बैसाख १७, २०८३ बिहिबार April 30, 2026

चिट चोराउने एक शिक्षकसहित चार जना प्रहरी नियन्त्रणमा

आगामी दिनमा पनि यस्ता अनियमितता रोक्न थप कडाइका साथ निगरानी गरिने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट । रौतहटमा जारी माध्यमिक शिक्षा परीक्षा (एसइई)को मर्यादा विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले एक शिक्षकसहित चार जनालाई नियन्त्रणमा लिएको छ । ह्वाट्सएपमार्फत परीक्षामा चिट चोराउने संगठित गिरोह सक्रिय रहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार एसइई अन्तर्गत पाँचौं दिन अनिवार्य सामाजिक शिक्षा विषयको परीक्षा सञ्चालन भइरहेका बेला विभिन्न परीक्षा केन्द्रबाट मोबाइल एप प्रयोग गरी उत्तर आदान–प्रदान गराउने कार्य भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चन्द्रपुर–७ का ४० वर्षीय शिक्षक तेजनारायण चौधरी, चन्द्रपुर–६ का १९ वर्षीय रञ्जित साह, गुजरा–५ का २१ वर्षीय महमद हुसेन र २४ वर्षीय समिर मन्सुरी रहेका छन् । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त समूहले ह्वाट्सएप समूह बनाएर परीक्षा हलभित्रबाट प्रश्नपत्रको फोटो खिची बाहिर पठाउने र बाहिरबाट तयार पारिएका उत्तर पुनः परीक्षार्थीसम्म पुर्‍याउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी जीवनकुमार मैनालीका अनुसार पक्राउ परेकाहरू परीक्षार्थीलाई अवैध रूपमा उत्तर उपलब्ध गराउँदै चिटिङ गराउने कार्यमा प्रत्यक्ष संलग्न देखिएका छन् । उनले प्रविधिको दुरुपयोग गर्दै परीक्षाको निष्पक्षतामाथि प्रश्न उठाउने यस्ता गतिविधि सह्य नहुने स्पष्ट पारे ।

प्रहरीले परीक्षाको मर्यादा कायम राख्न ‘शून्य सहनशीलता’ नीति अपनाइएको जनाउँदै पक्राउ परेकामाथि शिक्षा ऐन तथा एसइई परीक्षा सञ्चालन सम्बन्धी निर्देशिकाअनुसार कडा कानुनी कारबाही गरिने जनाएको छ । साथै, आगामी दिनमा पनि यस्ता अनियमितता रोक्न थप कडाइका साथ निगरानी गरिने चेतावनी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया