काठमाडौँ । नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपमा श्रीलङ्काविरुद्ध जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको छ । दुबईस्थित द सेभेन्स रङ्गशालामा जारी खेलमा कमजोर ब्याटिङ प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सुरुआतदेखि नै लय समात्न सकेन । श्रीलङ्काका बलरहरूको कडा र अनुशासित बलिङ अगाडि नेपाली ब्याट्सम्यानहरू लगातार विकेट गुमाउन बाध्य भए । विशेषगरी सेथ्मिका सेनेविरत्नले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ९ दशमलव ५ ओभरमा २५ रन मात्र खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे ।
नेपालका कुनै पनि ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन् । नियमित अन्तरालमा विकेट पतन हुँदा नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाउन असफल रह्यो । श्रीलङ्काका अन्य बलरहरूले पनि सटिक लाइन र लेन्थमा बलिङ गर्दै नेपाली टोलीमाथि दबाब बनाइराखेका थिए ।
एसिसी अन्डर–१९ एसिया कप यही मङ्सिर २६ गतेदेखि सुरु भएको हो । प्रतियोगितामा नेपालसहित आठ टोलीको सहभागिता छ । नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन् ।
समूह चरणका खेलहरूमा राम्रो प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रिएको नेपाली टोलीका लागि अब बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै खेलमा फर्किने चुनौती रहनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया