काठमाडौँ । पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले हालै सार्वजनिक भएको बीबीसीको अनुसन्धानात्मक रिपोर्टप्रति गम्भीर आपत्ति जनाएको छ। परिषद्ले उक्त रिपोर्टले नेपाल प्रहरी संगठनको बदनाम गर्ने, सुरक्षाकर्मीको मनोबल गिराउने तथा घटनाको निष्पक्ष छानबिन प्रक्रियालाई प्रभावित पार्ने प्रयास गरेको आरोप लगाएको हो।
सोमबार जारी विज्ञप्तिमा भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनका क्रममा भएका घटनाहरूलाई तथ्य लुकाएर, अतिरञ्जित तथा एकपक्षीय रूपमा प्रस्तुत गरिएको दाबी गरिएको छ। आन्दोलनका क्रममा संसद् भवनमा आगजनी प्रयास, अदालत तथा प्रहरी कार्यालयमा तोडफोड र सिंहदरबार प्रवेशजस्ता घटनालाई सही सन्दर्भमा उल्लेख नगरिएको परिषद्को भनाइ छ।
परिषद्का अनुसार सुरक्षाकर्मीहरूले कानुनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्दा राष्ट्र, सार्वजनिक सम्पत्ति र नागरिक सुरक्षाको संरक्षण गर्नु उनीहरूको कर्तव्य हो। ‘मुलुकमा कानुनभन्दा माथि कोही हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख गर्दै राज्य कानुनविहीन रहन नसक्ने र कानुनी दायराभित्र रहेर काम गर्नु सबै पक्षको दायित्व भएको बताइएको छ।
विज्ञप्तिमा घटनासम्बन्धी छानबिन तथा मूल्यांकन कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाटै हुनुपर्नेमा जोड दिइएको छ। बाह्य प्रभाव वा पूर्वाग्रही रिपोर्टहरूले निष्पक्ष अनुसन्धानमा असर पार्न नहुने धारणा परिषद्ले व्यक्त गरेको छ। साथै ‘सुरक्षा निकाय रक्षक हो, भक्षक होइन’ भन्ने सन्देश दिँदै स्पष्ट नीतिगत व्यवस्था र कानुनी मार्गदर्शन आवश्यक रहेको उल्लेख गरिएको छ।
परिषद्ले नेपाल प्रहरीको ऐतिहासिक योगदान स्मरण गराउँदै देश निर्माण र प्रजातान्त्रिक व्यवस्थाको विकासक्रममा सुरक्षाकर्मीको भूमिकालाई नजरअन्दाज गर्न नहुने बताएको छ। राष्ट्र र नागरिक सुरक्षाप्रति प्रहरी संगठनको समर्पण सधैं कायम रहने प्रतिबद्धता पनि विज्ञप्तिमा दोहोर्याइएको छ।
विज्ञप्ती हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया