पोखरा । टिप टप न्यू-डायमण्ड युथ स्पोर्टस क्लबले पोखरामा जारी छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि चुमेको छ । न्यू-डायमण्डले शुक्रबार पोखरा रंगशालाको भलिबल कोर्टमा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई तीन-शून्यको सोझो सेटमा हराउँदै उपाधि चुमेको हो ।
खेलको प्रारम्भदेखि नै न्यू-डायमण्डले विभागीय टोली पुलिस क्लबलाई दबाबमा राखेको थियो । न्यू-डायमण्डले पहिलो सेटको नतिजालाई २५-११ अंकले आफ्नो पक्षमा पार्यो । दोस्रो सेटको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । तर, दोस्रो सेटमा पनि न्यू-डायमण्ड २५-२२ अंकले अगाडि रह्यो ।
यसैगरी, तेस्रो सेटको नतिजालाई पनि २५-१६ अंकले आफ्नो पक्षमा पार्दै न्यू-डायमण्डले उपाधि कुम्ल्यायो । न्यू-डायमण्डले केही समयको अन्तरमा तेस्रोपटक पुलिसलाई हराउँदै उपाधि चुमेको हो ।
केही समयअघि काठमाडौंमा सम्पन्न एनभिए च्याम्पियनसिपको फाइनलमा पुलिस क्लबलाई नै हराउँदै न्यू–डायमण्डले उपाधि उचालेको थियो । त्यसपछि, काठमाडौंमै आयोजित केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पनि पुलिस क्लबलाई नै जिल्याउँदै न्यू-डायमण्डले उपाधि चुमेको थियो ।
च्याम्पियन बनेको न्यू-डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता पुलिसले तीन लाख ६६ हजार ६६६ रुपैयाँ हात पार्यो । तेस्रो स्थानमा रहेको थाइल्याण्ड क्विन्सले दुई लाख ६ हजार ६६६ रुपैयाँ पायो ।
न्यू–डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले २६ हजार ६६६ रुपैयाँप्राप्त गर्नुभयो । विधागत उत्कृष्ट खेलाडीमा सर्भर प्रतिभा माली, लिभेरो शान्तिकला तामाङ, सेटर प्रगति नाथ, ब्लकर सुनिता खत्री र स्पाइकर पथैया रहनुभयो । प्रशिक्षक कुमार राई उत्कृष्ट प्रशिक्षक बन्नुभयो । उहाँहरूले जनही ११ हजार ६६६ रुपैयाँ पुरस्कार पाउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया