कार्तिक २५, २०८३ बुधबार November 11, 2026

पौवादुङमाको खुर्सानी खेती : बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’

एक बोटबाट २०० सम्म आम्दानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बन्दै गएको छ।

यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र अपनाएको प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गर्न थालेको हो। गाउँपालिकामा करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ। यहाँका करिब नौ सय किसान खुर्सानी खेतीमा आवद्ध रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।

खुर्सानी खेतीको अध्ययन, अवलोकन र आवश्यक जानकारी लिन देशका विभिन्न ठाउँबाट किसान र कृषि विज्ञ आउने गरेको किसानको भनाइ छ। हालै सिन्धुली जिल्लाको दूधौली नगरपालिकाका कार्यवाहक प्रमुख नन्दकिशोर थारुसहित कृषि शाखाका कर्मचारीले पौवादुङमा पुगेर खुर्सानी खेतीको स्थलगत अध्ययन गरेका छन्। थारुले यहाँका किसानको बगानमा पुगेर खेती प्रविधि, आम्दानी, तथा देखिएका चुनौतीका विषयमा जानकारी लिएको बताए।

‘यहाँका किसानले खुर्सानी खेतीबाट राम्रो आम्दानी लिएको देख्यौँ,‘ थारुले भने, ‘यहाँ अपनाइएका प्रविधिबारे जानकारी लिएर हाम्रो स्थानीय तहमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ।‘

गाउँपालिकाले अकबरे खुर्सानी खेतीमा आवद्ध किसानलाई आवश्यक सहयोग गर्दै आएको छ। गत वर्ष मात्र खुर्सानी बिक्रीबाट रु १८ करोड आम्दानी भएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। ‘खुर्सानी खेती अहिले अध्ययन केन्द्रको रूपमा विकास भइरहेको छ,‘ अध्यक्ष भने, ‘हाम्रो गाउँपालिकामा खुर्सानी खेती मुख्य आम्दानीको स्रोत बनेको छ। यहाँको खुर्सानी खेती हेर्न देशका विभिन्न ठाउँबाट मानिस आउन थालेका छन्।‘

खुर्सानी खेती विस्तारका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई करिब रु ७० लाख बराबरका मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरेको उपाध्यक्ष ज्योत्सना राईले बताइन्। पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका स्थानीय किसान ठंगजीत राईले मौसमी तथा बेमौसमी खुर्सानी खेतीबाट वार्षिक ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएका छन्। उनले ४२ रोपनी जमिनमा करिब ३२ हजार बिरुवा विस्तार गरेका छन्।

‘एक बोटबाट २०० सम्म आम्दानी हुन्छ,‘ उनले भने, ‘प्राविधिक सहयोग र बजार सहज भएकाले यो खेती फाइदाजनक बनेको छ।‘ पौवादुङमामा खुर्सानी खेतीले स्थानीय रोजगारीका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको किसानको भनाइ छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया