काठमाण्डाैंः त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण रोकिएका परीक्षाहरु छठपछि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालनका लागि तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय पनि भइसकेको त्रिविले जनाएको छ ।
त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको हो ।कोरोनाका कारण त्रिविले पूर्व निर्धारित समयमा परीक्षा सञ्चालन गर्न सकेको थिएन ।
पछिल्लो समय भदौको दोस्रो हप्तादेखि परीक्षा सुरु गरी दशैँअघि नै स्थगित सबै सेमेस्टरको परीक्षा गर्ने तयारी थियो । तर हुन सकेन । त्रिविका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा गएको चैत ७ गतेदेखि स्थगित छन् ।
फारम भरिसकेकाको परीक्षा पहिले हुने
छठपछि परीक्षा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउनुहुन्छ । छठलगत्तै परीक्षा गर्नका लागि दशैँअघि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्राचार गरिसकेको उहाँले बताउनुभयो ।
सम्बन्धित कार्यालयले पनि आवश्यक तयारी थालिसकेको उहाँको भनाइ छ । घर पायक पर्ने ठाउँमा नै परीक्षा दिन पाउने व्यवस्था गरिएकाले भर्चुअल माध्यमबाट परीक्षा नहुने भएको छ । परीक्षा नियन्त्रक जोशी भन्नुहुन्छ, ‘भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा लिन भनेको छौँ ।’
आवश्यक सुरक्षा सावधानी अपनाएर परीक्षा लिने तयारी भएको उहाँको भनाइ छ । उहाँले फाराम भरेकाको परीक्षा पहिले गर्ने र त्यसपछि अरु परीक्षा सञ्चालन गरिने बताउनुभयो । कोरोनाका कारण कतिपय विश्वविद्यालयले भने खुला किताब अर्थात् ओपन बुक गरेर भर्चुअल विधिबाट परीक्षा लिएका छन् । आउँदो माघ महिनासम्म सबै परीक्षा सकेर फागुन र चैतमहिनादेखि पढाइ सुरु गर्ने तयारी भएको छ ।
अवस्था जटिल भएमा परीक्षा नहुन पनि सक्छ
बजारमा चहलपहल बढे पनि कोरोनाको जोखिम कम हुन सकेको छैन । दशैँ तिहार जस्ता चाडपर्व नजिकिएको बेला झनै मानिसको जमघट धेरै हुने भएकाले कोरोनाको जोखिम बढ्न सक्छ । अथवा अवस्था जटिल हुन पनि सक्छ ।
अवस्था एकदमै जटिल भयो भने परीक्षा गर्नका लागि सोच्नु पर्ने अवस्था आउनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमितको संख्या भएमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।
फेरि पनि लकडाउन भयो भने भने विज्ञसँग छलफल गरेर कसरी परीक्षा सञ्चालन गर्ने, कुन विधि अपनाउने भनेर निर्णय हुने कार्यालयका नियन्त्रक जोशीले बताउनुभयो । तर स्थिति अहिलेको जस्तै भएमा भने परीक्षा सञ्चालन हुनेछन् ।
यस्तै अवस्थामा भने विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा अर्थात् सबैभन्दा नजिकको केन्द्रबाट परीक्षा दिन पाउने भएकाले भौतिक दूरी कायम गरेर, मास्क लगाएर, स्यानिटाइजरको प्रयोग गरेर सावधानीपूर्वक परीक्षा दिन सक्नेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया