बैसाख १९, २०८३ शनिबार May 2, 2026

गण्डकी प्रदेशसभा बैठक यही २४ कात्तिकमा बस्ने

प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण स्थगन भएको गण्डकी प्रदेशसभा बैठक यही २४ कात्तिकमा बस्ने भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा उक्त दिन दिउँसो १ बस्ने गरी बैठकको तय भएको प्रदेशसभा सचिवालयले आज सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त बनेपछि उक्त मन्त्रालयको सभाकक्षमा प्रदेशसभा बैठक सञ्चालन हुन लागेको हो । यसअघि गत असोज २२ गते सोही स्थानमा बैठक आह्वान गरिए पनि प्राविधिक तयारी नपुगेका कारण अन्तिम समयमा स्थगन गरिएको थियो ।

पछिल्लोपटक गत भदौ १६ गते प्रदेशसभा बैठक बसेको थियो । त्यसपछि भदौ २५ गतेका लागि बोलाइएको बैठक ‘जेनजी’ प्रदर्शनका क्रममा प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरिएपछि बस्न सकेन ।

पुनःप्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायत संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । हालै मात्र प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया