जेठ ६, २०८३ बुधबार May 20, 2026

रुख चिन्हमा मत हालेर नीति परिवर्तनको इजाजत दिनुस्, मतदाताले पछुताउनु नपर्ने गरी काम गर्छु : प्रमोदहरि गुरागाईं

काठमाडौं ७ बाट संसद छिर्छु, मतदाताले पछुताउन नपर्नेगरी काम गर्छु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ क्षेत्र नम्बर ७ को प्रतिनिधिसभा निर्वाचन यसपटक विशेष प्रतिस्पर्धात्मक बन्दै गएको छ। नेपाली कांग्रेसले उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रमोदहरि गुरागाईंलाई उम्मेदवार बनाएको छ। हालै सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित गुरागाईं पार्टीभित्र उदीयमान युवा नेताका रूपमा चिनिन्छन्। उनी कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यसमेत रहेकाले नीतिगत बहस र संगठनात्मक काममा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसले उनलाई यही क्षेत्रबाट उम्मेदवारका रूपमा अघि सारेको थियो।

यसपटक भने कांग्रेसले काठमाडौँ–७ मा एक्लै उम्मेदवारी दिने निर्णय गरेको छ, जबकि अघिल्लो निर्वाचनमा यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन गरेको थियो। यस क्षेत्रको चुनावी मैदानमा अन्य प्रमुख दलहरू पनि सक्रिय छन्। नेकपा एमालेबाट प्रकाश श्रेष्ठ उम्मेदवार बनेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले गणेश पराजुलीलाई उम्मेदवार बनाएको छ। बहुदलीय प्रतिस्पर्धाका बीच काठमाडौँ–७ को निर्वाचन परिणामलाई चासोपूर्वक हेरिएको छ। उनै शिक्षित एवं सादकी उपमा पाएका नेता प्रमोदहरी गुरागाँइसँग युगखबर अनलाइनका सम्पादकले गरेको कुराकानी जस्ताको तस्तै । 

यसपटकको प्रतिनिधिसभा निर्वाचनलाई तपाईंले कसरी हेर्नुभएको छ ? 

यो केवल प्रतिनिधि छान्ने चुनाव होइन, राष्ट्रको मार्गचित्र कोर्ने क्षण हो। अझै ३९ वटा कानुन निर्माण हुन बाँकी छन्। संसद् नीतिको कारखाना हो, जहाँबाट देशको भविष्य तय हुन्छ। त्यसैले म भन्छु-यो वडा अध्यक्षको होइन, देशको दिशा बदल्ने चुनाव हो। मतदाताले उम्मेदवारलाई ‘एक्स–रे’ दृष्टिले हेर्नुपर्छ—उहाँसँग दृष्टि छ कि छैन, इमान्दारिता छ कि छैन, दीर्घकालीन सोच छ कि छैन।

पार्टीभित्रको एकता र ऊर्जा कत्तिको बलियो भएको पाउनुहुन्छ ?

यसपटक नेपाली कांग्रेस १६५ वटै क्षेत्रमा आफ्नै उम्मेदवारसहित मैदानमा छ। विगतमा कतिपय क्षेत्रमा प्रत्यक्ष मतदान गर्न नपाएको पीडा थियो, तर अहिले रुखमा मत हाल्न पाइने भएकाले कांग्रेस परिवारमा अभूतपूर्व उत्साह छ। हामी संगठनात्मक रूपमा ‘एक ढिक्का’ भएर उत्रिएका छौं। यो एकता केवल रणनीति होइन, विश्वासको पुनर्जागरण हो।

विगतका मनमुटाव र विभाजनबारे तपाईंको धारणा के छ ? 

मत विभाजन लोकतन्त्रको स्वाभाविक अभ्यास हो, तर मन विभाजन राष्ट्रका लागि घातक हुन्छ। हामी असहमतिलाई अंकमाल गर्ने परम्परामा विश्वास गर्छौं। चुनावलाई सम्बन्ध तोड्ने होइन, चेतना जोड्ने माध्यम बनाऔँ। लोकतन्त्र भनेको सम्मानपूर्वक फरक मत राख्ने कला हो।

तपाईंको शैक्षिक र व्यावसायिक पृष्ठभूमिलेले नीति निर्माणमा कस्तो प्रभाव पार्छ ?

म १७ वर्ष मानवशास्त्र अध्यापन गरेर राजनीतिमा होमिएको हुँ। समाज, संस्कृति र विविधताको गहिरो अध्ययन गरेको अनुभव छ। नीति बनाउँदा त्यसको सामाजिक प्रभाव के पर्छ, दीर्घकालीन असर के हुन्छ । यी प्रश्नहरूलाई गम्भीर रूपमा विश्लेषण गर्छु। निर्णय गर्ने अघि त्यसको परिणामबारे इमान्दार आत्ममन्थन गर्छु। राजनीतिमा भावनाभन्दा विवेक बलियो हुनुपर्छ भन्ने मेरो विश्वास हो।

कांग्रेसलाई ‘पुरानो’ पार्टी भन्ने आलोचनालाई कसरी लिनुहुन्छ ?

नयाँ हुनु जन्म मितिले होइन, चेतनाले तय गर्छ। कांग्रेस नयाँ चेतना बोकेको पार्टी हो—लोकतान्त्रिक मूल्य, सामाजिक सन्तुलन र सहिष्णुतामा आधारित। समाजभित्रको विविधता जोगाउँदै अघि बढ्ने सोच हाम्रो आधार हो। असहमति सुरक्षित राख्नु नै लोकतन्त्रको प्राण हो।

गगन थापालाई प्रधानमन्त्री बनाउने विषयमा तपाईंको धारणा ?

पार्टीले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। प्रधानमन्त्री पदको गरिमा, भाषा र कर्म-तीनै दृष्टिले उहाँ सक्षम हुनुहुन्छ। तर नेतृत्वलाई सशक्त बनाउने आधार भनेकै प्रतिनिधिसभामा बहुमत हो। त्यसैले मतदाताले कांग्रेस उम्मेदवारलाई जिताएर परिवर्तनको ‘इजाजत पत्र’ दिनुपर्छ।

काठमाडौं क्षेत्र नम्बर ७ का तात्कालिक मुद्दा र प्राथमिक मुद्दा के हुन्  ?

रिङरोड विस्तारसँगै धुलाम्मे सडकलाई हरियालीयुक्त बनाउने, साइकल लेन र अपाङ्गमैत्री पूर्वाधार निर्माण गर्ने हाम्रो प्राथमिकता हो। विष्णुमती र सामाखुशीको फोहोर व्यवस्थापनलाई अल्पकालीन मात्र होइन, दीर्घकालीन योजनासहित समाधान गर्नुपर्छ। नागरिकले स्थानीय सम्पत्तिमा सहज पहुँच पाउनुपर्छ। विकास देखिने मात्र होइन, अनुभूत हुने हुनुपर्छ।

मतदातालाई तपाँइको अन्तिम सन्देश के दिन चाहानुहुन्छ ?

निर्वाचन जित–हारको खेल मात्र होइन, चेतना र सामाजिक एकता जोगाउने अभियान हो। मेरो जीवन पारदर्शी छ, अध्यापन पेशाबाट आर्जन गरेको आम्दानीमै जीवनयापन गरेको छु। प्रतिनिधिसभामा पुगेपछि मतदाताले पछुताउनु नपर्ने गरी अहोरात्र काम गर्नेछु। लोकतान्त्रिक मूल्यमान्यता, नीति–आधारित राजनीति र सामाजिक सन्तुलनका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गर्दछु।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया