काठमाण्डाैंः अमेरिकाले एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा खारेज गरेको छ । अनुसन्धानकर्ताहरूले अमेरिकाका लागि खतरा ठानिएका ती विद्यार्थीहरूको भिसा खारेज गरिएको जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँ नागरिकलाई लक्षित गरी गरेको एउटा घोषणाअनुसार यो निर्णय गरिएको जनाइएको छ ।
केही चिनियाँ नागरिकले अमेरिकामा महत्त्वपूर्ण तथ्यांक र बौद्धिक सम्पत्ति चोरेको राष्ट्रपति ट्रम्पको दाबी छ । अमेरिकी सरकारले यस विषयमा थप जानकारी भने सार्वजनिक गरेको छैन । अमेरिकी निर्णयप्रति चीनले हालसम्म भने कुनै टिप्पणी गरिसकेको छैन ।
अमेरिकी विश्वविद्यालयहरूमा बर्सेनि हजारौं चिनियाँ विद्यार्थी भर्ना हुने गर्छन् । गत शैक्षिक सत्रमा झन्डै ३ लाख ७० हजार चिनियाँ विद्यार्थीहरू अध्ययनका लागि अमेरिका पुगेका थिए । एक अमेरिकी अधिकारीका अनुसार भिसा स्थगित गरिएकाहरू देशका लागि ‘ठूलो खतरा मानिएकाहरू’ हुन् ।
ती विद्यार्थीहरूले विभिन्न विश्वविद्यालयमा स्नातक गरिरहेका र अनुसन्धाताहरू छन् । उनीहरू चिनियाँ विद्यार्थीहरूको एउटा सानो उपसमूह भएको ती अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ‘हामी चिनियाँ कम्युनिस्ट पार्टीको सैन्य प्रभुत्व जमाउने लक्ष्यलाई समर्थन नगर्ने चिनियाँ विद्यार्थी र विद्वान्लाई अमेरिका आउन रोक लगाउने छैनौं,’ अमेरिकी विदेश मन्त्रालयकी एक प्रवक्ताले भनेकी छन् ।
राष्ट्रपति ट्रम्पको मे २९ को घोषणामा ‘चीनले अमेरिकाबाट संवेदनशील प्रविधि र बौद्धिक सम्पत्ति हात पार्न एउटा अभियान नै सञ्चालन गरेको’ आरोप लगाइएको थियो । कान्तिपुरबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया