असोज २८, २०८३ बुधबार October 14, 2026

विवादित अडियोले तानिए सांसद खगेन्द्र सुनार, छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा रोक

महिलालाई गाली र धम्की दिएको आरोपपछि रास्वपा सांसद सुनारमाथि अनुशासन आयोगको छानबिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं । महिलालाई अश्लील गाली गरी धम्की दिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार छानबिनमा तानिएका छन् । पार्टीको केन्द्रीय अनुशासन आयोगले उनीमाथि छानबिन थालेको हो ।

सार्वजनिक भएको अडियोमा सुनार अश्लील गाली गर्दै धम्क्याएको, गोप्य भिडियो खिचेको तथा पैसा मागेको सुनिन्छ । उनले बोलेका शब्द सुन्नै असहज लाग्छ । यद्यपि, सुनारले उक्त अडियो आफ्नो नभएको दाबी गरेका छन् । पार्टीले छानबिन नसकिँदासम्म उनलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा उनीमाथि छानबिन गर्न सरकारसँग अनुरोध गर्दै त्यसका लागि पार्टीले सहयोग गर्नेसमेत रास्वपाले स्पष्ट पारेको छ । महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको रास्वपाले जनाएको छ ।

‘प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उहाँका विषयमा उठाइएका गम्भीर प्रश्नहरूप्रति यस पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील छन् ।’

रास्वपाले विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै पार्टीले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसक्नेसमेत स्पष्ट पारेको छ । ‘महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको तथ्य हामी पुनः स्पष्ट पार्न चाहन्छौँ,’ रास्वपा महामन्त्री आचार्यले भनेका छन्, ‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ । अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुगुन्जेलसम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ ।’

रास्वपाले सार्वजनिक भएका विषयको गम्भीरतालाई मनन गरी राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेछ भन्ने विश्वास रहेको पनि स्पष्ट पारेको छ । ‘राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीका तर्फबाट पूर्ण रूपमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ रास्वपाले भनेको छ, ‘कानुनभन्दा माथि कोही पनि हुँदैन भन्ने लोकतान्त्रिक मान्यतामा रास्वपा दृढ छ । राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्नेछ ।’

रास्वपाले कानुन उल्लंघन वा पदीय आचरणविपरीतको कार्य गर्ने जो–कोहीलाई राजनीतिक संरक्षण दिने कार्य रास्वपाबाट कहिल्यै नहुने पनि जनाएको छ । सो अडियोका विषयमा राज्यका निकायले भने छानबिन थालेका छैनन् । त्यस विषयमा उजुरी नपरेकाले छानबिन सुरु नभएको प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा १,७९९ मतले अगाडि
२०८३ असोज २८, बुधबार
नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते
२०८३ असोज २८, बुधबार
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
२०८३ असोज २८, बुधबार
आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ असोज २८, बुधबार
विवादित अडियोले तानिए सांसद खगेन्द्र सुनार, छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा रोक
२०८३ असोज २८, बुधबार
गगनसामु अवसरसँगै चुनौतीका चाङ : धर्मेन्द्र झा
२०८३ असोज २८, बुधबार