तनहुँ, १८ माघः भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि कृतिम बौद्धिकता (एआई)सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
शिक्षकहरूको क्षमता अभिवृद्धि र विद्यालयको गुणस्तर शिक्षा सुधार गर्ने उद्देश्यले आयोजित तालिममा ९० शिक्षक सहभागी थिए । प्रत्येक समूहमा ३० जनाका दरले ९० जना शिक्षकलाई प्रशिक्षित गराइएको भानु नगर शिक्षा अधिकारी धु्रवराज पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षामा एआईको प्रयोगमार्फत विद्यार्थीलाई भविष्यमा चुनौती सामना गर्न सक्षम, सीपयुक्त र आत्मनिर्भर बनाउन शिक्षकका लागि समय सान्दर्भिक, दूरदर्शी र अत्यावश्यक कदमका रूपमा लिइएको छ ।”
नगरप्रमुख आनन्दराज त्रिपाठीले समयअनुसार शिक्षक स्वयं अद्यावधिक नहुँदा विद्यार्थी र विद्यालय दुवै पछि पर्ने खतरा रहेकाले यस किसिमको तालिमलाई प्राथामिकता दिइएको बताउनुभयो । “अबको शिक्षा प्रविधिसँगै अघि बढ्नुपर्छ, शिक्षकहरू परिवर्तनका अगुवा हुनुपर्छ”, उहाँले भन्नुभयो, “एआईजस्ता प्रविधि सही ढङ्गले प्रयोग गर्नसके विद्यालय शिक्षा व्यावहारिक, जीवनोपयोगी र प्रतिस्पर्धी बन्ने सक्दछन् ।’
तालिममा प्रशिक्षकका रूपमा भक्तपुर सानोठिमी क्याम्पसका उपप्राध्यापक विश्वराज जोशी रहनुभएको छ । उहाँले भन्नुभयो, “आजका विद्यार्थीहरू डिजिटल वातावरणमै हुर्किरहेका, प्रविधिमा चासो राख्ने तथा नवीन सिकाइ विधिप्रति उत्सुक भएकाले परम्परागत शिक्षणशैली मात्र पर्याप्त हुँदैन ।” रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया