असोज २८, २०८३ बुधबार October 14, 2026

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल

नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका काममा केही समानता रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, चैत ४ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैँकिङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखि क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले ठुला पूर्वाधार तथा दीर्घकालीन लगानी आवश्यक पर्ने आयोजना अघि बढाउनुपर्ने बताउँदै बुढीगण्डकी जलविद्युत् आयोजनाजस्ता परियोजनामा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमार्फत लगानी बढाउन सकिने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अर्थमन्त्री खनालले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा असर पर्न सक्ने र मूल्यवृद्धि जस्ता समस्या आउन सक्ने भन्दै त्यसलाई समाधान गर्न आगामी दिनमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

“अहिले शोधनान्तर र चालु खाता बचतमा छन्, गत आर्थिक वर्षको तुलनामा सरकारी राजस्व पनि बढेको छ”, उहाँले भन्नुभयो, “धेरै आर्थिक सूचकहरू सुधारोन्मुख छन् । अब लगानीकर्ताको हातमा पुँजी पुग्ने वातावरण सिर्जना गर्नुपर्ने बेला आएको छ ।” उहाँले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन शीघ्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै विभिन्न अवकाश कोषमा लागिरहेको करको विषयमा पुनर्विचार गरिनुपर्ने बताउनुभयो ।

समान प्रकृतिको आम्दानी तथा सामाजिक सुरक्षासम्बन्धी रकममा न्यून कर लगाउनुपर्नेमा अर्थमन्त्री खनालले जोड दिनुभयो । सरकारी स्वामित्वका धेरै संस्थाहरू समस्याग्रस्त हुने गरेको उल्लेख गर्दै नागरिक लगानी कोषले व्यवसायिक सफलता हासिल गर्न सफल भएको उहाँले बताउनुभयो । नेपाल वायुसेवा निगममा कोषबाट प्रवाहित कर्जाको असुलीका विषयमा पनि सरकारको नीतिगत जमानीको आधारमा उपयुक्त विकल्प खोज्नुपर्ने उहाँको भनाइ छ ।

कोषले लगानी गर्दा जोखिम व्यवस्थापनमा सचेत हुनुपर्ने उल्लेख गर्दै विभिन्न अवकाश कोषको सम्पत्ति–दायित्व व्यवस्थापनका लागि दीर्घकालीन ऋणपत्र जारी गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले उच्च तथा दिगो आर्थिक विकासका लागि कोषले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै कोषले विभिन्न बचत योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो । नियामक निकायको मार्गदर्शन र कर्मचारीको समर्पणका कारण कोषले व्यावसायिक प्रगति हासिल गर्न सकेको उहाँको भनाइ छ ।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको लगानीलाई विविधीकरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कोषले सङ्कलित रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिनुभयो । हाल कोषको करिब आधा हिस्सा बैँक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गरिएको, करिब २२ प्रतिशत सापटी तथा कर्जामा र विभिन्न संस्थाका शेयरमा लगानी रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार करिब आधा लगानी बैँक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको र ब्याजदरमा आएको गिरावटका कारण कोषको नाफामा पनि असर पर्नसक्ने देखिएको छ । लगानी विविधीकरण हुन नसके आम्दानीमा गिरावट आउने जोखिम रहेको उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक कार्कीले सरकारले प्राथमिकतामा राखेका पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कोषले सबै प्रदेशमा शाखा सञ्जाल विस्तार गर्दै सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग बढाएको पनि उहाँले बताउनुभयो ।

आन्तरिक सुशासन, पारदर्शी तथा अद्यावधिक हिसाब प्रणालीलाई सुदृढ गर्दै कोषलाई दिगो प्रतिफल दिने संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । साथै ठुलो आयोजनामा लगानी गर्नसक्ने सक्षम संस्थाका रूपमा कोष विकास हुँदै गएको उहाँको भनाइ छ ।

उहाँले नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका काममा केही समानता रहेको उल्लेख गर्नुहुँदै त्यसमा स्पष्टता आवश्यक रहेको बताउनुभयो । नेपाल वायुसेवा निगममा करिब २२ अर्ब लगानी गरिएको र उक्त रकम असुलीमा केही कठिनाइ देखिएको जानकारी दिँदै उहाँले सरकारको ग्यारेन्टीमा ऋण प्रवाह भएकाले त्यसको व्यवस्थापनमा पहल भइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल बैँकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले पनि दीर्घकालीन तथा सुरक्षित प्रतिफलका लागि कोषको लगानीलाई विविधीकरण गर्नुपर्ने बताउनुभयो । कोषले मुद्दती निक्षेपमा मात्रै सीमित नभई ऋणपत्रलगायत विभिन्न वित्तीय उपकरणमा लगानी विस्तार गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

ब्याजदर कहिलेकाहीँ अत्यधिक बढ्ने र कहिले घट्ने भएकाले लगानीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन विभिन्न उपकरण प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार हाल बैँकिङ क्षेत्रमा करिब ७७ खर्ब निक्षेप सङ्कलन भएको छ भने करिब ५८ खर्ब कर्जा लगानी रहेको छ ।

चालु आर्थिक वर्षमा बैँकिङ क्षेत्रको विस्तार दर भने करिब तीन दशमलव नौ प्रतिशत हाराहारीमा मात्रै सीमित रहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष कोइरालाले पछिल्लो समय बैँकहरूले प्रवाह गरेको ऋण उठाउन पनि चुनौती देखिएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विवादित अडियोले तानिए सांसद खगेन्द्र सुनार, छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा रोक
२०८३ असोज २८, बुधबार
गगनसामु अवसरसँगै चुनौतीका चाङ : धर्मेन्द्र झा
२०८३ असोज २८, बुधबार
आजको मौसम : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस
२०८३ असोज २८, बुधबार
नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
२०८३ असोज २८, बुधबार
सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा
२०८३ असोज २८, बुधबार
चार देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज
२०८३ असोज २८, बुधबार
राष्ट्र बैंकद्धारा आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज २८, बुधबार