असार ३०, २०८३ मंगलबार July 14, 2026

छैटौँ कटारी गोल्डकपः शलेस युथ क्लब सेमिफाइनलमा प्रवेश

प्रतियोगिताअन्तर्गत बुधबार (भोलि) पहिलो सेमिफाइनलमा आयोजक कटारी-११ र चात्या फुटबल क्लब झापावीच प्रतिष्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कटारी (उदयपुर), १ वैशाखः उदयपुरको कटारीमा शनिबारदेखि जारी छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप नकाउट फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा शलेस युथ क्लब, सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाँचौँ कटारी गोल्डकपको उपविजेता बनेको शलेसले केराबारी फुटबल क्लब, मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको पहिलो हाफमा सिरहाका लागि राज भुसालले गोल गर्दै अग्रता लिएका थिए । त्यसैगरी खेलको ७४औँ मिनेटमा नाईजेरियन खेलाडी फिलिप इजुनेले सिरहाका लागि दोस्रो गोल गरेका हुन् ।

केराबारीले अवसर पाए पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको हो । आजको खेलको ‘म्यान अफ द म्याच’ सिरहाका भुसाल घोषित भएका छन् । नगरपालिकाका पूर्वउपप्रमुख भिमकुमारी राउतद्वारा भुसाललाई रु पाँच हजारका साथमा ट्रफी र मेडल प्रदान गरिएको छ ।

कटारी नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले रु पाँच लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यसैगरी उपविजेताले रु तीन लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीका अनुसार आठ समूहको सहभागिता रहेको प्रतियोगिता यही वैशाख ५ गते सम्पन्न हुनेछ । प्रतियोगिताअन्तर्गत बुधबार (भोलि) पहिलो सेमिफाइनलमा आयोजक कटारी-११ र चात्या फुटबल क्लब झापावीच प्रतिष्पर्धा हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया