कार्तिक २२, २०८३ आइतबार November 8, 2026

छात्रामाथि अनैतिक दबाबको आरोपमा मधेश विश्वविद्यालयका कर्मचारी पक्राउ

गद्दीले पछि फोन र सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउन थालेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज, १८ चैत । वीरगञ्जस्थित मधेश विश्वविद्यालयका एक कर्मचारी छात्रामाथि दुर्व्यवहार तथा अनैतिक दबाब सिर्जना गरेको आरोपमा पक्राउ परेका छन्। प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्सा को टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गद्दीले एक छात्रालाई लामो समयदेखि अनैतिक सम्बन्धका लागि दबाब दिँदै आएका थिए। उजुरीमा उल्लेख भएअनुसार उनले प्रस्ताव स्वीकार गरेमा परीक्षामा सहयोग गर्ने आश्वासन दिने र अस्वीकार गरेमा ‘मार्क्स घटाइदिने’ तथा अनुत्तीर्ण गराइदिने धम्की दिने गरेका थिए। यसले शैक्षिक मूल्य र विद्यार्थीको मनोवैज्ञानिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

पीडित छात्राले प्रारम्भमा सहयोगको बहानामा नजिकिएका गद्दीले पछि फोन र सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउन थालेको आरोप लगाएकी छन्। प्रस्ताव अस्वीकार गरेपछि उनले शैक्षिक भविष्य नै समाप्त पार्ने चेतावनी दिएको पनि उजुरीमा उल्लेख छ। यही आधारमा छात्राले चैत १४ गते प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।

उजुरीपछि फरार रहेका गद्दीलाई प्रहरीले खोजी गरी पक्राउ गरेको जनाएको छ। पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेत ले आरोपितमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। प्रहरीले डिजिटल प्रमाण, फोन सम्पर्क विवरण तथा सन्देश आदिको पनि अनुसन्धान गरिरहेको बताइएको छ।

घटना सार्वजनिक भएसँगै विश्वविद्यालयभित्र अन्य छात्राहरू पनि यस्तै दुर्व्यवहारको सिकार भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ। शिक्षण संस्थाभित्रै कर्मचारीबाट यस्तो गतिविधि हुनु गम्भीर विषय भएको भन्दै विद्यार्थीको सुरक्षा, सम्मान र शैक्षिक वातावरणमाथि प्रश्न उठेको छ। विद्यार्थी संगठनहरूले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यसैबीच, पक्राउ परेका गद्दी मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत का भतिजो रहेको खुलेपछि घटना थप चर्चामा आएको छ। उच्च पहुँच भएका व्यक्तिसँग सम्बन्ध जोडिएको आरोपले अनुसन्धान निष्पक्ष र पारदर्शी ढंगले हुनुपर्ने माग झन् बलियो बनेको छ।

प्रहरीले भने कसैको पहुँच वा सम्बन्धका आधारमा अनुसन्धान प्रभावित नहुने स्पष्ट पारेको छ। कानुन सबैका लागि समान हुने भन्दै दोषी ठहर भएमा कानुनी दायराअनुसार कारबाही गरिने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया