ।

जनकपुरधामको राजदेवी मन्दिर, सिरहाको लहानस्थित दुर्गा मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर, महोत्तरीको सोनामाई, संसारी माई, पञ्चधुरा माई, सर्लाहीको चमेलीमाई, रौतहटको गौरस्थित राजदेवी मन्दिर, पर्साको गहवा माई र बाराको गढीमाई मन्दिरमा नवरात्रिभर दर्शथार्नीको भीड लाग्ने गर्दछ ।

राजदेवी मन्दिर–जनकपुरधाम (धनुषा)

मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित राजदेवी मन्दिरलाई यहाँको प्रमुख शक्तिपीठ मानिन्छ । यो मन्दिरमा प्रत्येक वर्ष दसैँ र चैतेदसैँमा भव्य मेला लाग्छ । मन्दिरलाई स्थानीय युवा क्लबले बेहुलीझैँ सजाएर मेलाको आयोजना गर्छन् । यहाँ नेपाल मात्रै होइन भारतका विभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने गर्छन् ।

राजदेवीलाई राजा जनकको कुलदेवीको रूपमा मानिन्छ । यहाँ अष्टमीको दिन बर्सेनि १५ हजारभन्दा बढी खसी बोकाको बलि दिने गरिएको छ ।

दुर्गा मन्दिर–लहान (सिरहा)

लहान नगरपालिका–७ स्थित दुर्गा मन्दिरमा यतिबेला भव्य मेला लागेको छ । दसैँका दसँै दिन यस मन्दिरमा दैनिक ठूलो भीडभाड हुन्छ । यहाँ सिरहाका मात्र नभई सप्तरी, उदयपुर, धनुषा, काठमाडौँ, विराटनगरलगायत भारतका विभिन्न ठाउँबाट हजारौँ भक्तजन आउने गरेका छन् ।
धार्मिक तथा पौराणिक महत्त्व बोकेको यस मन्दिरमा भाकल पूरा हुने विश्वाससहित प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा बली दिने र खोइछ भर्ने चलन छ ।

सोनामाई मन्दिर–औरही (महोत्तरी)

महोत्तरीको औरहीस्थित सोनामाइ मन्दिरमा पनि दसैँ विशेष रूपमा मनाइने गरिन्छ । यहाँ दसैँमा भूतमेलासमेत लाग्ने गरेको छ । दसैँको षष्ठी तिथिदेखि दशमीसम्म भूतप्रेतमा विश्वास गर्नेहरू यहाँ आउने गरेका छन् ।

मन्दिरका पुजारी केदार झा उक्त मेलामा शरीरको दुःख निवारणका लागि सोनामाइको शरणमा भक्तजन आउने गरेको बताउनुहुन्छ । मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि मानिसहरू आउने गरेको उहाँले सुनाउनुभयो ।

दुर्गा पूजा मटिहानी–(महोत्तरी)

यस्तै, महोत्तरीको मटिहानीमा पनि दसैँमा दुर्गा मेला विशेष रूपले मनाइन्छ । नेपाल भारतको सीमामा पर्ने यो ठाउँमा भव्य मेला लाग्ने गरेको छ ।

संसारी माई–(महोत्तरी)

महोत्तरी सदरमुकाम जलेश्वरस्थित प्राचीन शक्तिपीठ संसारी माई मन्दिरमा हरेक पाँच वर्षमा विशेष मेला लाग्छ । संसारी माईले सपनामा पूजा गर्ने वर्षको सङ्केत दिने गरेको जनविश्वासअनुसार यहाँ नेपाली सेनाको सलामीसँगै पञ्चबलि दिने परम्परा छ । सेन वंश, नान्य वंशदेखि पृथ्वीनारायण शाहको पालासम्म यहाँ विशेष पूजा हुँदैआएको बताइन्छ ।

पञ्चधुरा माई–(महोत्तरी)

महोत्तरीको बर्दिबास–४ स्थित प्राचीन शक्तिपीठ पञ्चधूरा माई मन्दिरलाई साक्षात् भगवतीको निवास मानिन्छ । यहाँ भक्तजन सुख–दुःख वा सन्तानको कामना लिएर पुग्ने गर्छन् । यहाँ दसैँबाहेक अन्य समयमा पनि बलि दिने परम्परा छ । किंवदन्तीअनुसार तत्कालीन अवस्थामा जङ्गबहादुर राणाले १९३३ मा सिकारका क्रममा सेतो बाघदेखि बन्दुक हानेको गोली यहीँ पञ्चधूरामा विलय भएको भनिन्छ ।

छिन्नमस्ता भगवती मन्दिर–छिन्नमस्ता(सप्तरी)

सप्तरीको छिन्नमस्ता भगवती मन्दिर पर्यटकको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित यस स्थानमा बिहानदेखि रातिसम्म भीड लाग्ने गरेको छ । नेपाली मात्रै नभई भारतीय पनि यहाँ पूजा गर्न आउँछन् ।

कङ्कालिनी मन्दिर–भारदह (सप्तरी)

सप्तरीकै हनुमाननगर कङ्कालिनी नगरपालिकाको भारदहमा रहेको कङ्कालिनी मन्दिर पनि सप्तरीको प्रमुख शक्तिपीठमध्येको एक हो । यस मन्दिरमा पूजा गरे मनोकामना पूरा हुने विश्वाससहित नेपालका विभिन्न स्थान र भारतबाट श्रद्धालुहरू आउने गरेका छन् । दसैँमा यहाँ ठूलो मेला लाग्ने गरेको छ ।

यहाँ रहेको मुख्य मन्दिर प्यागोडा शैलीमा रहेको छ । मन्दिरमा पाँचस्तरको छाना रहेको छ ।

अन्य शक्तिपीठमा पनि उत्तिकै आस्था

सर्लाहीको सलेमपुरमा रहेको चमेली माई मन्दिर, रौतहट सदरमुकाम गौरमा रहेको राजदेवी मन्दिर, पर्साको गहवामाई मन्दिर र विश्वमै बढी पशु बलि दिइने भनेर चर्चामा रहेको बाराको गढीमाइ मन्दिर पनि यहाँका चर्चित शक्तिपीठ हुन् । गढिमाइमा हरेक पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला लाग्ने गरेको छ ।अमरेन्द्रकुमार यादव/रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार