कार्तिक २५, २०८३ बुधबार November 11, 2026

कञ्चनपुरमा आजदेखि धान खरिद

मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ मूल्य कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दोधारा चाँदनी (कञ्चनपुर), १६ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि किसानका धान खरिद सुरु गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख महिकरण महराले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि आज (आइतबार) देखि किसानबाट धान खरिद गरिन लागेको जानकारी दिनुभयो ।

कम्पनीले यस वर्ष कञ्चनपुरमा पाँच हजार क्विन्टलमात्र धान खरिद गर्ने उहाँले बताउनुभयो । “यस वर्ष हामीले पहिलो चरणमा पाँच हजार क्विन्टल धान खरिद गर्छौँ”, उहाँले भन्नुभयो, “पछि आवश्यकता अनुसार थप हुनसक्छ ।” विगतका वर्षहरूमा कम्पनीले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि यस वर्ष पाँच हजार क्विन्टलमात्र धान खरिद गर्ने लक्ष्य राखेको हो । गत वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको भए पनि लक्ष्यको २० प्रतिशतमात्र धान खरिद भएको कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार गत वर्ष दुई हजार ९५१ क्विन्टल मात्र धान खरिद भएको थियो ।

आर्थिक वर्ष २०८०-८१ मा खाद्य संस्थानले किसानबाट १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा तीन हजार क्विन्टल मात्र धान खरिद गर्न सकेको थियो । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि खाद्य संस्थानले यसपटक धान खरिद गर्ने लक्ष्य घटाएको हो । संस्थानले मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ मूल्य तोकेको छ । कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया