कार्तिक २२, २०८३ आइतबार November 8, 2026

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह

शिक्षाका क्षेत्रमा कलम चलाउने पत्रकारहरूले देखिएका राम्रा नराम्रा विषयहरू निरन्तर बाहिर ल्याउनुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ ।

शिक्षा पत्रकार समूहको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित कार्यकक्षमा छलफल गर्दै उहाँले सरकारले शिक्षा क्षेत्रमा भएका समस्या समाधान गर्दै सुधारका लागि सकारात्मक प्रयास थालनी गरेकाले उपर्युक्त सुझाव र सहयोगका लागि आग्रह गर्नुभएको हो ।

“शिक्षाका क्षेत्रमा कलम चलाउने पत्रकारहरूले देखिएका राम्रा नराम्रा विषयहरू निरन्तर बाहिर ल्याउनुपर्छ । हामीले कहिलेकाहीँ बाटो बिराउन पनि सक्छौँ । त्यस्तो बेलामा खबरदारी गर्नुपर्छ । बाटो बिराइएको ठाउँमा हामी सच्चिएर पनि जानुपर्ने हुन्छ”, मन्त्री पोखरेलले भन्नुभयो । उहाँले शिक्षा पत्रकार समूहको आग्रह बमोजिम ‘शिक्षाका लागि सञ्चार रणनीति, २०६५’ सम्बन्धी आवश्यक अध्ययन गरी सोको समीक्षा र कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेललाई समूहका अध्यक्ष निर्जला कक्षपतिले लामो समयदेखि रोकिएको विद्यालय शिक्षा विधेयक परिमार्जनसहित बजेट अधिवेशनमा ल्याउन, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७६ को कार्यान्वयन हुन बाँकी विषयहरू कार्यान्वयन, शिक्षामा लगानी वृद्धि, शिक्षाका लागि सञ्चार रणनीतिको कार्यान्वयन, शिक्षा पत्रकारितामा अध्ययन तथा शोधवृत्तिको प्रबन्धलगायत कार्यक्रम सञ्चालन गर्नेलगायत विभिन्न बुँदे सुझाव पत्र हस्तान्तरण गर्नुभयो ।

भेटमा समूहका पूर्व अध्यक्षहरू प्रकाश सिलवाल, सुदर्शन सिग्देल, तुला अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया