काठमाडौँ, मङ्सिर २३ गते । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको छ।
सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रन बनायो। उसका लागि ओपनर विनोद भण्डारीले ५२ बलमा तीन चौका र दुई छक्कासहित ६३ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोडे, हरमित सिंहले १४ रन, डा. इशान पाण्डेले १३ रन र मुख्तार अहमदले १० रन बनाए।
विराटनगरका प्रतिश जिसी र मर्चेन्ट डे लाङ्गेले दुई–दुई विकेट लिँदा सूर्य तामाङ र साम हिजलेटले एक–एक विकेट हात पारे। सन्दीप लामिछाने भने विकेटविहीन रहे।
१५६ रनको लक्ष्य पछ्याउन आएको विराटनगर १४ ओभर १ बलमा सबै विकेट गुमाएर ७८ रनमै समेटियो। विराटनगरका लागि फाफ डु प्लेसिसले ३६ रन बनाए भने मर्चेन्ट डे लाङ्गेले १५ रन र बसिर अहमदले १२ रन जोडे।
सुदूरपश्चिमका स्कट कुगलेइजन, हरमित सिंह र अविनास बोहराले दुई–दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक–एक विकेट हात पारे।
पहिलो क्वालिफायरमा पराजित विराटनगरले अब एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। बुधबार काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच एलिमिनेटर खेल हुनेछ।
पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्न सफल भएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया