काठमण्डाैंः धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरकी एक १५ वर्षीया किशोरीले घटना लुकाउन पैसाको ‘अफर’ नस्विकारेपछि उनको परिवारलाई ज्यान मार्ने धम्की दिन थालिएको छ ।
सामूहिक बलात्कारमा संलग्नहरूका परिवारले १२ लाख रुपैयाँ एकमुष्ट दिएर मुद्दा गाउँमै मिलाउन विभिन्न माध्यमबाट दबाब दिइरहेको पीडित परिवारले जनाएको छ । राजनीतिक दलका नेतासहित ८ जनाको समूहले फकिरचन्द्र गामी मावि, बरकुर्वामा गत बिहीबार घटना मिलाउन पञ्चायती नै राखेको थियो ।
करिब एक महिनाअघि चार जनाले बलात्कार गरेको पीडितको भनाइ छ । पीडितका आमा–बुबा र उनकै एक आफन्तलाई बोलाएर सुरुमा बलात्कार गर्नेहरूबाटै प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने प्रस्ताव गरिएको थियो ।
पीडितकी आमाका अनुसार आफूहरू मिल्न नमानेपछि रकम बढाउँदै सत्यनारायण यादवले प्रतिव्यक्ति ३ लाखका दरले संकलन गरी १२ लाख रुपैयाँ दिने प्रस्ताव गरेका थिए । यादवले अरू ८ लाखजति प्रहरी र अदालतमा खर्च हुने र त्यो रकम आफूहरूले नै तिर्ने बताएका थिए । बलात्कारका आरोपितहरूले नमिले गाउँमा बस्न नदिने चेतावनीसमेत दिएको पीडितकी आमाले बताइन् ।
बलात्कार आरोपमा दुई जना पुर्पक्षका लागि कारागारमा छन् । सहयोगीसहित ६ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।
धनुषाधाम–९ सयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४–१५ जना युवाले घेराउ गरेका थिए । किशोरीसँगै रहेका दुई युवालाई उक्त समूहले कुटपिट गर्दै सडकमा बन्धक बनाएपछि किशोरीलाई करिब ३ किलोमिटर पर लगेर चार जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । कान्तीपुरबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया