काठमाडौंः विभिन्न १० वटा वडाबाट काठमाडौं महानगरले राजस्व निर्धारण तथा संकलन कार्य अनलाइन प्रणालीमार्फत थालेको छ । सेवा प्रवाह प्रभावकारी र सुशासन कायम गर्ने उद्देश्यसहित सुरु प्रणाली काठमाडौं–२१ वडाबाट प्रारम्भ गरिएको हो ।
सो वडा कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका हुन् । सापकोटाले ‘भूमिकर’ शीर्षकमा विवरण गरेका थिए ।
अर्यालले महानगरका हरेक सेवा विद्युतीय प्रणालीमा रूपान्तरण गर्दै लगिने जानकारी दिए । ‘राजस्व प्रशासनमा करदातालाई विश्वास दिलाउनुपर्छ, करदातामा सार्वजनिक निकायप्रति विश्वास भयो भने राजस्व संकलन बढ्दै जान्छ,’ उनले भने, ‘सार्वजनिक प्रशासन पहिलेजस्तो नभएर अब सहभागितामुलक, पारदर्शी हुनुपर्छ । यसका लागि प्रविधि नै उपयुक्त विकल्प हो ।’
महानगर स्थानीयप्रति उत्तरदायी छ भन्ने अनुभुति गराउनुपर्ने अर्यालको जोड छ । ‘आर्थिक प्रणाली पारदर्शी बनाएपछि स्थानीयले सुशासनमा विश्वास गर्नेछ,’ उनले भने, ‘यसकारण पनि अनलाइनमा नलगी सुखै छैन ।’
महानगर सहसचिव राजेश्वर ज्ञवालीले अनलाइन प्रणालीले करदाताको अभिलेखीकरण र राजस्व प्रक्षेपण योजनामा ठूलो सघाउ पुगेको स्पष्ट पार्दै अब प्रविधिबिनाको सेवा व्यवस्थापन कल्पनासमेत गर्न नसकिने बताए ।
प्रणाली सुरु गरिसकेपछि प्रतिक्रिया दिँदै २६ वडाध्यक्ष एवं सूचना प्रविधि समिति सदस्य ख्यामराज तिवारीले विद्युतीय प्रणालीबाटै कर मूल्यांकन र निर्धारित कर भुक्तानी गर्नु स्मार्ट सिटी निर्माणका लागि पहिलो सर्त भएको सुनाए ।
राजस्व विभागका निर्देशक शिवराज अधिकारीका अनुसार बिहीबार १, २, ३, ४, १०, १५, २६, ३० र ३१ मा यो प्रणाली प्रयोगमा आइसकेको छ । ‘राजस्व व्यवस्थापनका लागि स्थानीय तहमा काठमाडौं महानगरले पहिलो पटक प्रयोगमा ल्याएको प्रणाली हो,’ उनले भने, ‘यसको प्रयोगबाट सुशासनमा टेवा पुग्ने विश्वास लिएको छु ।’
अब महानगरबासीले कर बुझाउन वडा वा राजस्व विभागमा पुग्नुपर्दैन । महानगरको वेभपेज ठेगानालाई सबडोमेन इसर्भिस डट काठमाडौं डट जिओभि डट एनपी लगइन गरेपछि राजस्व तिर्ने पब्लिक पोर्टलमा पुगिन्छ । यही पोटर्ल प्रयोग गरेर सबै प्रकारका कर, राजस्व, दस्तुर र शुल्क भुक्तानी र भुक्तानी गरेको रकमको रसिद प्राप्त गर्न सकिन्छ ।
विद्युतीय सुशासनका लागि यसअघि पनि प्रयास भएका छन् । अहिले कोभिड–१९ महामारीले भौतिक दूरी बनाउने अवस्था माग गरिरहेको छ । यसबेला महानगरले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीलाई विद्युतीय शासन, पारदर्शी सेवासँगै स्वास्थ्य सुरक्षाका दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिएको छ । राजधानीबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया